५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आइतबार बोलकबोल मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब ३ करोड रुपैयाँ, १ सय ८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँ गरी १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
आइतबार बोलकबोलका लागि खुला गरिने ट्रेजरी मंगलबार खोलिने राष्ट्र बैंकले जनाएको छ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।
एकै व्यक्ति वा संस्थाले अलग-अलग वा बहु-मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।
प्रतिक्रिया 4