Comments Add Comment

सुन तस्करी प्रकरण : गोरेका सहयोगीलाई थुनामै राख्ने आदेश

१० असोज, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अरोपमा थुनामा रहेका तीनजनालाई उच्च अदालतले थुनामै राख्ने आदेश दिएको छ ।

मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र एलबी भनिने लालबहादुर मगरलाई थुनामा राख्ने जिल्लाको आदेशलाई उच्च अदालतले पनि सदर गरेको हो ।

बुधबार उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा र उमेशराज पौडेलको इजलासले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र काकी थुनामा राख्ने आदेश दिएको हो । काफ्ले र कार्कीलाई गोरेसहितको समूहले साढे ३३ किलो सुन लुकाएको आरोपमा यातना दिएको थियो ।

मोरङ उर्लाबारीको जंगलमा कार्की, काफ्ले र मृतक शाक्यलाई गोरे सहितको समुहले सँगै राखेर करेन्ट लगाएर यातना दिएको थियो । सनम शाक्यको शव विराटनगरबाट बरामद गर्दा काफ्ले, कार्कीलाई र टेकराज मल्ल ठकुरी पक्राउ परेका थिए ।

त्यस्तै सोमबार उच्च अदालत विराटनगरका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त्त इजलासले थुनामा रहेका एयरलायन्स कर्मचारी एलबी भनिने लालबहादुर मगरलाई थुनामा राख्ने जिल्ला आदेश नै सदर गरेको थियो ।

सुन तस्करी प्रकरणमा जिल्लाको आदेश पछि थुनामा रहेका निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसी प्रजित केसी गोरेका सहयोगी भनिएका रामुकमार तिवारीलाई उच्च अदालतले थुनामा राख्नुपर्ने आधार नभएको भन्दै छाड्ने आदेश दिएको थियो ।

उच्च अदालतमा निवेदन दिनेमध्ये टेकराज मल्ल, लाक्पा शेर्पा, राजनकुमार, महाबिर गोल्यान, बिष्णुबहादुर खडका, अम्मरबहादुर थापा, सम्बिरप्रसाद तोलाङ्गे, तुलाराम थारु, पुण्यप्रसाद लामा, हेमन्त गौतम र राजन थापा, डिएसपी सञ्जयबहादुर राउतलगायतलाई थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिइसकेको छ । गत जेठ ८ गते जिल्ला अदालतले उनीहरुलाई थुनामा राख्ने आदेश दिएको थियो ।

जिल्लाको आदेश बेरितको भएको भन्दै उल्टाउन माग गर्दै निवेदन दिनेमध्ये १७ जनाको हकमा उच्चबाट अन्तिम आदेश आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment