Comments Add Comment

बुटवल आएर गृहमन्त्रीले क-कसलाई देखे शत्रु ?

१३ असोज, बुटवल । गृहमन्त्री रामबहादुर थापा बादलले कर्मचारी प्रशासन (ब्युरोक्रेसी), अदालत, राजनीतिक दल, व्यवसायी र दलाल पुँजीवादलाई जनताका शत्रु भनेका छन् । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यालाई राजनीतिकरण गरेर निहुँ खोजिएको दावी समेत गरेका छन् ।

गृह मन्त्रालयको आयोजनामा ‘लागु औषध निषेध, मदिरा नियन्त्रण तथा महिला र बालबालिका हिंसा न्यूनिकरण’सम्बन्धी कार्यक्रममा गृहमन्त्री थापाले ब्युरोक्रेसी, अदालत, राजनीतिक दल, व्यवसायी, दलाल पुँजीवाद सबैलाई जनताका शत्रुका रुपमा चित्रित गरेका हुन् । वर्तमान सरकारले अघि समृद्धि र विकास तथा समाजवादको मार्गमा जनताका शत्रु वाधक रहेको तर्क गर्दै उनीहरुलाई चिनेर कठोर कारवाही गर्नुपर्ने खांचो औंल्याए ।

‘राजनीतिक दल, ब्युरोक्रेसी, अदालत जताततै दलाल पुँजीवाद, सामन्तका एजेन्टका रुपमा जनताका शत्रु छन्’ उनले भने, ‘जनताका शत्रुलाई कठोर कारवाही नगरेसम्म समृद्धि पनि आउँदैन, समाजवाद पनि आउँदैन ।’

राजस्व ठग्ने तस्कर व्यवसायी, वैदेशिक रोजगारीका नाममा सर्वसाधारणको घरखेत खाइदिने ठग म्यानपावर व्यवसायी, कमसल सडक बनाएर दुर्घटना निम्ताउने ठेकेदार, जनताको करबाट तलब खाएर राम्रोसग डिजाइन/इस्टिमेट नगर्ने इन्जिनियर र भ्रष्ट कर्मचारी पनि जनताका शत्रु भएको भन्दै उनले सरकार र जनता मिलेर समाप्त पार्नुपर्ने बताए ।

लागु औषध, मदिरा र महिला तथा बालबालिका हिंसाविरुद्ध ७ सय ५३ वटै स्थानीय तहका वडा तहबाटै अभियान चलाउनुपर्ने उनको जोड छ । सरकारले कानुन बनाएर लागु औषध, मदिरा र महिला तथा बालबालिका हिंसा न्युनिकरण गर्ने योजना बनाएको गृहमन्त्रीको भनाइ थियो । ‘बलात्कारीलाई फाँसी दिनुपर्ने, नपुंसक बनाउनुपर्ने सुझाव पनि आएका छन्, यसले गर्दा ऐनमा सुधार गर्नुपर्ने भएको छ’ गृहमन्त्रीले भने ।

गृहमन्त्री थापाले कञ्चनपुर घटनाको प्रसंग कोट्याउँदै राजनीतिकण गरेर निहुँ खोज्ने काम भएको बताए । ‘पहिला पनि बलात्कार र हत्याका घटनाहरु भएकै थिए तर, निर्मलाको केसमा निहुँ खोज्न राजनीतिकरण भइराखेको छ’ उनले भने ।

९० प्रतिशत घटनामा प्रहरीले दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याएको गृहमन्त्रीको दाबी छ । एक वर्षमा लागु औषधको कारोबार र सेवनलाई ९० प्रतिशतले र मदिराको सेवनलाई ५० प्रतिशत कम गराउने लक्ष्यसहित काम भइरहेको गृहमन्त्री थापाले जानकारी गराए ।

रुपन्देही लागु औषध कारोबारको ठूलो अखडा भएको टिप्पणी गर्दै रुपन्देहीबाटै यसविरुद्ध रोलमोडलको रुपमा काम गरेर देखाउने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ७ प्रतिशत अपराध मदिरा सेवनका कारण हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment