+
+
Shares

‘बेहोस पार्ने औषधि’को कति डर, कति भर ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १० गते २०:२१

१० असोज, काठमाडौं । ‘शल्यक्रिया’ भन्नासाथ धेरै मानिसहरु डराउँछन् । डराउनुको कारण मध्ये एक हो, बेहोस पार्ने औषधिको प्रयोग ।

शल्यक्रिया अवधिभर बिरामीलाई स्थिर राख्न र दुःखाई महसुस हुन नदिन बेहोस पार्नुपर्ने हुन्छ । त्यसका लागि एनेस्थेसिया प्रयोग गरिन्छ । तर, बिरामी बेहोस पार्ने मात्र होइन, शल्यक्रियापछि होसमा ल्याउने प्रक्रिया पनि एनेस्थेसिया अन्तरगत नै पर्छ । त्यसैले यो कति संवेदनशील छ भनिरहनु परेन ।

एनेस्थेसियाको प्रयोग गर्ने विज्ञ डाक्टरलाई ‘एनेस्थेसियोलोजिस्ट’ भनिन्छ । आम मानिसहरुले उनीहरुलाई ‘बेहोस पार्ने डाक्टर’ भनेर चिन्छन् ।

त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक तथा एनेस्थेसियोलोजिस्ट डा. नविन्द्रराज विष्ट भन्छन्, ‘कुनै पनि शल्यक्रिया गर्दा विरामीलाई बेहोस पार्नेदेखि सामान्य अवस्थामा फर्काउने काम एनेस्थेसियोलोजिस्टले गरेको हुन्छ । तर, यो कुरा अपरेसन थिएटरभित्र विरामीलाई थाहा हुँदैन । उनीहरुले ‘बेहोस बनाउने’ डाक्टरका रुपमा मात्र बुझ्छन् ।’

विगत पाँच वर्षको अवधीमा आठ हजारभन्दा बढी विरामीलाई बेहोस बनाइसकेका डा. विष्टको भनाइमा एनेस्थेसियोलोजिस्ट भनेको अपरेसन थिएटरको ‘नेता’ नै हो ।

एनेस्थेसिया र एनेस्थेसियोलोजिस्टबारे जनमानसमा न्यून जानकारी रहेको सन्दर्भमा हामीले डा. विष्टसँग यो कुराकानी गरेका छौं ।

शरीरको आधा भाग लठ्याउन प्रयोग गरिने औषधिलाई लिएर जनमानसमा धेरै भ्रम रहेको पाइन्छ । मेरुदण्डमा सुई लगाउँदा केही असर गर्ला कि भन्ने आशंका धेरैले गर्छन् तर, त्यस्तो केही हुँदैन । यदि सुत्केरी भएपश्चात ढाड दुख्यो भने त्यो अरु नै समस्या हो ।

के हो एनेस्थेसिया ?

दुखाईबिना बिरामीको शल्यक्रिया गर्ने प्रक्रियालाई एनेस्थेसिया भनिन्छ । यसभित्र शल्यक्रिया सम्पन्न भएको २४ घण्टा भित्रमा आइपर्ने जटिलतालाई न्युन गर्ने बाहेक एमआरआई, इन्डोस्कोपी, कोलोनोस्कोपी, नशा पत्ता लगाउने, नशा खोल्ने, छोटो समयका लागि औषधि दिने लगायत काम पर्छन् ।

त्यसबाहेक, क्यान्सरका विरामीलाई दुखाई हटाउनुका साथै एक्युट पेन तथा क्रोनिक पेन म्यानेजमेन्ट गर्ने, आपतकालीन स्थितिमा मुटुमा थिचेर बनाउने (सीपीआर) काम पनि एनेस्थेसिया अन्तर्गत पर्दछन् ।

एनेस्थेसिया जम्मा दुई प्रकारको हुन्छ । पूरै शरीर बेहोस पारेर गरिने (जनरल एनेस्थेसिया) र शरीरको आधा भाग बेहोस पारेर गरिने (रिजनल एनेस्थेसिया) ।

जनरल एनेस्थेसिया

पूरै बेहोस पारेर दिइने एनेस्थेसियालाई चिकित्सकीय भाषामा जनरल एनेस्थेसिया भनिन्छ । यसरी बेहोस बनाउँदा विरामीलाई शल्यक्रिया गरिएको पत्तै हुँदैन । यसमा विरामीलाईं नशाबाट औषधि दिने वा मुखमा बेहोस बनाउने ग्यास दिने गरिन्छ ।

रिजनल एनेस्थेसिया

यसमा शरीरको जुन भागमा शल्यक्रिया गर्ने हो, त्यसलाई मात्र लठ्याइन्छ । यसका लागि मेरुदण्डबाट ‘व्युपिभाकइन’ नामको औषधि पठाइन्छ । यसले मेरुदण्ड भन्दा मुनीको भागलाई लठ्याउने गर्छ । यस्तो औषधि विशेष गरी पेटभन्दा मुनीको भागको शल्यक्रियामा उपयोग गरिन्छ ।

त्यस्तै, मेरुदण्डको बाहिरी भागमा इन्जेक्सनद्वारा औषधि पठाएर पनि शल्यक्रिया गर्न सकिन्छ । शल्यक्रिया गर्ने अंगको नशालाई मात्र ब्लक गरेर पनि शल्यक्रिया गर्न सकिन्छ, यसलाई ‘नर्भ ब्लक’ भनिन्छ ।

एनेस्थेसियाका दौरान विरामीलाई तीन किसिमको औषधि दिने गरिन्छ । पहिलो त बेहोस पार्ने औषधि नै भयो । दोस्रोमा दुखाई महसुस नहुने औषधि प्रयोग गरिन्छ । र, शल्यक्रियाका दौरान के भएको थियो भन्ने कुराको स्मरण नहुने तेस्रो औषधि दिने गरिन्छ ।

बिरामीलाई पूरै बेहोस बनाएर शल्यक्रिया गर्ने वा आधा बेहोस बनाउने भन्ने कुरा रोगको प्रकृति, विरामीको उमेर तथा शल्यक्रिया गर्ने तरिकामा भर पर्छ । बालबालिकाहरुको हकमा भने उनीहरु धेरै चल्ने तथा रुने-कराउने भएकाले चिकित्सकहरुले उनीहरुलाई प्रायः पूरै बेहोस बनाउने गर्छन् ।

साथै सबै बिरामीहरुलाई एउटै डोजले काम गर्दैन । जति जटिल अवस्था भयो, उति डोज कम लाग्छ ।

जोखिम के छन् ?

बिरामीले एनेस्थेसियोलोजिस्टसित रोगबारे कुनै कुरा लुकाउनु हुँदैन । किनकी एनेस्थेसियोलोजिस्टले दिने औषधि मस्तिष्कदेखि मुटु हुँदै मिर्गौलासम्म पुग्छ । बिरामीले आफूले खाने औषधिबारे समेत खुलाउनु पर्छ

एनेस्थेसियाको प्रयोगले विरामीको स्वास्थ्यमा खासै असर पर्दैन । तथापि, शरीरको आधा भाग बेहोस बनाउनु कम जोखिमपूर्ण हुन्छ । यसमा विरामीले सबै कुरा थाहा पाउने भए कुनै जटिलता आइपरेको खण्डमा तुरुन्तै समाधान गर्न सकिन्छ । त्यस्तै, शल्यक्रियापश्चात बिरामी चाँडै रिकभर हुन र हिँड्न सक्ने भएकाले उनीहरुको खुट्टामा रगतको ढिक्का जम्ने सम्भावना कम हुने गर्छ ।

तथापि, शरीरको आधा भाग लठ्याउन प्रयोग गरिने औषधिलाई लिएर जनमानसमा धेरै भ्रम रहेको पाइन्छ । मेरुदण्डमा सुई लगाउँदा केही असर गर्ला कि भन्ने आशंका धेरैले गर्छन् । तर, त्यस्तो केही हुँदैन । किनकी मेरुदण्डको हड्डीको बीचको खाली भागमा मसिनो सुईको माध्यमद्वारा औषधि दिइने हुँदा यसले मेरुदण्ड तथा ढाडलाई असर गर्दैन । विश्वका कुनै पनि अध्ययन अनुसन्धानहरुबाट पनि ढाडमा सुई लगाउँदा असर गरेको पुष्टि भएको छैन । यदि सुत्केरी भएपश्चात ढाड दुख्यो भने त्यो अरु नै समस्या हो ।

पूरा बेहोस पार्दा विरामीको हातखुट्टामा रगत जम्ने तथा लामो समय सुतिरहेमा निमोनिया हुने खतरा हुन्छ ।

एनेस्थेसिया दिएपछि शल्यक्रियाको बीचमै बिरामी उठ्ने सम्भावना ज्यादै न्युन हुन्छ । किनकी औषधि दिँदा नै यो विरामीको लागि यति डोज आवश्यक छ भन्ने लेखाजोखा गरेर दिइएको हुन्छ । त्यसका बाबुजुद यदि डोज कम भएमा त्यहाँ हुने विभिन्न उपकरणले तत्काल संकेत गरिहाल्छ ।

पूर्व सावधानी

बिरामीले एनेस्थेसियोलोजिस्टसित रोगबारे कुनै कुरा लुकाउनु हुँदैन । किनकी एनेस्थेसियोलोजिस्टले दिने औषधि मस्तिष्कदेखि मुटु हुँदै मिर्गौलासम्म पुग्छ । बिरामीले आफूले खाने औषधिबारे समेत खुलाउनु पर्छ ।

त्यस्तै, चिकित्सकले शल्यक्रिया गर्नुपूर्व नखानू भनेका खानेकुरा खानु हुँदैन । जबकी नियमित खानु भनिएको औषधि के गर्ने भन्ने विषयमा पनि चिकित्सकको सल्लाह लिनुपर्छ ।

एनेस्थेसिया विधामा जुनसुकै काम गर्दा पनि चेकलिस्टमा आधारित रहेर गरिने हुँदा यसमा कुनै किसिमको तल-माथि हुने सम्भावना रहँदैन । र, हरेक औषधिको डोज बिरामीको तौल तथा विरामीको अवस्थालाई मध्यनजर गरेर दिइने हुँदा गल्ती हुने सम्भावना नगन्य हुन्छ ।

जोखिमपूर्ण अनुभव

वीर अस्पतालमा काम सुरु गर्दा उनले एउटी महिलालाई एनेस्थेसिया दिनुपर्ने थियो । एक त ती महिला दुर्गम जिल्लाकी थिइन् । त्यसमाथि अपरेशन शब्द सुन्दावित्तिकै उनी आतंकित थिइन् । त्यो अवस्थामा उनको शल्यक्रिया गर्नु आफैमा चुनौती पूर्ण त थियो । अर्को कुरा, एनेस्थेसियोलोजिस्टको रुपमा उनको यो जिम्मेवारी थियो । आफूले दिएको औषधी विरामीका लागि पर्याप्त हुने हो कि होइन, अपरेशन गरिरहेको उनलाई थाहा हुन्छ कि हुँदैन, उनको स्वास्थ्यमा कुनै किसिमको गडबडी पो हुने हो कि भन्ने कुरा मनमा डर पैदा गरेको थियो ।

तर जब शल्यक्रिया सकियो, ती महिलालाई न त कुनै दुखाई महसुस भयो, न त शल्यक्रियाका दौरान के भएको थियो भन्ने उनलाई केही याद नै थियो । बरु ती महिला शल्यक्रिया पश्चात्त जति खुशी  देखिइन्, त्यसले डा. नविन्द्रलाई एक किसिमको आत्मबल दियो ।

त्यतिमात्र हैन, केही हप्ता अगाडि भएको अर्को एक घटना पनि उनका लागि अविस्मरणीय छ । एक महिला शल्यक्रियाद्वारा प्रसूति गर्नका लागि अस्पताल भर्ना भइन् । उनको मुटुको धेरै भागमा स-साना प्वाल रहेछन् । यो कुरा गर्भावस्थाको केही समयपछि मात्र पत्ता लागेकाले ती महिलाको गर्भपात तत्काल सम्भव थिएन । त्यतिमात्रै होइन, उनको मुटुको प्वाल एकातिर र्फकनु पर्नेमा अर्कोतिर फर्किएको थियो । तर, प्रसूतिका लागि अपरेशन गर्नुको विकल्प थिएन तर यो अपरेशनमा उच्च जोखिम थियो ।

अन्ततः गर्भावस्थाको अन्तिम चरणमा बच्चा निकाल्ने क्रममा उनको शल्यक्रिया गरियो र सफल पनि भयो । ति महिलाको ढाडमा मात्र सुई लगाएर नशालाई लठ्याएर अपरेश गर्न डेढ घण्टा लागेको थियो । अपरेशनको क्रममा हरेक पल ती महिलाका लागि जीवन-मरणको दोसाँध थियो । रक्तचापमा देखिएको एक सेकेन्डको गडबडीले पनि उनको मृत्यु हुनसक्थ्यो भने त्यस दौरान प्रयोग भएको कुनै नयाँ औषधीले पनि उनको ज्यान लिनसक्थ्यो ।

त्यतिमात्र हैन, बच्चा निकालिसकेपछि पनि रक्तश्राव नरोकिएको भए उनको मृत्यु हुन सक्थ्यो । यत्तिका चुनौतीका बाबजुद ती महिलाको सफल शल्यक्रिया सम्पन्न गरेको घटना डा. विष्ट कहिल्यै बिर्सिन सक्दैनन् । उनका अनुसार ति महिलाको स्वास्थ्यमा अहिले उल्लेख्य सुधार पनि भइरहेको छ ।

नेपालमा एनेस्थेसियाको इतिहास

नेपालमा एनेस्थेसियाको कुरा गर्दा यसलाई दुई तरीकाले हेर्नुपर्छ । जनशक्ति र औषधिको विकास । संसारमा शल्यचिकित्सापछि मात्र एनेस्थेसियाको विकास भएको थियो । जबकि नेपालमा भने शल्यक्रियाको विकास हुनुभन्दा करिब पाँच वर्ष अगाडि नै एनेस्थेसियाको विकास भएको हो ।

पहिला-पहिला औषधिले ढिला काम गर्ने हुन्थ्यो भने हिजोआज प्रयोगमा आएको औषधिले तुरुन्तै काम गर्छ । त्यस्तै विरामीको हरेक अंगको अनुगमन गर्ने आधुनिक उपकरणहरुको विकास भएकाले पनि सजिलो भएको छ ।

नेपालमा १९९५ सालमा वीर अस्पतालमा पहिलो एनेस्थेसियोलोजिस्टले काम सुरु गरेको पाइन्छ ।  २००१ सम्म आइपुग्दा वीरमा एनेस्थेसियोलोजिस्ट डाक्टर ६ जना पुगेका थिए । त्यसपछि क्यानडा र बेलायतका चिकित्सकहरुको सहयोगमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज तथा वीरमा संयुक्त रुपमा एनेस्थेसियाको पढाई सुरु भएको थियो । यसले एनेस्थेसियोलोजिस्ट उत्पादन गर्न निकै सहयोग गर्‍यो ।

अहिले नेपालमा एनेस्थेसियोलोजिस्ट तीन सय १७ जना छन् । जनसंख्याको आधारमा यो पर्याप्त होइन । प्रत्येक १ लाख जनसंख्यालाई शून्य दशमलव आठ जना मात्र जनशक्ति छन् । जबकी अमेरिकामा एक लाखलाई २० जना र भारतमा दुई जना एनेस्थेसियोलोजिस्ट छन् ।

यद्यपि अहिले नेपालमा एनेस्थेसियाको पनि सुपर स्पेसियलाइजेशन विकास भइसकेको छ । यसअन्तर्गत मुटु, अर्थोपेडिक, न्युरो, पेड्रियाटिक, स्त्री तथा प्रसुति, पेन म्यानेजमेन्ट, क्रिटिकल केयरका लागि एनेस्थेसियोलोजिस्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?