Comments Add Comment

प्रदेश राजधानी माग्दै डोटीमा आन्दोलन घोषणा

१० डोटी, असोज । प्रदेश ७ को नाम र राजधानीका बिषयमा सिफारिस गर्न गठित प्रदेश संसदीय बिशेष समितिले बुझाएको प्रतिवेदनको बिरुद्धमा डोटीमा आन्दोलन सुरु भएको छ । बुधवार डोटीको सिलगढीमा बसेको सर्वपक्षीय बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेको हो ।

आन्दोलनको तालिका अनुसार बुधवार साँझ दिपायल सिलगढी नगरपालिकाका प्रत्येक घरहरुमा कालो झण्डा राख्ने तय भएको छ । यस्तै डोटीको दिपायलमा समितिले दिएको प्रतिवेदन जलाउने कार्यक्रम तय भएको छ ।

आन्दोलन अन्तरगत बिहीबार बिहान ११ गते जुलुश प्रदर्शन गरी जिल्ला प्रशासन कार्यालयमा धर्ना र कोण सभा गर्ने, साँझ दिपायलमा बिरोध प्रदर्शनसहित कोणसभा गर्ने र साँझ मसाल जुलुश प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै १२ गते देखि अनिश्चितकालीन डोटी बन्दको आयोजना गर्ने निर्णय वैठकले गरेको छ । सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

प्रदेशको नामाकरण र राजधानीका बिषयमा सुझाव दिन साउन १५ गतेको प्रदेश सभा बैठकले प्रदेश सभा सदस्य तारालामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय संसदीय बिशेष समिति गठन गरेको थियो ।

समितिले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीमा राख्नु पर्ने र प्रदेशको नाम सुदूरपश्चिम प्रदेश राख्नु पर्ने सिफारिस गरेको थियो । उक्त प्रतिवेदन मंगलवार प्रदेश सभामा पेश भएपछि डोटी आन्दोलति भएको हो ।

प्रदेशको राजधानी दिपायल हुनु पर्ने माग राख्दै यस अघि डोटीमा ६४ दिनसम्म लगातार आन्दोलन भएको थियो । आफ्नो माग वेवास्ता गर्दै समितिले प्रदेशको राजधानी तोकेको भन्दै डोटी फेरि आन्दोलित भएको हो ।

प्रतिवेदनको बिरुद्धमा बुधबार प्रदेश अस्थायी राजधानी रहेको धनगढीमा पनि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले प्रदेश सभा भवन घेराउ गरेका थिए । बिहीबार धनगढीमा आमहड्तालको घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment