Comments Add Comment

दूतावासबाटै मानव तस्करी, बदनाम पप्पुलाई २ अर्बको सरकारी ठेक्का !

७ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि बजारमा देखापरेको इन्धन अभाव र बदनाम निर्माण कम्पनी पप्पुलाई २ अर्बको सरकारी ठेक्का दिने तयारी गरिएको विषयमा बढी केन्द्रित भएका छन् । मानव तस्करीमा दूतावास नै जोडिएको र राष्ट्रकवि माधवप्रसाद घिमिरे १ सय वर्षमा टेकेकोलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।

पहिलो पृष्ठमै कांग्रेसमा सभापति बलियो बनाउने प्रस्ताव गरिएको, स्टोरको लापरबाहीले ९ हजार भ्याक्सिन जमेको, उच्च पदस्थलाई अवकाशपछि दुई वर्ष जागिर खान रोक लगाउन लागिएको, बूढीगण्डकी पुनः गेजुवालाई दिने निर्णय मन्त्रिपरिषद्ले गरेकोलगायत समाचार छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले आज दूतावास नै मानव तस्करीमा संलग्न रहेको गम्भीर विषय उठाएको छ । अन्नपूर्णका अनुसार, ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा युएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल हुँदै आइरहेको छ । अनुसन्धानका क्रममा सयौं डकुमेन्ट भेटिएको र प्रविविको प्रयोग गरेर भिजिट भिसालाई रोजगार भिसा बनाइएको समाचारमा उल्लेख छ ।

अन्नपूर्णले दूतावासनै मानव तस्करीमा लागेको पुष्टि अगाडि लेखेको छ– दुवईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड सर्भिलिएन्स एलएलसीले युएई ल्याएको २ सय ७१ नेपाली यही विधिबाट ल्याइएको छ । यस्ता गलत काम गर्नेमाथि दूतावासले काम गर्नुपर्ने भए पनि उल्टै साथ दिएको छ ।’

समाचार अनुसार ल्याउन चाहेका नेपालीको शुरुमा भिजिट भिसा निकाल्ने र त्यसलाई नक्कली रोजगार भिसा बनाइ नेपाली दूतावासबाट प्रमाणित गराउने गरिएको छ ।

अन्नपूर्णमै कांग्रेसको प्रस्तावित विधानले सभापतिलाई झन् शक्तिशाली बनाउने प्रावधान राखेको समाचार छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा नौ पदाधिकारीमा सात जना मनोनित हुने व्यवस्था छ ।

कान्तिपुर दैनिकले दर्जनौ पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्बभन्दा बढीको सरकारी ठेक्का पाउने भएको लेखेको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबैभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो ।

कान्तिपुर लेख्छ– पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले आइतबार औपचारिक रुपमा यसको घोषणा र सम्झौता गर्दैछ ।

नयाँ पत्रिकाले बजार अराजक भइरहँदा सरकार निरीह बनेको निष्कर्ष निकाल्दै मुख्य समाचार लेखेको छ । नयाँ पत्रिका लेख्छ– खारेज भइसकेको सिन्डिकेटसँग वार्ता बसेर सरकारले दशैंको मुखमा भाडा बढाएको छ ।’
क्षेत्रीय मेडिकल स्टोर हेटौंडाको लापरबाहीले ९ हजार भ्याक्सिन जमेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । दाताले असहयोग गर्ने डरले सरकारले लापरबाही लुकाए पनि तथ्य बाहिरिएको छ ।

चीन जोड्ने सडकको डीपीआर संशोधन हुने भएकोलाई मुख्य समाचार बनाएको नागरिकले उच्च पदस्थलाई अवकाशपछि दुई वर्ष जागिर खान रोक लगाउने व्यवस्था गर्न लागिएको लेखेको छ ।

सचिव–सहसचिवबाट अवकाश पाएलगत्तै अधिकांश उच्चपदस्थ कर्मचारी एनजीओ–आईएनजीओ, कन्सल्टेन्सी, विकास आयोजना तथा संवैधानिक अंगजस्ता लाभका पदमा जागिर खान मरिहत्ते गर्ने गरेकोमा त्यसलाई रोक्न लागिएको हो । संघीय निजामती सेवा ऐनको मस्यौदा यथावत् पारित भएमा सचिव र सहसचिवले अवकाश पाएपछि दुई वर्षसम्म कुनै पनि निकायमा जागिर खान पाउने छैनन् ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका पहिलाे पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment