Comments Add Comment

सुध्रेनौं भने सकिन्छौं, अर्कै शक्ति आउन सक्छ : रामचन्द्र पौडेल

१० असोज, बार्सिलोना । नेपाली कांग्रेस यतिबेला स्वदेशमा मात्रै हैन, विदेशमा पनि चर्को गुटबन्दीको शिकार भइरहेको छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल गत साता बेल्जियम पुगेका बेला त्यहाँ भातृ संगठनको विवाद छताछुल्ल भयो । नेता पौडेल सहभागी रहने कार्यक्रम बहिष्कारका लागि वक्तव्यबाजीसमेत भयो ।

कांग्रेस नेता पौडेल अहिले युरोप भ्रमणमा छन् । लक्जम्बर्ग, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीटजरल्याण्ड र जर्मनी हुँदै उनी जनसम्पर्क समिति नेदरल्याण्डको कार्यक्रममा सहभागी भएका छन् । युरोपमा रहेका कांग्रेसजनहरुको विवाद देखिसकेपछि नेता पौडेलले निश्कर्ष निकालेका छन्– ‘अब हामी सुध्रिएनौं भने आफैं सिद्धिन्छौं । कम्युनिस्ट असफल भयो भने देशमा अर्कै शक्ति आउन पनि सक्छ ।’

नेपाली कांग्रेसमा तुलनात्मकरुपमा सादगी एवं वैचारिक नेताको छवि बनाएका पौडेलसँग युरोपमा अनलाइनखबरले लामो कुराकानी गरेको छ । अनलाइनखबरका युरोप संयोजक बसन्त रानाभाटले बरिष्ठ नेता पौडेलसँग गरेको कुराकानीको सम्पादित अंशः

रामचन्द्रजी, यहाँलाई युरोपमा स्वागत छ ।

धन्यवाद छ यहाँलाई ।

केको शिलशिलामा युरोप भ्रमणमा आउनुभएको ?

अलि फुर्सदले युरोप हेर्न पनि समय मिलेको थिएन । युरोप र यहाँ रहेका साथीहरुको भावनाहरुलाई पनि बुझौं, उहाँहरुको सुझाव के छ, त्यसलाई पनि सुनौं भनेर युरोपको एउटा सहज र सामान्य घुमाइमा छु ।

तर, तपाई यहाँ आउँनेबित्तिकै युरोपका कांग्रेसीबीच विवाद चर्केको देखियो । कतिले त तपाईको कार्यक्रम नै बहिष्कार गरौं भनेर वक्तव्यवाजीसमेत गरे….

किन गर्नु भो, त्यो साथीहरुको सोचाइ हो । अलिकति यहाँ केन्द्रले एउटा विरोधाभास कुरा गर्‍याे । कसै–कसैलाई चित्त बुझेन होला । मलाई लाग्छ, त्यो केही छैन । जतासुकै अत्यन्त सहज र सौहार्दपूर्ण वातावरण पाएको छु । साथीहरुसँग देशको चिन्ता पाएको छु । लोकतन्त्रको चिन्ता पाएको छु । पार्टीप्रतिको चिन्ता पाएको छु । उहाँहरु देशको अवस्था देखेर अलिकति चिन्तित हुनुहुन्छ ।

असन्तुष्ट पक्षको आरोप क सुनयो भने पार्टी केन्द्रले परिपत्र नै गरेर महाधिवेशन प्रतिनिधि बनाएको व्यक्तिलाई समेत तपाईले जनसम्पर्क समिति लक्जम्बर्गको अधिवेशनमा रोक्नुभयो रे नि ?

केन्द्रको अघिल्लो पत्र र पछिल्लो पत्रमा ठूलो अन्तरविरोध भयो । यस्तो किन भयो भन्ने मात्रै मैले प्रश्न उठाएको हुँ । केन्द्रीय मुख्यसचिवको हस्ताक्षरमा दुईहप्ता अघि एउटा पत्र,फेरि त्यसको विपरीत अर्को पत्र आयो । त्योभन्दा बढी केही पनि होइन ।

भनेपछि तपाई पछिल्लो पत्रलाई वैधानिक भन्नुहुन्न ?

अँ, त्यो अन्तरविरोधी भयो । अघिल्लो पत्रविपरीत आयो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिवबाटै परिपत्र हुँदा यहाँले अवैधानिक भन्नुहुन्छ ? यस्तो ‘अवैधानिक’ काम गर्ने पार्टी फेरि कसरी सबैभन्दा प्रजातान्त्रिक र लोकतान्त्रिक हुन्छ त ?

कार्यालयमा बसेर केही मान्छेले दुरूपयोग गरे भन्दैमा पार्टी सिङ्गै आलोकतान्त्रिक चाहिँ हुँदैन । यो लोकतन्त्रकै मिसनका लागि जन्मेको पार्टी हो । बेलाबेलामा यस्ता विकृति, विसङ्गतिहरु आउने गर्छन् । तर, यिनलाई रोक्दै अगाडि बढ्ने नै अहिलेको संघर्ष हो ।

पछिल्लो पत्रमा ‘नेपाली जनसम्पर्क समिति, युरोप’ भनेर उल्लेख गरिएको छ । यो संगठनलाई तपाई नेपाली कांग्रेसको वैधानिक ठान्नुहुन्न ?

अघिल्लो पत्रले नै अन्तराष्ट्रियस्तरका यस्ता संस्था विधानले देखेको छैन भनेर तिनै मुख्यसचिवको हस्ताक्षरमा परिपत्र भइसकेको छ । त्यसैलाई नै मैले आधिकारिक सम्झन्छु । विश्व सञ्जालदेखि सबै संस्थाहरुलाई पहिले पार्टीले स्वीकृति त दिनुपर्‍याे नि ।

तर, तपाईले अवैधानिक भनिरहेको संगठन जनसम्पर्क समिति युरोपको ब्यानरमुनि बसेर थुप्रै कांग्रेसका नेताहरुले पटक–पटक सम्वोधन गरेका छन् । नेपालबाट आएर भाषण गरेका छन् । अब यसलाई वैधानिक बनाउने कि विवादमा तान्ने ?

विदेशमा नेपाली जनसम्पर्क समितिहरु छन् । धेरै ठाउँहरुमा खुल्दै गएका पनि छन् । यिनीहरुलाई व्यवस्थित गर्नु नै कांग्रेसको अहिलेको चुनौती हो । किनभने, हाम्रो पार्टीका धेरै समर्थकहरु आएर विदेशमा बस्नुभएको छ । उहाँहरुलाई व्यवस्थित र संगठित गर्न नै पार्टीले मेहनत गर्नुपर्छ ।

धेरैतिर छरालियौं भने विदेशतिरै फस्न सक्छौं । नेपालतिर जनता माझ गाउँ–गाउँमा पनि जान सक्नुपर्छ । हाम्रो समयलाई पनि ख्याल गर्नुपर्छ । त्यही गर्ने नै हो भने पनि पार्टीको विधि र विधानले त चल्नुपर्‍याे  नि । पार्टीको विधानमा आउनुपर्‍याे । पार्टीको महासमितिमा आउनुपर्‍याे  । पार्टीको केन्द्रीय कार्य समितिमा आउनुपर्‍याे, त्यसले स्वीकार गर्नु पर्‍याे । आफ्नो मनलागी ढंगले चल्नुभएन । यसलाई धेरै लामो गराएर मलाई त्यतातिर नतान्नुहोस् ।

तपाई लम्जबर्ग, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीटजरल्याण्ड जहाँ–जहाँ पुग्नुभएको छ, त्यहाँ पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचनासहित विभिन्न आरोपहरुसमेत लगाउनु भयो । पार्टी नेतृत्वको कार्यशैलीका कारण तपाई साँच्चै विरक्तिनुभएको हो ?

त्यस्तो आलोचना गरेजस्तो त मलाई लाग्दैन । कहीँकतै प्रसंगमा जोडिन आए होलान् । कटू यथार्थ कुराहरु अभिव्यक्त हुनु स्वाभाविक पनि हो । तर, मैले त्यस्तो चर्को आलोचना गर्दै हिँडेको पनि छैन, हिँड्न आएको पनि होइन ।

मुख्य कुरा के हो भने कांग्रेसको सिद्वान्तले जित्ने, तर कांग्रेस चुनावमा हार्ने, यो अत्यन्त विडम्वनापूर्ण अवस्था व्यहोर्नु पर्‍याे । पार्टी नेतृत्व र हामीमा कतै पार्टीको सिद्धान्तमा मेल नखाने कुरा आए कि ? यसबारे सोचौं । विश्लेषण गरौं । आत्मसमीक्षा गरौं । मान्छेमा गल्ती हुन्छ, तर त्यसलाई महसुस गरेर अघि बढ्न सक्नुपर्छ । गल्तीलाई ढाकछोप गर्दै झनझन् गलत बाटोतिर हामी गयौं भनेदेखि कहाँ पुगिन्छ भन्ने मात्रै मेरो चिन्ता हो ।

तर, पार्टी नेतृत्वले विधिविधान मिचेको, पार्टीलाई कमजोर बनाउँदा लज्जास्पद हार व्यहोरेको र त्यसलाई नस्वीकारेको अनि आफ्नै गुटको संरक्षणसहित ढिला गरी पदाधिकारी मनोनयन गरेको लगायतका थुप्रै आरोपहरु तपाईले सभापति देउवामाथि लगाउनुभएको त छ नि ?

ती आरोपहरु त मैले लगाएको हैन, पार्टीमा सबै साथीहरुले भनिराखेका कुराहरु हुन् । यी आरोपहरु सामान्य भइसके । यसलाई खरो आलोचना भनेर मात्र बुझ्न भएन, आत्मसमीक्षाका रुपमा लिनुपर्छ । अनि मात्र हामी सुध्रिन्छांै । सुध्रेनौं भने हामी सकिन्छौं ।

चुनावमा पार्टी पराजयको जिम्मा त सिंगो केन्द्रीय कार्य समितिले लिइसकेको छ नि । अब सभापतिलाई मात्रै दोष लगाएर हुन्छ र ?

पार्टी सभापतिको नाताले यो हारलाई स्वीकार गर्छु भनेर उहाँले एउटा महानता देखाउनुपर्ने थियो । तर, उहाँबाट त्यस्तो भएन ।

त्यसोभए पराजयको जिम्मा सभापति देउवाले लिने गरी किन प्रस्ताव पास गर्न सक्नुभएन ? महामन्त्री डा. शशांक कोेइरालाले पनि तपाईलाई साथ नदिनुभएको हो ?

उहाँले साथ नदिएको होइन । उहाँ अलिकति सज्जन मान्छे हुनुहुन्छ । उहाँ धेरै विवादमा आउन चाहानुहुन्न । यसो गर्न मन पराउनुहुन्न, त्यति मात्रै हो । उहाँले साथ नदिएको वा त्यसको विपरीत बाटोमा गएको वा मैले भनेको कुराको उल्टो गएको भन्नेचाहिँ होइन ।

पार्टीमा कोइरालाको भूमिकाबारे तपाईको टिप्पणी के छ ? अलिकति सभापतिलाई सजिलो–सजिलो र तपाईलाई अप्ठ्यारो–अप्ठ्यारो पार्दै गएजस्तो लाग्दैन ?

उहाँको व्यक्तिगत स्वाभावका कारणले यस्तो भएको हुन सक्छ । नियत खराबचाहिँ मलाई लाग्दैन ।

पार्टीमा ढीलो गरी भएको पदाधिकारी मनोनयनका बारेमा तपाईको टिप्पणी के छ ?

नियत राम्रो राखेर कांग्रेसभित्र योगदान दिएका, पार्टीका लागि मर्न मेट्न तयार भएका साथीहरु नजिक र टाढाका भन्दा पनि को उपयुक्त छ भनेर अलि सहजरुपले लिइदिएको भए यो ढिलो पनि हुने थिएन । यसलाई असहजरुपले लिन खोज्दा यो अलिकति लम्बिएको कुरा सभापतिजीले महसुस गर्नुपर्छ ।

सबैलाई मिलाएर जाउँ, को–को राख्दा ठीक हुन्छ भन्नेबित्तिकै सुरुको एक/दुई महिनाभित्रै सबै सम्भव थियो । अरु हिसाब–किताब गर्न थाल्दाखेरि नै लम्बिन पुग्यो ।

पार्टीलाई नयाँ सन्दर्भमा परिवर्तन अनुकूलको बनाउनुपर्छ भन्दै हिँड्नुभएको छ, १४ औं महाधिवेशनको तयारी तपाईले अहिलेदेखि नै थाल्नुभएको हो ?

अहिले आफूलाई प्राथमिकतामा राख्ने होइन, पार्टीलाई प्राथमिकतामा राखाैं । पार्टीभित्र केही विकृतिहरु घुसेका छन् । कमजोरीहरु देखापरेका छन्, यिनलाई कसरी सच्याउने ? बेलाबेलामा हाम्रा साथीहरुका पनि विभिन्न अभिव्यक्तिहरु आइसकेका छन् । म उहाँहरुलाई संयमित रहन आग्रह गर्दछु ।

पार्टी अहिले ठूलो संकटमा छ । पार्टीमाथि ठूलो चुनौती आएको छ । अब के गर्दा कांग्रेस संकटबाट माथि उठ्न सक्छ, त्यतापट्टि ध्यान दिउँ । अहिले आफू–आफू मात्र भन्न थाल्यौं भने, म…म भनेर हिँड्न लाग्यौं भने पार्टी गौण हुन्छ । पार्टीको कमजोरी जहाँको त्यहीँ रहन्छ र पार्टीले प्रगति गर्न सक्दैन ।

डेमोक्रेसीको मसिहा बनेर कांग्रेसले यो देशलाई हाँक्ने हैसियत बनाउनेपट्टि बढी चिन्ता गरौं । अहिले म फलानो पदमा लड्छु, ढिस्कानो पदमा लड्छु भन्नेतिर नलागौं भनेर साथीहरुलाई संयम राख्न म अनुरोध गर्दछु । पहिले पार्टी बनाउनेतर्फ लागाैं ।

तर, तपाईंले यसो भनिरहँदा महामन्त्री डा. शशांक कोेइरालाले पार्टी नेतृत्व सम्हाल्न तयार भएको बताइसक्नुभएको छ नि ? आगामी महाधिवेशनमा महामन्त्री कोइरालाले तपाईलाई साथ दिनुहुन्छ वा तपाईसँगै प्रतिस्पर्धा गर्न मैदानमा आउनुहन्छ ?

मलाई त्यस्तो लाग्दैन । अलि–अलि आकांक्षा नभइकन त राजनीतिमा मान्छे कसरी लाग्छन् र ? केही न केही आकांक्षा सबैसँग हुन्छन् । कहिँलेकाहीँ अरुले उकासिदिन्छन्, त्यो मात्रै हो । भोलि गएर सधैँ त्यही क्लेस नै भइराख्छ भन्ने म ठान्दिनँ ।

नेपाली कांग्रेस सात दशक पुरानो प्रजातान्त्रिक पार्टी हो । तर, चुनावमा कांग्रेसीले कांग्रेसीलाई नै हराएको धेरै देखियो । अब कांगेसले कांग्रेसलाई सघाउने र जिताउने दिन कहिले आउला ?

नयाँ वातावरण सिर्जना गर्न सक्नुपर्‍याे । सबैको ध्यान सीमित स्वार्थ र आफ्ना गुटहरुप्रति छरालिएको छ । यसलाई मिसनप्रति कसरी ल्याउने र उन्मुख कसरी गराउने भनेर कोशिस गर्नुपर्छ । म त्यही प्रयासमा छु । हाम्रो मूल लक्ष्यमा केन्द्रित बनाैं । त्यतातिर ध्यान दिउँ भन्ने मेरो कोशिस छ । अब कति सफल भइन्छ, हेराैं न ।

नेपाली कांग्रेस मातृकाप्रसाद, वीपी, सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसाद हुँदै शेरबहादुर देउवा र राममचन्द्र पौडेलसम्म गुटबन्दीमै आइपुग्यो । गुटको मात्रै नभएर सबै कांग्रेसीहरुको नेता कहिले बन्ने ?

नेपालको राजनीतिमा हेर्नुहोस्, नेपाली कांग्रेस यस्तैमा गुज्रेर आयो । तपाईले आफैंले भनिहाल्नु भो, मातृका, वीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद, अब यो अलिअलि चाहिँ राजनीतिको चरित्र पनि हो । पार्टी गुटबन्दीबाट मुक्त भएर निर्विवाद रुपमा अगाडि बढेको त इतिहासमा नै देखिएको छैन ।

हाम्रो पार्टी मात्र हैन, कम्युनिष्ट पार्टीहरु कति टुक्रामा बाँडिए ? फेरि जुटे । नेपालको राजनीतिमा जुट्ने र फुट्ने प्रक्रिया अरु मुलकमा भन्दा बढ्ता नै भएको हो कि भन्ने लाग्छ ।

कांग्रेसलाई मुलुककै पुरानो र प्रजातान्त्रिक पार्टी भन्नुहुन्छ, तर अरुको तुलना गरेर उनीहरु फुटे, जुटे भन्दै हामीले यतिसम्म त गर्न पाइयो भन्न मिल्छ ?

अब हेर्नुहोस्, भारतको प्रजातान्त्रिक पार्टी नेशनल कांग्रेस त्यसमा कति टुटफुट भए ? मान्छेको व्यक्तिगत स्वाभाव, समाज र आकांक्षाहरुले त्यहाँ संघर्ष हुन्छ । यसलाई सहज लिनुपर्छ । बरु टुटफुट, गुट–उपगुट भन्नेबित्तिकै अत्तालिनु हुँदैन । त्यसलाई म्यानेज गरेर लैजानुपर्छ

तपाईंले त वीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद धेरैको संगत गर्नुभयो । तर, अहिलेसम्म न पार्टीको सभापति नै बन्नुभएको छ, न त प्रधानमन्त्री नै । नेपालको राजनीतिक इतिहासकै एक अभागी नेता हुँ जस्तो लाग्दैन ?

भाग्यमानी र अभागी भन्ने कुरामा म ज्यादा ध्यान दिने मान्छे होइन । के भन्छ गीताले ? ‘कर्म गर, फलको आशा मात्रै नगर ।’ आफ्नो कर्तव्य नै जीवन हो । कर्तव्य पालना गर्दै जाने हो । जे पाइन्छ, त्यहीअनुसार आफ्नो काम गर्ने हो । मैले योभन्दा बढ्ता चिन्ता लिन थालें भने म आफैं उद्देश्यबाट विचलित हुन्छु भन्ने थाहा छ ।

त्यो उद्देश्य भनेको पार्टी सभापति बनेरै छाड्छु भन्ने हो ?

लक्ष्य मेरो त्यो होइन । लक्ष्य मेरो एउटा सिष्टम हो, व्यवस्था हो । मेरो लक्ष्य एउटा त्यस्तो समाज हो, फ्री जस्ट सोसाइटी’ नेपालमा कायम होस् । स्वतन्त्र न्यायपूर्ण समाज नेपालमा कायम होस् । प्रगतिशील समाज नेपालमा कायम होस् । उन्नति गर्ने बाटोतिर नेपाल जान सकोस् । मिसनचाहिँ त्यही हो । यसमा मेसो मिलाइदिउँ देशलाई भन्ने मलाई लाग्छ ।

तर, तपाईले भनेजस्तो त्यो मिसन पूरा गर्न तपाई पार्टी र सरकारको नेतृत्वमा पुग्नैपर्‍याे नि । त्योविना कसरी सम्भव होला ?

काम गर्दै जाने हो । पार्टीमा साथीहरुलाई मेरो कुन ठाउँमा आवश्यकता महशुस हुन्छ, म त्यही ठाउँमा बसेर काम गर्ने हो ।

तपाईंले अझै पनि कार्यकर्तामाझ पुगेर अब पार्टीको नेतृत्वका लागि म तयार छु, नयाँ ढंगले चलाउँछु, संकटबाट पार्टीलाई जोगाउँछु भन्न नसक्नु भएकै हो ?

मैले यस्ता कुराहरुको घोषणा गर्दै हिँड्नुपर्ने कुनै आवश्यकता देख्दिनँ । मैले १३ औं महाधिवेशनमा नै मेरो र शेरबहादुरजीका वीचमा सम्वाद हुँदा उहाँले तपाई प्रधानमन्त्री हुनुहोला, पार्टी सभापतिमा मलाई समर्थन गर्नुहोस् भन्नुभएको थियो । तर, तपाई चार पटक, पाँचपटक जतिसुकैपटक प्रधानमन्त्री हुनुहोस्, पार्टी तपाईबाट भन्दा मबाट राम्रो सम्हालिन्छ भनेकै थिएँ ।

तर, उहाँले सभापतिमा चुनाव लड्छु भन्नुभो । चुनाव पनि जित्नु भो । सबैतिरको साथ पाउनु भयो । सबै किसिमका शक्तिकेन्द्रहरुले उहाँबाट नै अनुकुल हुने ठाने र उहाँ सभापति बन्नुभयो । मैले पार्टीको बेहाल नहोस् भनेको हो, तर आज यो स्थिति भयो ।

तपाईं अब यो अवस्थामा पुगेको पार्टीलाई सुधार्नुपर्छ भन्ने लाग्नुभएको हो ?

त्यही हो । अब गल्ती दोहोरिनुहुन्न । त्यो ‘म्यान्डेड’ गलत रहेछ भन्ने कुरा अहिले आएर सिद्ध भएको छ । अब त्यसलाई करेक्सन गरेर जाने हो । पार्टीले करेक्सन गर्नुपर्छ ।

कांग्रेसको आन्तरिक विषयमा यति कुरा गरिसकेपछि अब कम्युनिष्ट सरकार र प्रधानमन्त्री केपी ओलीका बारेमा केही भनिदिनुहोस् न…

केपी ओलीजीले भन्नुहुन्थ्यो, वास्तवमा लोभलालच केही छैन । त्यस्तो अरुलाई पनि गर्न दिन्न । स्याबास ! तपाईले राम्रो कुरा गर्नुभो, मैले पनि सोचेको यही हो भनेर शुभकामाना दिएकै हुँ ।

सुशासनको सुरुवात प्रधानमन्त्रीबाट नै हुनुपर्छ । जसलाई कार्यकारी अधिकार छ, त्यहाँबाट नै सुध्रिनुपर्छ । आज तपाईले त्यही कुरा गर्नु भो, मलाई चित्त बुझ्यो, म स्वागत गर्छु मैले भनेकै थिएँ । उहाँ त्यही अनुसार अगाडि बढ्दै जानुभएको भए राम्रो हुन्थ्यो । तर, अहिलेचाहिँ कतिपय स्क्याण्डलहरु भइराखेका छन् । जो सुन्नमा आएका छन् । महालेखा जस्ता संस्थाहरुले पनि आधारिक रुपमा भनिसकेका छन्। त्यसले गर्दा देशले अझै सुशासनको मेलो नसमातेको अनुभुति भइराखेको छ ।

तपाईंले जहाज खरिद प्रक्रियाको कुरा गर्न खोज्नुभएको हो ?

हो त । वाइड बडीको यत्रो ठूलो ईस्यु आएको छ । त्यसलाई छानविन गर्नुहोस् भनेर म भन्छु । अब न्यायिक छानविन गर्नुहोस् भन्दा उहाँहरुले गर्नुहुन्न । सरकार किन हिच्चकिच्चाएको छ, बुझ्दिनँ ।

सरकारको सात महिनाको प्रगति विवरण हेर्दा तपाईलाई कस्तो लाग्छ ?

विकासका ठूलाठूला गफमात्रै भए । मान्छेहरुलाई सपना देखाउने काम मात्र भए । ६ महिनामा जे–जे कामलाई प्राथमिकतामा राखेर सुरु गर्नुपर्थ्यो, त्यसो भएन । अलि नजानेको हो कि ! बिहानले दिउँसोलाई बताउँछ भनेजस्तै सुरुवात त्यति उत्साहजनक देखिएको छैन ।

अन्त्यमा, पौडेलजी भनिदिनुहोस् न, अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको रणनीति के हुन्छ ? कम्युनिस्टहरु फुट्छन् र फेरि हाम्रै पालो आउँछ भनेर कुर्ने पो हो कि ?

म कांग्रेसका साथीहरुलाई के भन्छु भने कम्युनिस्टहरुमा अन्तरद्वन्द आउला र सक्किएलान् अनि हाम्रो पालो आउला भन्ने सोचेर नबस्नू । यस्तो सोचियो भने ठूलो आत्मघात हुन सक्छ । कम्युनिस्ट असफल हुँदा अर्कै शक्ति पनि आउन सक्छ ।

त्यसकारण कांग्रेसले त आफूलाई सक्षम र सबल बनाउने हो । कमी कमजोरीलाई सुधारेर जनताका वीचमा जाने हो । कांग्रेसले जनताको स्वार्थसँग आफूलाई गाँस्ने हो । कर्मशील बनेर देशलाई आफैं हाँक्ने हिम्मत राक्नुपर्छ । त्यसैले कम्युनिस्ट फेल होलान् र हाम्रो पालो आउला भन्ने सोच्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment