+

प्रशिक्षण क्याम्प छाडेको प्रकरणमा रोनाल्डोलाई ३० दिनको निलम्बन

२०८३ कात्तिक  ३ गते ८:४७ २०८३ कात्तिक ३ गते ८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले ३० दिन निलम्बन र २५५ युरो जरिवाना गरेको छ।
  • ४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुईपटक वचन तोडेको आरोप लगाउँदै टोली छाडेका थिए, तर जेसुसले कुनै सम्झौता नभएको अस्वीकार गरेका छन्।
  • निलम्बन अक्टोबर १ देखि लागू भएकाले रोनाल्डोले ३० दिनमध्ये १९ दिनको सजाय भुक्तान गरिसकेका छन् र पोर्चुगलका आगामी खेल गुमाउने छैनन्।

३ कात्तिक, काठमाडौं । पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले ३० दिन निलम्बन गरेको छ। महासंघले उनलाई २५५ युरो जरिवाना पनि गरेको छ।

४१ वर्षीय रोनाल्डोले गत महिना युइएफए नेसन्स लिगका लागि पोर्चुगलको टोलीमा रहँदा प्रशिक्षकसँगको विवादपछि शिविर छाडेका थिए। नर्वेविरुद्धको खेलमा उनी बेन्चमै बसेका थिए। त्यसपछि अक्टोबर १ मा डेनमार्कविरुद्ध हुने खेलमा पनि आफू सुरुआती टोलीमा नपर्ने थाहा पाएपछि उनले टोली छाडेको बताइएको थियो।

रोनाल्डोले लामो वक्तव्य जारी गर्दै प्रशिक्षक जोर्गे जेसुसले दुईपटक आफ्नो वचन तोडेको आरोप लगाएका थिए। उनले यसलाई विश्वासको गम्भीर उल्लंघन भनेका थिए। जेसुसले भने रोनाल्डोसँग कुनै सम्झौता गरेको अस्वीकार गरेका छन्।

पोर्चुगिज फुटबल महासंघको अनुशासन समितिले रोनाल्डोले वक्तव्यमा देखाएको पश्चात्ताप, फुटबलमा उनको योगदान र खेल उपलब्धिलाई ध्यानमा राखेर सजाय निर्धारण गरेको जनाएको छ। रोनाल्डोले आफ्नो बचाउका क्रममा व्यक्तिगत उपलब्धि र पुरस्कारसहितको विवरण पनि समितिलाई बुझाएका थिए।

रोनाल्डोले यसअघि आफ्नो व्यवहारको जिम्मेवारी स्वीकार गर्दै सहकर्मी र समर्थकसँग माफी मागेका थिए। उनले आफूले सजाय पाउनुपर्ने पनि बताएका थिए।

निलम्बन डेनमार्कविरुद्धको खेल भएको दिनदेखि लागू हुने भएकाले रोनाल्डोले ३० दिनमध्ये १९ दिनको सजाय भुक्तान गरिसकेको समाचारमा उल्लेख छ। यसअनुसार उनले पोर्चुगलका आगामी खेल गुमाउने छैनन्। पोर्चुगलले नोभेम्बर १४ मा डेनमार्कसँग र त्यसको तीन दिनपछि वेल्ससँग खेल्नेछ।

पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेद्रो प्रोएन्साले विवाद समाधान भएपछि रोनाल्डोलाई राष्ट्रिय टोलीमा फर्काउने बलियो इच्छा रहेको बताएका छन्। प्रशिक्षक जेसुसले पनि उनको पुनरागमनका लागि ढोका खुला राखेका छन्।

रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा दुवै संख्या विश्व कीर्तिमान हुन्। उनले पोर्चुगललाई सन् २०१६ को युरोपेली च्याम्पियनसिप र दुई नेसन्स लिग उपाधि जिताउन योगदान गरेका छन्। उनी सन् २०२२ को डिसेम्बरमा साउदी क्लब अल नासरमा आबद्ध भएका थिए।

-बीबीसीबाट

क्रिस्टियानो रोनाल्डो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय