+
+
Shares

बुवा बाढीमा बगे, ११ वर्षीया छोरी किरिया गर्दैछिन्

हात समातेर विद्यालय जाने, रहरहरू भन्ने र साथीभाइसँग खेल्दै रमाउने उमेरमा ११ वर्षीया खुश्वु कार्की भोटेकोशी बाढीमा बेपत्ता बुवाको किरिया गर्न विवश छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १६:०७

१९ भदौ, सिन्धुपाल्चोक । बुवाको हात समातेर विद्यालय जाने उमेरमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ की ११ वर्षीया खुश्बु कार्की तिनै बुवाको किरिया बस्न विवश भएकी छिन् ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बुवा पदम कार्की बेपत्ता भएपछि खुश्बु आफ्नो संस्कारअनुसार किरिया बसेकी हुन्।

परिवारकी जेठी छोरी १४ वर्षीया खुशी कार्की स्वास्थ्यका कारण बुवाको किरिया बस्न नसक्ने भएपछि कान्छी छोरी खुश्बु आफैं अघि सरेकी हुन् ।

हेलम्बु गाउँपालिका मेलम्चीघ्याङमा कक्षा ६ मा अध्ययनरत खुश्बु कोराभित्रै बुवालाई सम्झँदै रोहिरहेकी छिन्।

उमेर सानो छ, तर उनको मनमा बुवाको सम्झना र पीडाको भारी ठूलो छ। काजकिरियामा बसे पनि खुश्बुको मनमा अझै एउटा सानो आशा जीवितै छ– कतै बुवा फर्किएर आउनुहुन्छ कि !

‘म छोरी भए पनि बुवा बेपत्ता भएपछि सामाजिक परम्पराअनुसार किरिया बसेकी हुँ,’ उनले भावुक हुँदै भनिन्, ‘१३ दिनको काम गर्नु मेरो कर्तव्य हो। बुवाको १३ दिनको कामकाज गर्दा उहाँले मोक्ष पाउनुहुन्छ भन्ने लागेर आँट गरेकी हुँ। दाजुभाइ नभए पनि बुवाको शोकमा मैले जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने लाग्यो।’

आफ्नै मनले अह्राएअनुसार परम्परा अँगालेर काजकिरियामा बसेकी खुश्बुले आफूले लिएको जिम्मेवारी सहज नभएको बताइन्।

‘मेरो कापी–किताब बोकेर स्कुल जाने उमेर हो हो। तर जिम्मेवारीले थिचेपछि यो काम पूरा गर्न लागेकी हुँ,’ उनले भनिन्, ‘किरिया बसेको बेला कतै बुवा फुत्त आइहाल्नुहुन्छ कि जस्तो पनि लाग्छ।’ उनी बुवा आउने आशले कोरा बसेकै अवस्थामा बाटोतिर हेरिरहेकी हुन्छिन्।

बुवाको शवसमेत फेला नपरेको अवस्थामा काजकिरिया गर्नुपर्दा खुश्बुको मनमा पीडा र अन्योल दुवै छ। बुवा जीवितै हुनुहुन्छ कि छैनन् भन्ने यकिन नहुँदा परिवारका सदस्यहरू पनि गहिरो शोकमा छन्।

तर, हिन्दु संस्कारअनुसार बुवाप्रतिको कर्तव्य पूरा गर्नुपर्छ भन्ने भावनाले उनी आफैं कोरा बसेकी हुन्।

परिवार पाल्ने मुख्य आधार थिए पदम । उनी करिब दुई दशकदेखि भ्यान चलाउँदै आएका थिए। सामान्य आर्थिक अवस्था रहेको कार्की परिवारको घरखर्च चलाउने र दुई छोरीको पालनपोषण गर्ने मुख्य आधार नै पदमको ड्राइभिङ पेसा थियो।

दुई छोरीका लागि पदम केवल बुवा थिएनन्, सिंगो परिवारको भरोशा र भविष्यका आधार थिए। छोरीहरूलाई पढाउने, घरखर्च जुटाउने र परिवारको भविष्य बनाउने जिम्मेवारी बोकेर उनी वर्षौंदेखि गाडीको स्टेयरिङ समाउँदै आएका थिए।

परिवारको भविष्यका लागि गरेको त्यही यात्रा अहिले कार्की परिवारका लागि जीवनकै सबैभन्दा पीडादायी बनेको छ।

रसुवाबाट काठमाडौं सामान ल्याउँदै गर्दा पदम भदौ १० गते आएको भीषण बाढीपछि सम्पर्कविहीन भए।

पदम घर फर्किने बाटो हेर्दै बसेका परिवारका सदस्यका लागि बितेको हरेक दिन झन् कठिन बन्दै गएको छ। न खुश्बुलाई बुवाको अवस्था के भयो भन्ने थाहा छ न त शव फेला परेको छ ।

उनका लागि यो उमेरमा काजकिरिया भन्ने शब्दको अर्थभन्दा पनि बुवाको अभाव ठूलो छ।

छोरीले निभाएको कर्तव्य

बुवाको मृत्यु पुष्टि नभएकै अवस्थामा खुश्बुलाई किरियामा राख्ने निर्णय परिवारका लागि सहज थिएन। तर बुवाप्रतिको कर्तव्य पूरा गर्न आफू तयार रहेको उनी बताउँछिन्।

उमेरले ११ वर्ष मात्रै पुगेकी खुश्बुले बुवाको सम्झनामा गरेको यो कर्म परिवारका लागि भावुक क्षण बनेको छ।

बाढीले धेरै परिवारलाई आफन्तविहीन बनाएको छ। धेरै घरमा आज पनि बेपत्ताको खोजी जारी छ। आफन्त फर्केर आउने आशामा धेरै परिवार दिनरात बाटो हेरिरहेका छन्।

त्यही पीडाको एउटा प्रतिनिधि कथा बनेकी छिन् खुश्बु। बुवाले परिवार पाल्न वर्षौंसम्म गाडी चलाए। छोरीहरूको भविष्यका लागि संघर्ष गरे। परिवारको सुखका लागि आफ्ना रहर थाती राखे। तर परिवारको सहारा बनेका पदम आज आफैं परिवारका लागि सम्झना र प्रतीक्षा बनेका छन्।

कोरा बसेकी छोरी खुश्बु एउटै कुरा भनिरहेकी छिन्, ‘बुवा फर्केर आउनुहोस्, म तपाईंलाई कुरिरहेकी छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?