Comments Add Comment

ए डिभिजन लिगमा संकटासँग सरस्वती पराजित

१४ असोज, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटाले सरस्वतीलाई १-० गोलले पराजित गरेको हो । खेलको अन्तिम समयमा सरस्वतीले संकटालाई रोक्न नसक्दा लिगमा आफ्नो पहिलो खेलमै पराजित हुन पुग्यो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको संकटाले दोस्रो हाफमा गोल गर्न सफल भयो । संकटाका लागि अतिरिक्त समयमा लक्ष्मण रुचालले गोल गर्दै जित दिलाए ।

शनिबारदेखि सुरु भएको ए डिभिजन लिगमा १४ टिम रहेका छन् । लिगको पहिलो खेलमा आर्मी र न्युरोड टिम -एनआरटीले २-२ गोलको बराबरी खेलेका थिए ।

ए डिभिजन लिग आजै (आइतबार) देखि नै केही दिनको लागि स्थगित पनि भएको छ ।

बंगबन्धु गोल्डकपमा नेपालले सहभागिता जनाउने भएपछि करिब ४ वर्षपछि सुरु भएको लिग केही समयसम्मको लागि रोकिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सूचना जारी गरेर लिग सुचारु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment