Comments Add Comment

काँचो चना खाएर कहिलेसम्म दौडिनू ?

४ असोज, काठमाडौं । दौडन तयार भएर ट्रयाकमा जानुअघि कसले सोच्छ होला र लास्ट हुन्छु भन्ने ? अरु कुदिरहेको हेर्दा लाग्छ, ह्या… यति त म पनि सक्छु नि !

तर, जब दौडिन थालिन्छ, तिनीहरुले नै धेरै पछि छाडिदिन्छन् । अनि आफ्नो अवस्था छर्लङ्ग बुझिन्छ ।

अहिले जिन्दगीको दौडमा पनि त्यस्तै छर्लङ्ग भएको छु म । नामको भोक मेटियो वा  हरायो । अझ भनौं, लोकप्रियताको चाहनालाई भविश्यको चिन्ताले ओझेलमा पारिदिएको छ । बरु कहिले काँही त किन खेलाडी बनेछु भन्ने पो लाग्छ ।

हुन त मैले दौडमा लाग्ने, खेलाडी बन्ने सपना पनि धेरै पछि मात्रै देखेको हुँ ।

खुट्टा भाँचिएर कहिल्यै ठीक नहोला जस्तो भएको थियो कुनै बेला । १०० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउँदा एक अर्थमा आफ्नो सपना भेट्टाएँ । तर, अहिले त त्यही सपनाले झनै पीडा दिएको छ । त्यो सपना किन देखें होला जस्तो लागेको छ ।

न अब अरु क्षेत्रमा राम्ररी लाग्न सक्छु, न त खेलकुदमा देखेको भविश्य नै मिलिरहेको छ । जीवन र मृत्युको दोसाँधमा लडिरहेको मान्छे जस्तो भएको छु भन्दा फरक नहोला ।

खेलकुदबाट राष्ट्रिय स्तरमा मैले राम्रै गरेको छु जस्तो लाग्छ । तर पनि अहिले किन निराश भएँ ?

कुराहरु अन्त्यबाट सुरु गरें । सुरुबाट सुरु गर्छु, अनि तपाईँहरुले बुझ्नु हुनेछ ।

***

२०६४ तिर काठमाडौंमा भएको राष्ट्रिय स्तरको प्रतियोगितामा पनि म लङजम्पमा पहिलो भएँ । जाजरकोटबाट आएको १५ वर्षे केटाले काठमाडौंमा मेडल जित्दा धेरैले नोटिस गरे । त्यही खेलपछि विभागीय टिमहरुमा अवसर पाएँ

म जाजरकोटको कुडुमा जन्मिएको हुँ । मान्छेहरुले दुर्गम र कष्टकर जनजीवनको उदाहरण दिन प्रयोग गर्ने जाजरकोटबारे मैले थप बताइरहनै परेन ।

४ वर्षको हुँदा भगवती उच्च माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएँ । भर्ना त भएँ तर स्कूल जाने र नियमित परीक्षा दिने गरिएन । यसैले दुई वर्षपछि मात्र म २ कक्षामा पुगें । त्यसपछि मेरो पढाइ ठीकै हुन थाल्यो ।

सानोमा म असाध्यै चञ्चले स्वभावको थिएँ । छुकछुक गरिरहनु पर्ने । एकपटक पिपलको रुख चढ्दा लडेर मेरो दाहिने खुट्टा भाँच्चियो । त्यो पीडा यति थियो कि सम्झियो भने अहिलेसम्म पनि चसक्क हुन्छ ।

यो पनि पढ्नुहोस भलिबलमा भुलेको जिन्दगी

बुबाले उपचारका लागि रुकुमको चौरजहारी मिसन अस्पतालमा लैजानुभयो । घरको अवस्था निकै नाजुक थियो । मेरो खुट्टाको उपचार गर्नुपर्ने भएपछि परिवार झनै समस्यामा पर्‍यो ।

चौरजहारी अस्पतालमा हड्ताल भएर मलाई उपचार पूरा नहुँदै डिस्चार्ज गरियो । त्यसपछि म शारीरिक रुपमा निकै अशक्त भएँ । मेरो खुट्टाका हड्डीहरुको सन्तुलन नै बिगि्रयो । निकै पीडा हुन्थ्यो । खोच्याउँदै हिँड्नु पर्थ्यो ।

एकपटक तीजको दिन बुबाआमासँगै मेला हेर्न जाँदै थिएँ । मलाई अगाडि लगाएर बुबाआमा पछि-पछि हिँडिरहनु भएको थियो । खुट्टा खोल्च्याउँदै कष्टपूर्वक हिँडेको देख्दा बुबालाई साह्रै नराम्रो लागेछ । हिँड्दा मेरो कम्मरमा असाध्यै दुख्थ्यो । बुबाले दिदीको नाम लिँदै आमालाई भन्नुभएछ, ‘दुधपतिको आमा, हाम्रो छोरा त अपाङ्ग भइसकेछ । अब यसलाई नेपालगञ्ज नलगी हुँदैन ।’

त्यसपछि हामी बीच बाटोबाटै फर्कियौं । चौरजहारीदेखि नेपालगञ्ज प्लेन चल्थ्यो । मलाई घोडामा राखेर बाबाहरुले चार घण्टामा घरदेखि चौरजहारी पुर्‍याउनुभयो । चौरजहारीबाट प्लेन चढेर हामी नेपालगञ्ज ओर्लियौं । त्यहाँ एउटा हस्पिटलमा गयौँ ।

डाक्टरले खुट्टामा अपरेसन गरेर स्टिल राख्नुपर्छ भने । स्टिल राख्ने कुरा बुवालाई उचित लागेन । इन्फेक्सन भयो भने क्यान्सरसम्म हुनसक्छ भन्ने सुनेर बुवा पछि हट्नुभयो । त्यही बेला भारतको बहराइज भन्ने ठाउँमा हड्डीको राम्रो डाक्टर छ भन्ने सुनियो । त्यसैले बुवाले मलाई भारत लैजाने निधो गर्नुभयो ।

भारत त जाने तर, बुबालाई हिन्दी नआउने । हिन्दी बोल्नकै लागि एकजना मान्छेलाई सबै खर्च व्यहोरेर भारत लग्यौं । उसले हिन्दीमा डाक्टरसँग कुरा गर्थ्यो र नेपालीमा हामीलाई बुझाउँथ्यो । त्यहाँ पनि डाक्टरले खुट्टाको अपरेसन गर्नुपर्ने बताए । ठीक हुन्छ भनेपछि हामी अपरेसनका लागि तयार भयौं ।

उपचार त भयो तर घरमा निकै समस्या थियो । जग्गा बेचियो । भएभरको सम्पत्ति मेरो उपचारमा सकियो । अवस्था यस्तो भयो कि त्यो दशैंमा मासु खाने पैसा पनि भएन ।

मेरो बुबाले सबैथोक सिध्याएर मेरो उपचार नगरेको भए म कसरी खेलाडी बन्न सक्थेँ र ? सायद, जाजरकोटमै खुट्टा खोच्याउँदै यताउति गरिरहेको हुन्थें होला ।

***

विस्तारै मेरो खुट्टा ठीक हुँदै गयो । मेरै उमेरका अरु बच्चाभन्दा म अलि बलियो नै थिएँ । हाम्रोतिर त्यतिबेला लङजम्प, ट्रिपल जम्प खुबै चल्थ्यो । गाउँमा मेलापर्व वा कुनै जमघट हुँदा लङजम्प र ट्रिपल जम्प प्रतियोगिता भइहाल्थ्यो ।

मेरो खुट्टा भाँच्चिनुअघि नै म त्यस्ता प्रतियोगिताहरुमा भाग लिन्थे, जित्थेँ पनि । खुट्टा भाँच्चिएर ठीक भएपछि एकपटक फेरि म लङजम्पको लागि गएँ । तर, त्यो पटक म सबैसँग हारें । पहिले आफ्नो उमेरका सबैलाई जित्ने म हारेर फर्नुपर्दा साह्रै खिन्न भएँ । अब नसक्ने भएछु जस्तो लाग्यो ।

घरमा आएर धेरै रोएँ । बुबालाई भनें- बुबा पहिले म जित्ने मान्छे अहिले कसरी हारें ? मलाई सबैले हेला गरे । जिस्काए । अपाङ्ग भने । मेरो कुरा सुनेर बुबाले भन्नुभयो- बिस्तारै तेरो खुट्टा ठीक हुन्छ । तँ पहिले जस्तै दौडन सक्छस् । पिर नगर ।

बुबाको कुराले हौसला मिल्यो । म पनि इख लिने खालको थिएँ । कसैले मलाई नराम्रो भनेपछि त्यसलाई देखाउँछु भन्ने हिम्मत राख्थें । ६ कक्षामा पुग्दासम्म राम्ररी ठीक भएँ । कक्षा ७ मा पुग्दा गाउँमा मेला लागेको बेला फेरि म लङजम्पमा भाग लिन गएँ । त्यो बेला जिल्लामा राम्रा भनिएका खेलाडीहरु पनि थिए ।

त्यस्तो प्रतिस्पर्धामा मैले आधा मिटरको फरक पारेर लङजम्प जितें । त्यो जितले मलाई गाउँघरमा चिनायो । साह्रै खुशी भएँ । गाउँलेहरु भन्थे-यामसाजन त हावामा उड्छ ।

चौरजहारी हाइस्कूलमा म ८ कक्षामा पुग्दासम्म खेलकुदमा राम्रो भइसकेको थिएँ । छेलो पनि हान्थेँ । भलिबल पनि खेल्थें । एक हिसाबले गाउँघरमा खेलाडीका रुपमा मेरो राम्रो पहिचान बनिरहेको थियो । अँ, अनि गीत पनि गाउँथेँ ।

***

मेरो एकजना साथी दिनेशराज गिरी नेपालगञ्जमा दिपज्योति बोर्डिङ स्कूलमा पढ्थ्यो । त्यतिबेला वीरेन्द्र रनिङ सिल्ड खेलकुद हुन लागेको रहेछ । मैले राम्रो खेल्छु भन्ने थाहा पाएकाले उसको स्कूलमा मलाई लैजान सरहरुसँग कुरा गरेछ ।

‘मेरो साथी राम्रो खेल्छ । उसलाई हाम्रो स्कूलमा ल्यायो भने दुई-तीनवटा गोल्ड मेडल जित्न सकिन्छ,’ उसलेे सरहरुलाई भनेको कुरा दशैंमा घर आउँदा मलाई सुनायो ।

मलाई पनि जान मन लाग्यो । बुबाहरुले पनि नेपालगञ्जमा राम्रो हुन्छ भनेपछि पठाउनुभयो ।

त्यतिबेला जाजरकोटमा म १० कक्षामा पढ्थें । तर, म सरकारी स्कूल पढेको भनेर नेपालगञ्जमा ९ कक्षामा भर्ना गरियो । यही रहेछ सुगम र दुर्गमको फरक भन्ने लाग्यो । म एक कक्षा कम गरेर भए पनि नयाँ ठाउँमा नयाँ बाटोमा लागें ।

त्यतिबेला विद्यालयस्तरमा पनि राम्रा खेलाडी हुन्थे । त्यस्तोमा मैले लङजम्प र ट्रिपल जम्प दुवैमा जितें । त्यसले मभित्र उत्साह भरिदियो ।

२०६४ तिर काठमाडौंमा भएको राष्ट्रिय स्तरको प्रतियोगितामा पनि म लङजम्पमा पहिलो भएँ । जाजरकोटबाट आएको १५ वर्षे केटाले काठमाडौंमा मेडल जित्दा धेरैले नोटिस गरे । त्यही खेलपछि विभागीय टिमहरुले पनि चासो दिए ।

त्यतिबेलासम्म पनि दौडमा लागेकै थिइनँ । लङजम्प नै मेरो खेल हो जस्तो लागेको थियो । काठमाडौंमा २०६५ मा पाँचौ राष्ट्रिय खेलकुद हुँदा म बाँकेबाट नै खेलेको थिएँ । त्यसमा लङजम्प, ट्रिपल जम्प र २०० मिटर दौडमा भाग लिएँ ।

लङजम्पमा पहिलो भएँ । ट्रिपल जम्पमा तेस्रो भएँ । २०० मिटर दौडमा टप फाइभभित्र परेँ । त्यसपछि मैले सिंगापुरमा युथ च्याम्पियनसिपमा भाग लिने अवसर पाएँ ।

सिंगापुर गएपछि खेलकुद पनि राम्रो कुरा रहेछ भन्ने लाग्यो । खेलमा लागेर पनि केही गर्न सकिन्छ भन्ने आँट आयो ।

जाजरकोटबाट बाँके झर्दा घरमा सबैजना उत्साहित हुनुहुन्थ्यो । फलानाको छोरा बोर्डिङमा सित्तैमा पढ्छ रे, पत्रिकामा नाम आएको छ रे, छोरा हुनु त यस्तो पो … गाउँतिर सुनिने यस्तै कुराले बुबाआमालाई पनि खुसी दिइरहेको थियो ।

गाउँतिर राम्रो पहिचान बनेको थियो । यसले मलाई पनि सन्तुष्ट र उत्साहित बनाउँथ्यो ।

***

खेलसँगै पढाइलाई पनि अगाडि लगेँ । २०६५ मा एसएलसी परीक्षा प्रथम श्रेणीमा पास भएर काठमाडौं आएको मलाई जेभियरबाट छात्रवृत्तिको अफर आएको थियो । गोल्डेन गेटबाट पनि आएको थियो । तर, साथीहरु भएकाले जेभिएर रोजे ।

खेल जीवनकै बिर्सन नसकिने क्षण गएको महिना इन्डोनेसियामा भएको एसियाली खेलकुद नै भयो । घाइते भएर मेरो प्रदर्शन धेरै बिग्रियो । १०० मिटर दौडमा सहभागी त भएँ तर, २०० मिटरमा त दौडनै सकिनँ ।शरीर र मन दुवै दुखेको क्षण थियो त्यो ।

विज्ञान विषय लिएर प्स टु पढेँ । २०६८ मा धनगढीमा छैठौं राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपटक भने १०० मिटर दौडमा पनि भाग लिने निर्णय लिए । त्यतिबेला ओलम्पियन खेलाडी तिलकराम थारु पनि हुनुहुन्थ्यो । १०० मिटर मैले १०.८० सेकेण्डमा पूरा गरेको थिएँ । त्यो बेला तिलकराम र  मैले लगभग सँगसँगै दौड पूरा गरेका थियौं । को प्रथम भनेर अफिसियलबीच नै केहीबेर बिवाद देखिएको थियो । झिनो अन्तरले गर्दा म दोस्रो भएँ ।

यो पनि पढ्नुहोस मैले फुटबल चिन्नुअघि नै फुटबलले मलाई चिनेको हो

खेलकुदमा चिनिएकैले मैले इञ्जिनियरिङका लागि छात्रवृत्ति पाएँ । तर, त्यो बेला मभित्र नाम कमाउने भूत यस्तरी चढेको थियो कि खेलबाहेक अरु केही सोचेकै थिइनँ । खेलेरै राम्रो हुन्छ भने किन पढ्नु ? इञ्जिनियर भएर मलाई कसले चिन्छ र ? भन्ने जस्तो लाग्यो । त्यसैले छात्रवृत्तिलाई वेवास्ता गर्दै मैले त्रिचन्द्रमा बीएस्सी पढें । बीएस्सी रोज्नुको उद्देश्य खेललाई बढी समय दिन पाइन्छ भन्ने थियो । तर, इन्जिनियरिङ नपढेकोमा अहिले मलाई पछुतो हुन्छ ।

बीएस्सी पहिलो वर्ष अध्ययन चलिरहँदा लुम्बिनी राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको थियो । मैले १०० मिटर दौड १०.४० मा पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएँ । आफूले सोचेको उपलब्धी हासिल गरेकोमा निकै खुशी लाग्यो ।

***

मेरो त्यो खुसीको पछाडि दुःख पनि निकै थियो । नेपालमा खेलाडीको अवस्था त सबैलाई थाहा नै छ । कडा मेहनतको खेल भए पनि डाइट राम्रो हुँदैन । मन लागेको खान कहाँ खान पाउनु र ? राम्रो अभ्यास गर्ने ठाउँ पनि छैन ।

बिस्तारै परिवारमा पनि असन्तुष्टि बढ्न थाल्यो । नाम कमाए पनि पैसा कमाउन सकेको थिइनँ । घरमा पैसा मागेर कति दिन दौडने ? त्यसपछि आर्थिक सुरक्षाका लागि विभागीय टिमबाट आवद्ध भएँ । पुलिसबाट एक वर्षजस्तो खेलें ।

आर्मी र सशस्त्रबाट पनि खेलें । दक्षिण कोरियामा एसियाली खेलकुद हुँदा मेरो स्तर निकै राम्रो थियो । त्यत्तिको र्फममा म त्यसअघि पनि थिइनँ, अहिले पनि छैन । तिलकराम थारुलाई नै मैले ३ मिटरभन्दा पछि छाडेको थिएँ । त्यतिबेला तयारीमै आफ्नै कीर्तिमान सुधार गरेर १०० मिटर १०.३० मा पूरा गरेको थिएँ ।

तिलकरामलाई हराउन असाध्यै मेहनत गरेको थिएँ । मैले १०० मिटरमा तिलकरामलाई जितेको तीन पटक मात्रै हो । कोही बलियो प्रतिस्पर्धी भइदिँदा आफूलाई थप मेहनत गर्न मन लाग्ने रहेछ । त्यस्तो राम्रो भइरहेको बेला मलाई फेरि चोटले सतायो । गोलीगाँठामा समस्या देखियो, जसले गर्दा मलेसियामा भएको खेलकुदमा सहभागी हुन सकिनँ । कोरियामा पनि सोचेजस्तो खेल देखाउन सकिनँ ।

त्यसपछि पनि राष्ट्रिय प्रतियोगितामा भने १०० र २०० मिटर दुवैमा गोल्ड मेडल जितेँ । भारतमा आयोजित दक्षिण एसियाली खेलकुदमा मैले १०० मिटर दौड १०.९० मा पुरा गरेँ । २०० मिटर पनि २२.०६ मा पूरा गरेँ । भर्खरै घाइते अवस्थाबाट गुज्रेकोले त्यो ठीकै लागेको थियो ।

पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुदमा पनि १०० मिटर र २०० मिटर दुवैमा मैले गोल्ड मेडल पाएँ । भत्किएको माटोको ट्रयाकमा पनि १०.६० मा १०० मिटर दौड पूरा गरेको थिएँ । समग्रमा राष्ट्रिय स्तरमा भएका प्रतियोगिताहरु सुखद नै रहे पनि एथ्लेटिक्सबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो हुन सकेन ।

***

खेल जीवनकै बिर्सन नसकिने क्षण गएको महिना इन्डोनेसियामा भएको एसियाली खेलकुद नै भयो । याम साजन दौडिएन भनेर कति आलोचनाहरु पनि भए ।

तर, मेरो पीडा मैसँग थियो । हामीले सोचेजस्तो गर्न सकेनौं । घाइते भएर मेरो प्रदर्शन धेरै बिग्रियो । १०० मिटर दौडमा सहभागी त भएँ तर, २०० मिटरमा त दौडनै सकिनँ । १०० मिटर दौडँदा नै मलाई धेरै नै पीडा भएको थियो । खेलाडी भएपछि आफूले गरेको मेहनत पूरा गर्न नसक्दा मेरो मन एकदम खिन्न भयो । साह्रै दुःख लाग्यो । शरीर र मन दुवै दुखेको क्षण थियो त्यो ।

***

यहाँ अभ्यास गर्ने ठाउँकै अभाव छ । भएको एउटा दशरथ रंगशालामा पनि ट्रयाक भताभुङ्ग भएको वर्षौं भयो । ट्रयाक धेरै पातलो भएकाले अभ्यास गर्दा गाह्रो हुन्थ्यो । विदेशमा भएको ट्रयाक र यहाँ भएको ट्रयाक त तुलना नै गर्न मिल्दैन ।

न त डाइट नै राम्रो छ । हामीमा क्षमता छ तर, त्यसलाई निखार्ने अवसर र सुविधा नै भएन । हामीलाई पुग्दो सुविधा हुने हो भने बाहिर गएर रित्तो हात र्फकनु पर्ने थिएन ।

यहाँ खेलकुद पनि केही हो है भनेर सोचिएकै छैन । घरको पैसा खर्च गरेर कति दिन मेहनत गर्न सकिन्छ र ? सुन्दा धेरै निराशाको कुरा गर्‍यो जस्तो लाग्छ तर, यथार्थ यही नै हो ।

अब म नेपालमै हुने साग खेलकुदमा कुद्छु होला । मेडल ल्याउने गरी नै मेहनत गर्छु तर, स्वास्थ्यले साथ दियो भने । घाइते भएरै ट्रयाकमा कुदिरहन भने सक्दिन ।यस्तोमा कुनै दिन यामसाजन विदेश गएछ भनेर सुन्नुभयो भने ओहो ! भनेर अचम्म नमान्नुहोला ।

कुनै प्रतियोगिता हुन लागेपछि एक महिना क्याम्पमा राखेर ठूलो तयारी गरेको जस्तो देखाइन्छ तर, बाँकी ११ महिना खेलाडीले के गर्दैछ भन्ने वास्ता नै हुँदैन ।

एउटा कुरा नि, जवानीको जोशमा धेरै राम्ररी कुदियो । त्यो जोश सधैं उस्तै भइरहँदैन । उमेर खस्किएपछि अभ्यास र खानपानमा धेरै ध्यान पुर्‍याउनुपर्छ । टेक्निकल कुरामा ध्यान लगाउनुपर्ने हुन्छ । तर, त्यो वातावरण हामीले पाएका छैनौं ।

हामीले दौडने बेला खेलाडीहरु कति धेरै हुन्थे । प्रतिस्पर्धा हुन्थ्यो । अहिले त खेलाडी खोजेर ल्याउनुपर्ने बाध्यता देखिन थालेको छ । दौडेर के हुन्छ र ? भविश्य कसरी बनाउने भन्ने चिन्ताले पनि मानिसहरुलाई खेलकुदमा लाग्न दिइरहेको छैन ।

यो पनि पढ्नुहोस ज्ञानेन्द्र मल्ल बन्ने बाटो: प्लाइउडको ब्याट, कागज बेरेर बल !

बाँच्नु त पर्‍यो नि, होइन ? बुबासँग पैसा मागेर कतिञ्जेल चल्ने ? काँचो चना खाएर कति दिन दौडिने ? ठूलो रोग लाग्यो भने कसरी उपचार गर्ने ? बेलाबेला यस्तै प्रश्नले पिरोल्छ । सबैभन्दा मुख्य त भविश्यको साह्रै अन्योल छ ।

अहिले त यस्तो लाग्छ, जिन्दगीमा मैले गरेको ठूलो भूल नै खेलकुदमा लाग्नु त होइन ? यसबाहेक जे गरेको भए पनि आनन्दको सुरक्षित जीवन बाँच्न सक्थें होला ।

खेलकुदमा एकोहोरो लागिरहें, आफ्नो नाम राख्छु, देशको नाम राख्छु भनेर सोचिरहें । तर, अब थाकें । एसियन खेलकुदसम्म मेडल जित्न सकिन्छ भन्ने जोशमा बढिरहेको थिएँ । तर, आर्थिक समस्या र शारीरिक चोटले मलाई धक्का दिइरह्यो ।

अहिले राम्ररी निन्द्रा पर्दैन । घाइते भएर एसियाली खेलकुदमा दौड छाडेर आउनुपर्दाको पीडाले अझै पोलिरहेको छ । अभ्यास गर्न जान्छु भनेर बिहान उठ्छु तर, सक्दिन । बिहान अभ्यास नगरेपछि पूरा दिन खराब हुन्छ । खाना खान मन लाग्दैन ।

एक मनले सोच्छु, यसरी त कहिलेसम्म चल्छ र ? अर्को मनले सोच्छु, दौडबाट कसरी टाढा बस्न सक्छु होला र ? यस्तै दुविधामा बाँचिरहेकेे छु आजभोलि । यत्रो वर्ष खेल खेलेर परिवारका लागि के गरिस् भनेर प्रश्न आउँदा मसँग उत्तर हुँदैन ।

बुबाआमा र दाइ नै मेरो प्रेरणाको स्रोत हो । पहिले बुबाआमाले अहिले दाइले खर्च धानिदिनु भएको छ । अहिलेसम्म मलाई ठूलो समस्यामा पर्न दिनुभएको छैन । तर, मैले उहाँहरुलाई कुनै खुसी दिन सकेको छैन जस्तो लाग्छ ।

यस्तोमा कोही भाइ बहिनी आएर खेलाडी बन्न सुझाव माग्दा मैले के जवाफ दिनु ? अभ्यासमा भेटिएका भाइहरु सोध्छन्, दाइ राम्ररी दौडन के गर्ने ?

कहिले काँही त भनिदिन्छु, सकिन्छ भने खेलाडी नबन । अरु कुरा गर, सुरक्षित जीवन बाँच । पैसा चाहिँदैन, नाम कमाउने हो भनेर सोच्ने हो भने मात्र खेलकुदमा लाग्दा राम्रो होला । आखिर, केशरी चौधरीहरु यसै विदेश पलायन भएका त होइनन् नि ।

नेपालमा क्रिकेट खेल्नेहरुले अहिले बल्ल बाँच्न सकिने आधार पाएका छन् जस्तो लाग्छ, बाँकी खेलको अवस्था उस्तै छ । गाउँमा यामसाजन त अझै कति होलान् । तर, मैले भोगेको दुःख, पीडा उनीहरुले चाहिँ भोग्न नपरोस जस्तो लाग्छ ।

***

आज जित, खुसी, कीर्तिमान, मेडल मात्रै होइन, पीडा र निराशाको कुरा पनि सुनाएँ । निराशाका कथा सुनाएर नयाँ पुस्तालाई खेलकुदमा नआउनु भन्न खोजेको होइन । तर, कोहि खेलकुदमा लाग्दैछ भने यो सबै बुझेर मात्र आओस्, यदि सम्बन्धित निकायले पनि बेलैमा सोच्छ भने सोचेस् भन्ने मात्र हो ।

तपाईहरुलाई लाग्नसक्छ यतिधेरै पीडा, दुःख र अभावमा पनि यामसाजन खेलकुदबाट किन अलग भएको छैन थाहा छ ? किनकि खेलले दिएको आत्मसन्तुष्टि पनि अन्तर्मनमा छ । पहिले यामसाजन त ‘हावामा उड्छ’ भन्नेहरु आज पनि आफूभन्दा मलाई माथि पाउँछन् । हाम्रो खेलाडी भनेर सम्मान गर्छन् ।

अब म नेपालमै हुने साग खेलकुदमा कुद्छु होला । मेडल ल्याउने गरी नै मेहनत गर्छु तर, स्वास्थ्यले साथ दियो भने । घाइते भएरै ट्रयाकमा कुदिरहन भने सक्दिन ।

यस्तोमा कुनै दिन यामसाजन विदेश गएछ भनेर सुन्नुभयो भने ओहो ! भनेर अचम्म नमान्नुहोला ।

प्रस्तुतीः ऋग्वेद शर्मा

हेर्नुस् भिडियाेः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment