काठमाडौं / अभिनेत्री रेखा थापाद्वारा निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’ को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । फिल्मले छोरीमाथि हुने सामाजिक विभेदको मुद्दालाई उठाएको देखिन्छ ।
चलचित्रको केन्दि्रय पात्रमा छिन्, जाजरकोटकी १४ वर्षीया किशोरी कमला वली । उनको भूमिका बेदनामय छ । चलचित्रमा नायक कोही छैन । रेखा थापा स्वयम् ‘नायकीय’ रुपमा देखिन्छिन् ।
रेखाले यसपाली केही फरक ट्राई गरेको ट्रेलर हेर्दा महसुस हुन्छ । यद्यपि, आफ्नो एक्सनमोह भने यसमा पनि त्याग्न सकेकी छैनन् । बाँके, जाजरेकाट तथा काठमाडौं र कर्णाली राजमार्गको परिबेशमा चलचित्र खिचिएको छ ।
ट्रेलरमा केही राम्रा संवादहरु छन् । जस्तैः
– डरको आँखामा यसरी आँखा जुँधाएर हेर, ताकि डर पनि तिमीसँग डराउन थालोस्
– आफन्त ती होइनन्, जो तिमी रोएको बेला आउँछन्, आफन्त ती हुन् जसले तिमीलाई रुन दिदैनन्
– जव एउटा छोरीभित्रको नायक व्यूँझन्छ, इतिहास क्षणभरमा फेरिन्छ
– डर निर्धा र निर्धनको होइन, डर त यहाँ शिक्षित र सम्पन्नताको खोल ओढ्नेहरुको छ
– पहिले मान्छे बनेर देखाउ, छोरी मान्छे त्यसपछि बन्ने
– ‘अरुले बनाएका खेल अनि अरुले नै बनाएका नियम, खेल्ने रहर तिम्रो
राइजिङ मलको क्यूज हलमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको थियो । कार्यक्रममा निर्देशक तथा अभिनेत्री रेखाले मालिका महिलामाथि हुने हिंसाविरुद्धको लडाइँ भएको बताइन् ।
‘सायद केही महिनाअघि यो चलचित्र आएको भए कन्चनपुरकी निर्मला पन्तले आफ्नो जीवन रक्षा गर्न सिक्ने थिइन्,’ उनले दावी गरिन् ।
रेखाले निर्माण गरेको पाचौं चलचित्र ‘मालिका’ आगामी कात्तिक १६ गते रिलिज हुने छ । यसको ‘हल्का माया के माया’ बोलको गीत हिट भइसकेको छ ।
प्रतिक्रिया 4