+
+
Shares

सीके राउतसँग छलफल भयो तर, लाइन मिलेनः महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते २१:२४

४ असोज, वीरगञ्ज । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सीके राउतसँग सहकार्यका लागि छलफल भएको खुलासा गरेका छन् । तर, राउत आफूहरुको धारमा आउन तयार नभएको उनले बताए ।

राजपा नेपाल पर्साले वीरगञ्ज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका संयोजक ठाकुरले सहकार्यका लागि एकपटक छलफल भएपनि कुरा भने नमिलेको बताए ।

‘एकपटक उहाँलेसहकार्यको प्रस्ताव लिएर आउनुभएको थियो’ ठाकुरले भने, ‘सहकार्यका लागि कि उहाँको विचारमा हामी जानुपर्ने हुन्छ कि उहाँ हाम्रो विचारमा सहमत हुनुपर्छ । हामीले उहाँलाई हाम्रो धारमा आउन प्रस्ताव राख्यौं, उहाँ मान्नुभएन ।’

उनले अघि भने ‘हामी छुट्टै देशका लागि होइन, कानुनभित्रै रहेर आन्दोलन गरिरहेका छौं ।’

राजपा अध्यक्ष ठाकुरले संविधान संशोधनको सवालमा सरकार प्रष्ट नभएको भन्दै सरकारको आलोचना गरे । सरकारसँग पटक पटक सम्झौता भएपनि कार्यान्वयन नभएकोले अब उधारो सहमति नगर्ने निश्कर्षमा पुगेको तर्क उनले गरे ।

‘केन्द्र सरकारमा जो आएपनि मधेसको समस्यालाई स्वीकार गर्छ, असन्तुष्टि छ भन्ने मान्छ र सम्झौता पनि गर्ने गरेका छन् । तर त्यो व्यवहारमा उतार्ने काम हुँदैन’ ठाकुरले भने ।

उनले अघि भने, ‘हाम्रा नेता कार्यकर्तालाई झुठा मुद्धामा फसाइएको छ, राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा नै गरौं भन्दा मान्नुभएन । त्यसैले हामीले प्रष्ट भनेका छौं, जे गर्नुछ त्यही गरेर देखाउनुस्, उधारो सहमति काम छैन ।’

राजपाले तत्कल पार्टी महाधिवेशनलाई प्राथमिकता दिएको भएपनि जुनसुकै समयमा आन्दोलनमा जान तयार रहेको उनले बताए । संघीय समाजवादी फोरम नेपालसँग चुनाव र सरकारसम्म मात्रै सहकार्य गर्ने सहमति भएको बताउँदै उनले त्यसपछिको अवस्थामा दुवै दल आ-आफ्नो हिसाबले अघि बढ्न स्वतन्त्र रहेको बताए ।

संघीय कानुन बनिनसकेको, प्रदेश सरकारलाई अधिकार नदिएको, मुलुकी संहिता ल्याउँदा छलफद नभएको, स्थानीय तहका न्यायिक समितिलाई सञ्चालनका लागि आवश्यक तालिमको प्रबन्ध नमिलाएको भन्दै ठाकुरले असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?