Comments Add Comment

चितवनसम्मै ग्यास र तेलको पाइपलाइन बिछ्याउन भारतसँग प्रस्ताव गरिँदै

९ असोज, काठमाडौं । नेपालले चितवनसम्म नै पेट्रोलियम ग्यास र तेलको पाइपलाइन निर्माण गर्न भारतसमक्ष प्रस्ताव गर्ने भएको छ । बुधबारबाट काठमाडौंमा सुरु हुने नेपाल भारत पेट्रोलियम संयुक्त कार्य सूमहको बैठकमा नेपालले यस्तो प्रस्ताव गर्न लागिएको हो ।

भारत भ्रमणमा रहेका तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोराले पनि भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र  प्रधानसँग ग्यास पाइपलाइन नेपालसम्म नै विस्तार गर्न प्रस्ताव गरेका थिए । त्यतिबेला ग्यास पाइपलाइन बनाउन गरिएको प्रस्तावमा भारतले औपचारिक जवाफ भने दिएको थिएन । बुधबारबाट काठमाडौंमा सुरु हुने सरकारी तवरको संयुक्त कार्य समूहको बैठकमा यो एजेन्डाले औपचारिक प्रवेश पाउने भएको छ ।

बैकठमा अमलेखगञ्जबाट चितवनसम्म तेलको पाइपलाइन विस्तार गर्ने एजेण्डामा छलफल हुने आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अहिले रक्सौलबाट अमलेखगञ्जसम्म पायपलाइन बिछ्याउने काम हुँदैछ ।

पेट्रोलियम ग्यास पाइपलाइनलाई पनि नेपालसम्म ल्याउन सके ग्यासको ढुवानीमा सहज हुने सरकारको विश्वास छ । भारतले अहिले मुजफ्फरपुरसम्म पेट्रोलियम ग्यासको पाइपलाइन निर्माण गरिरहेको छ ।

त्यहाँ ग्यासको ठूलो भण्डारण केन्द्र पनि बनाइँदैछ । अब यही पाइपलाइनलाई नेपालसम्म ल्याउनेबारे गृहकार्य सुरु भएको हो । अबको भारतले मुजफ्फरपुरसम्मको पाइपलाइनको काम सकेर नयाँ ग्यास डिपो सञ्चालनमा ल्याउन तयारी गरिरहेको छ ।

यो डिपो सञ्चालनमा आएपछि नेपाल आयल निगमलाई मुजफ्फरपुरबाट चाहिएजति ग्यास दिने गरी भारतसँग नयाँ इन्धन आपूर्ति सम्झौता भइसकेको छ ।
नेपालले अहिले बिहारको बरौनी, पश्चिम बंगालको हल्दिया, उत्तर प्रदेशको मथुरा, हरियाणाको कर्नाल, उडिसाको पाराधीबाट ग्यासको लोडिङ पाउँछ ।

त्यहाँबाट ग्यास पाइपलाइनले नेपाललाई जोड्न सके ढुवानी खर्च पनि निकै घट्नेछ । र, दीर्घकालीन रुपमा नेपालमा ग्यास आपूर्तिमा सरलता आउनेछ ।

अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरु लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ । यदि मुजफ्फरपुरबाट अमलेखगञ्जसम्म पाइपलाइन बने करिब १६० किलोमिटर लामो हुनेछ ।

अहिले नेपालमा मासिक झण्डै ३० हजार मेटि्रक टन ग्यासको माग छ । झण्डै ५ सय भारतीय बुलेटहरु नेपालका लागि ग्यास बोक्छन् ।

नेपाली उद्योगी आफैंले किनेर ल्याएका बुलेटहरु अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन् । भारतले नेपाली बुलेटलाई बिष्फोटबाट खतरामुक्त रहेको प्रमाणित गर्न भारतले ढिलाइ गरेको छ ।

चितवनसम्मै तेलको पाइपलाइन

यस्तै बैठकमा अमलेखगञ्जसम्म पाइपलाइन बनेपछि त्यसलाई चितवनको लोथरसम्म विस्तार गर्न पनि नेपालले प्रस्ताव गर्ने तयारी गरेको छ । अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइनको प्रारम्भिक रुट सर्वे सकि सकेको छ ।

अध्ययनले भारतबाट आउने तेलको पाइपलाइन चितवनसम्मै ल्याउन सकिने देखाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी)ले यससम्बन्धि अध्ययन गरेका थिए ।

प्रस्ताव अनुसार काम अगाडि बढे अमलेखगञ्जबाट चितवनसम्म ५९ किलोमिटर पाइपलाइन थपिनेछ । हाल भारत मोतीहारीदेखि अमलेखगञ्जसम्म ३७ किलोमिटर पाइप बिछ्याँदैछ ।

‘हेटौंडा बजारलगायत केही क्षेत्रमा समस्या हुने देखिएको छ । तर, पूर्वपश्चिम राजमार्गको रुटमै आधारित भएर अध्ययन गरेका छौं,’ आयल निगम स्रोत भन्छ, ‘पाइपलाइन चितवनसम्म ल्याउन सकिने अवस्था रहेकाले अब त्यसमाथि भारतीय सरकारसँग छलफल गर्नैपर्छ ।’

प्रस्तावअनुसार चितवनको लोथर बजार नजिकसम्म पाइपलाइन आउनेछ । त्यहाँ निगमले नयाँ भण्डारणस्थल निर्माणका लागि जग्गा खरिद गरेको छ । उक्त स्थान मकवानपुर र चितवनको सीमाना हो ।

निगमले चितवनमा आधुनिक तेल डिपो बनाउन र त्यहाँसम्म पाइपलाइन ल्याउन सात अर्ब खर्च लाग्ने आनुमन गरेको छ । सरकारीस्तरमा सहमति भएमा सम्भाव्यता अध्ययन शुरु हुनेछ ।

रुट सर्वेबाट ग्यास पाइपलाइन पनि बिछ्याउन सकिने देखाएको छ । दुवै पाइपलाइन सँगसँगै बिछ्याउन सकिने देखिएको छ ।

‘चितवनमा तेलसँगै ग्यासको डिपो पनि राख्न आईओसीका अधिकारीहरु उत्साहित छन्,’ निगम स्रोत भन्छ, ‘त्यसो भयो भने तेल र ग्यास पाइपलाइबीच राख्ने दूरी तीन मिटर फरक पारेर एकैपटक बिछ्याउन सकिन्छ ।’

पछि बिछ्याउँदा पाँच मिटर अन्तर कायम गर्नुपर्ने र सडकमा आवागमनमा पनि समस्या ल्याउने निगमको भनाइ छ ।

पेट्रोलियम र ग्यास पाइपलाइन चितवनसम्म आउँदा काठमाडौंसहित पहाडी जिल्लामा ढुवानी र वितरण सहज हुने निगमको विश्वास छ ।

निगमका एक अधिकारीको भनाइमा अमलेखगञ्ज डिपोले प्रदेश-२ को आपूर्ति सहज गर्छ । ‘काठमाडौंका लागि चितवनमै इन्धन भण्डारण गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसबाट प्रदेश-३ को आपूर्ति व्यवस्था सहज हुनेछ ।’

उक्त पाइपलाइन योजना कार्यान्वयनमा आउँदा राज्यको ढुवानी भाडा ह्वात्तै घट्नेछ भने उपभोक्तालाई पनि राहत मिल्नेछ ।

बुधबारबाट सुरु हुने संयुक्त कार्य समूहको बैठकमा नेपालले विमानस्थलमा तेल भर्न प्रयोग हुने रिफ्युलर खरिदका विषयमा पनि छलफल गर्नेछ । अहिले निगमलाई विमानस्थलहरुमा पुराना रिफ्युलरका कारण निकै समस्या परिरहेको छ ।

यस्तै अमलेअगञ्जमा पेट्रोलियम भण्डारण केन्द्रको विस्तारमा सघाउन पनि नेपालले अनुरोध गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment