११ असोज, काठमाडौं । एसिड आक्रमणमा परेर ज्यान गुमाएकी १७ वर्षीय सम्झना दासको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ ।
रेज अगेन्स्ट एसिड भिक्टिमस् ह्यासट्याग समूहले बिहीबार साँझ माइतीघर मण्डलामा मृत आत्माको चीरशान्तिको कामना गर्दै कार्यक्रम आयोजना गरेको हो ।
चन्द्रनिगाहपुर-६, रौतहटकी सम्झनाको सोमबार उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । सम्झना र उनकी बहिनी सुस्मितामाथि २६ भदौ राति एसिड प्रहार भएको थियो । उनीहरूलाई एसिड प्रहार गरेको आरोपमा छिमेकी रामबाबु दासलाई प्रहरीले पक्राउ गरेको छ ।
सुस्मिताको कीर्तिपुर अस्पतालमा उपचार जारी छ । उनका बाबु जादोलाल दास सुस्मितालाई अस्पतालमा छाडेर सम्झनाको सदगतका लागि रौतहट गएका छन् । उपचारका लागि आर्थिक अभाव रहेको जादोलाल बताउँछन् ।
विभिन्न निकायले सहयोगको प्रतिबद्धता जनाई सकेको रकम पनि पीडित परिवारले पाइनसकेको दीप प्रज्लवन कार्यक्रमका वक्ताहरूले बताए ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4