Comments Add Comment

नानाको निदहराम, तनुश्रीको सपोर्टमा प्रियंकादेखि स्वरासम्म

बलिउड अभिनेता नाना पाटेकरले सोचेका पनि थिएनन् होला कि १० वर्ष पुरानो घटनाले उनलाई यतिबेला दुख दिनेछ । तर, भयो त्यस्तै । नायिका तनुश्री दत्ताले दशक पुरानो घटना कोट्याएर उनको निदहराम गरिदिएकी छन् । यौन दुव्र्यवहारको गम्भीर आरोपले नानाको अनुहारमा कालो पोतिएको छ ।

तनुश्रीका अनुसार एउटा फिल्मको सुटिङका क्रममा नानाले उनीमाथि यौन आशक्ति देखाएका थिए । एउटा गीतको सुटिङका क्रममा नानाले आफूसित अस्वभाविक रुपले नजिकिएको र गलत ठाउँमा समातेको तनुश्रीको आरोप छ ।
यस प्रकरणमा बिस्तारै अन्य बलिउड सेलिब्रिटीहरुले मुख खोल्न थालेका छन् । धेरैको सहानुभूति तनुश्रीप्रति देखिएको छ । प्रियंका चोपडादेखि स्वरा भास्करसम्म उनको पक्षमा छन् ।

यसअघि आमिर खानले यो घटनाको विषयमा अनुसन्धान हुनुपर्ने बताएका थिए । त्यसपछि अभिनेता तथा निर्देशक फरहान अख्तरले टि्वटरमा आफ्नो भनाई राखे । उनले एक पत्रकारले तनुश्रीको समर्थनमा लेखेको टिप्पणी सेयर गर्दै भनेका छन्, ‘तनुश्री सत्य छिन् । उनीसँग आफ्नो करिअरको सुरक्षाका लागि यो घटनालाई गुपचुप राख्ने विकल्प थियो । तर, उनी हिम्मत गरेर अगाडि आइन् । उनको नियतमा प्रश्न उठाउनु हुँदैन ।’

फरहानको यो स्टाटसलाई नायिका प्रियंका चोपडाले सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘म सहमत छु । संसारले उनलाई विश्वास गर्नुपर्छ ।’ यसैगरी अभिनेत्री ऋचा चड्डाले टि्वट गरेकी छन्, ‘कुनै पनि महिलाले यस्तो खालको पब्लिसिटी चाँहदैन जसका लागि उनले ट्रोलिङ र असंवेदनशीलताको शिकार हुनुपरोस् । उनीमाथि सेटमा जे भयो, त्यो त्राशदीपूर्ण थियो । उनको गल्ति यही हो कि उनी चुप बसिनन् । तनुश्री दत्ता हुनका लागि ठूलो हिम्मत चाहिन्छ ।’

अभिनेत्री स्वरा भास्कर त झन् यसमा चुप बस्ने कुरै भएन । उनले तनुश्रीको समाचार सेयर गर्दै लेखेकी छन्, ‘म उनलाई विश्वास गर्छु ।’ अभिनेता अमिताभ बच्चनले भने यस विवादमा मुख खोलेका छैनन् । हालै एक कार्यक्रममा पत्रकारहरुले उनलाई यो विषयमा प्रश्न गर्दा पन्छिएका थिए । त्यसैगरी अभिनेता सलमान खानले पनि यस विषयमा गोलमाल उत्तर दिएका छन् ।

नानाले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन् । उनले एक अन्तरवार्तामा भने, ‘१ सय जना मानिसहरुको बीचमा कसरी यौन दुव्र्यवहार हुन सक्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment