News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मूलका दिपक बस्नेत अमेरिकाको कोलोराडो राज्यस्थित एरी टाउन काउन्सिलको डिस्ट्रिक्ट–२ बाट आगामी ३ नोभेम्बरको स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् ।
- बस्नेतले आप्रवासी समुदायका सरोकारलाई नीतिनिर्माणमा पुर्याउने, सुरक्षित छिमेक, पार्क, विद्यालय र स्थानीय विकासलाई प्राथमिकता दिने बताएका छन् ।
- उनले नेपाली युवालाई सार्वजनिक सेवातर्फ आकर्षित गर्ने र नेपाली भाषी तथा अन्य आप्रवासी समुदायको स्थानीय राजनीतिक प्रतिनिधित्व बढाउने लक्ष्य राखेका छन् ।
३ कात्तिक, कोलोराडो । अमेरिकाको कोलोराडो राज्यस्थित एरी टाउन काउन्सिलको डिस्ट्रिक्ट–२ बाट नेपाली मूलका दिपक बस्नेत स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् ।
आगामी नोभेम्बर ३ मा हुने निर्वाचनमा उम्मेदवारी दिएका बस्नेतले आप्रवासी समुदायका सरोकारलाई नीतिनिर्माणको तहसम्म पुर्याउने र स्थानीय विकासमा योगदान गर्ने लक्ष्य राखेका छन् ।
सन् १९९८ देखि अमेरिकामा बस्दै आएका बस्नेतले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा सार्वजनिक सेवा र समुदायको नेतृत्व गर्ने अवसरका रूपमा लिएको बताएका छन् । उनका प्राथमिकतामा सुरक्षित छिमेक, परिवारमैत्री समुदाय, स्थानीय विकास र जवाफदेही नेतृत्व छन् ।
बस्नेतका अनुसार अमेरिकामा बसोबास गर्ने नेपालीले मातृभूमिसँगको सम्बन्ध कायम राख्दै आफू बसेको समाजको विकासमा पनि सक्रिय भूमिका खेल्नुपर्छ । नेपाली समुदायको उपस्थिति बढ्दै गएको अवस्थामा स्थानीय राजनीतिक प्रक्रिया बुझ्ने, सार्वजनिक निर्णयमा सहभागी हुने र निर्वाचित नेतृत्वमा आप्रवासीको प्रतिनिधित्व बढाउने आवश्यकता उनले औँल्याएका छन् ।
‘आफू बसेको समाजको विकासमा योगदान पुर्याउन स्थानीय राजनीति र नीतिनिर्माण प्रक्रियामा सहभागी हुनुपर्छ’ भन्ने मान्यता राख्ने बस्नेतले नेपाली युवालाई सार्वजनिक सेवातर्फ आकर्षित गर्नु र आप्रवासीका समस्या सम्बन्धित निकायसम्म पुर्याउनु आफ्नो उम्मेदवारीको उद्देश्य भएको बताएका छन् ।
सामाजिक अभियानबाट स्थानीय राजनीतिसम्म
बस्नेत अरोरामा बसोबास गर्दा नेपाली समुदायका सदस्यहरूसँग मिलेर विभिन्न सामाजिक अभियानमा सहभागी भएका थिए । त्यस क्रममा गंगा चौलागाईं, डा. सुदीप प्याकुरेल, बासुदेव दाहाल, योगराज गौतम, राज ढुंगाना र ज्ञानेन्द्र गदाललगायतसँग सहकार्य गरेको उनले स्मरण गरेका छन् ।
सामाजिक गतिविधिमा सक्रिय रहँदा नेपाली समुदायको स्थानीय राजनीतिक सहभागिताबारे पनि छलफल हुने गरेको उनको भनाइ छ । भारतीय मूलका अमेरिकी नागरिक अनवर अहमदसँग एक चुनावी कार्यक्रममा सहभागी भएपछि स्थानीय राजनीतिमा आप्रवासी समुदायको भूमिका र प्रतिनिधित्वबारे थप चासो बढेको उनले बताएका छन् ।
अमेरिकामा लामो समय बिताउँदा प्राप्त अनुभवलाई व्यवहारमा उतार्ने उद्देश्यले यसपटक निर्वाचनमा उम्मेदवारी दिएको बस्नेतको भनाइ छ । उनले आफ्नो अभियान नेपाली भाषी समुदायमा मात्र सीमित नराखी एरीका सबै बासिन्दा तथा विभिन्न आप्रवासी समुदायका साझा सरोकारमा केन्द्रित गर्ने बताएका छन् ।
पार्क, विद्यालय र सुरक्षित छिमेक प्राथमिकतामा
बस्नेतको चुनावी अभियानमा स्थानीय बासिन्दासँग नियमित संवाद गर्ने, उनीहरूका समस्या सुन्ने, पार्क तथा विद्यालयको विकास र सुरक्षित छिमेकलाई प्राथमिकता दिने विषय समेटिएका छन् । दीर्घकालीन सामुदायिक हितलाई ध्यानमा राखेर निर्णय गर्ने उनको प्रतिबद्धता छ ।
कामबाट अवकाश लिइसकेका बस्नेतले निर्वाचित भएमा समुदायका लागि पर्याप्त समय दिन सक्ने बताएका छन् । उनको चुनावी सन्देश ‘कामबाट अवकाश, एरीको सेवाबाट होइन’ भन्ने छ ।
बस्नेतका अनुसार डिस्ट्रिक्ट–२ मा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा करिब १० हजार मतदाता रहेको र नेपाली भाषी मतदाताको संख्या करिब १५० रहेको उनको अनुमान छ । नेपाली भाषी मतदाता संख्या कम भए पनि स्थानीय बासिन्दासँगको संवाद, समुदायको सहभागिता र विभिन्न आप्रवासी समूहसँगको सहकार्यलाई उनले महत्त्व दिएका छन् ।
कोलोराडोमा लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय डा. विजयराज शर्मा र नारायण श्रेष्ठले पनि बस्नेतको उम्मेदवारीलाई नेपाली भाषी समुदायको स्थानीय राजनीतिक सहभागिताका दृष्टिले महत्त्वपूर्ण मानेका छन् । उनीहरूले समुदायका सदस्यलाई साथ र सहयोग गर्न आग्रह गरेका छन् ।
सामाजिक संस्थाको नेतृत्वबाट स्थानीय राजनीतितर्फ
अमेरिकामा नेपाली समुदायका विभिन्न संघसंस्था सामाजिक, सांस्कृतिक र संस्थागत गतिविधिमा सक्रिय छन् । कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’ लगायतका संस्थाले सामुदायिक गतिविधिमार्फत नेतृत्व विकास र सामूहिक सहभागिताका लागि अवसर प्रदान गर्दै आएका छन् ।
सामाजिक संस्थामा प्राप्त अनुभवलाई स्थानीय सरकार, सार्वजनिक नीति र नागरिक सहभागितासँग जोड्न सके नेपाली समुदायको राजनीतिक प्रतिनिधित्व विस्तार हुन सक्ने नेपाली समुदायका अगुवाहरू बताउँछन् ।
अमेरिकामा नेपाली समुदायका धेरै सदस्यले सुरुवाती वर्षमा रोजगारी, व्यवसाय, परिवारको स्थायित्व र आर्थिक सुरक्षालाई प्राथमिकता दिँदै आएका छन् । पछिल्लो समय भने विभिन्न पुस्ताका नेपालीमा नागरिक अधिकार, सार्वजनिक सेवा, नीतिनिर्माण र स्थानीय निर्वाचनमा सहभागिताबारे चासो बढ्दै गएको छ ।
बस्नेतको उम्मेदवारीले कोलोराडोमा नेपाली मूलका व्यक्तिको स्थानीय राजनीतिक सहभागिता र आप्रवासी समुदायको प्रतिनिधित्वको विषयलाई अगाडि ल्याएको छ । नोभेम्बर ३ मा हुने निर्वाचनमा एरी टाउन काउन्सिलको डिस्ट्रिक्ट–२ का मतदाताले आफ्नो प्रतिनिधि चयन गर्नेछन् ।
बस्नेतले निर्वाचित भएमा स्थानीय विकासमा योगदान पुर्याउने, आप्रवासी समुदायका सरोकारलाई निर्णय प्रक्रियामा समेट्ने र नेपाली समुदायको अमेरिकी स्थानीय राजनीतिमा सहभागिता बढाउने लक्ष्य राखेका छन् ।
प्रतिक्रिया 4