८ असोज, काठमाडौं । मालदिभ्समा विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति पदको चुनाव जितेका छन् । भारतको समर्थक मानिएका सोहिलले चीनको समर्थन रहेको मानिएका निवर्तमान राष्ट्रपति अब्दुला यामिनलाई पराजित गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार सोहिलले ५८.३ प्रतिशत मत पाएका छन् । उनले १३ लाख ३ हजार ८०८ मत पाएका छन् । यामिन ९५ हजार ५२६ भोटले पछि परेका छन् ।
आइतबार भएको निर्वाचनमा ८८ प्रतिशत मत खसेको थियो । चार दलीय गठबन्धनका उम्मेदवार बनेका सोहिलले यो आफ्ना लागि खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन् । उनले अर्का प्रत्यासी यामिनले जनमतलाई स्वीकार गर्नुपर्ने पनि बताएको बीबीसीले लेखेको छ ।
तर, निवर्तमान राष्ट्रपति यामिनको प्रतिक्रिया सार्वजनिक भएको छैन ।
मत गणना सुरु हुनुअघिसम्म यामिनले चुनाव जित्ने अनुमान गरिएको थियो । मतदानको पूर्वसन्ध्यामा सरकार विरोधीलाई जेलमा हाल्ने, सरकार विरोधी दलका कार्यालयमा छापा मार्ने लगायतका काम गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।
त्यसअघि युरोपेली संघ, अमेरिका, अन्तर्राष्ट्रिय पर्यवेक्षक र विपक्षी दलहरुले चुनाव निष्पक्ष हुनेमा आशंका गरेका थिए । अमेरिका र युरोपेली संघले चुनाव लोकतान्त्रिक प्रक्रियाबाट नभए मालदिभ्समा नाकाबन्दी लगाउने चेतावनीसमेत दिएका थिए ।
बीबीसीका अनुसार पछिल्लो समय मालदिभ्समा राजनीतिक गतिरोध सिर्जना भएको थियो । गत फेब्रुअरीमा सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नशीदविरुद्धको मुद्दालाई असंवैधानिक ठहर गर्दै विपक्षीका नौ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो ।
अदालतको यो फैसलालाई सरकारले अस्वीकार गर्दै संसदलाई अनिश्चितकालका लागि स्थगित गरेको थियो । राष्ट्रपति यामिनले देशमा १५ दिनका लागि संकटकाल घोषणा गरे । त्यसक्रममा दुई न्यायाधीशहरु पनि पक्राउ परे । त्यसपछि अदालतले आफ्नो फैसला उल्ट्याएको थियो ।
प्रतिक्रिया 4