Comments Add Comment

नाकाबन्दीपछि किन सुस्तायो वीरगञ्ज ? यस्ता छन् ४ कारण

१४ असोज, वीरगञ्ज । वीरगञ्जको मुख्य व्यापारिक केन्द्र माइपोखरी नजिकै निर्भयकुमार श्रीवास्तवले इलेट्रोनिक्स व्यवसाय सुरु गरेको ११ बर्ष बित्यो । ठूलो चहलपहल हुने वीरगञ्जको मुटुमै ब्यापार गरिरहेका उनी पछिल्लो समयमा रनभुल्लमा छन् । वीरगञ्जको व्यापारको गति ह्वात्तै घटेको छ ।

०६२/६३ पछि वीरगञ्जमा तीनबाट ठूला आन्दोलन भए । व्यवस्था फेर्न भनेर गरिएका आन्दोलनले निर्भयकुमार जस्ता व्यापारीलाई खासै लाभ मिलेको छैन । विशेषतः भारतीय नाकाबन्दीपछि यहाँको ब्यापार घट्दै गैरहेको श्रीवास्तव गुनासो पोख्छन् ।

नाकाबन्दीअघि दैनिक एक लाखसम्मको व्यापार गर्ने श्रीवास्तवले अनलाइनखबरको टोलीलाई आफ्नो एक साताको कारोबारको हिसाव देखाए ।

शनिबार ३ बजे उनको पसलमा पुग्दा श्रीवास्तवले खाता नै पल्टाएर एक रुपैयाँको पनि व्यापार नभएको देखाए । एक साताको कुल कारोवारको पाना पल्टाउँदै देखाएका श्रीवास्तवको मुस्किलले एक लाखको मात्रै कारोवार गरेको देखियो ।

नाकाबन्दी र आन्दोलनपछि वीरगञ्जको ब्यापार चौपट भएको र पलायन हुने अवस्थामा पुगेको दुःखेसो श्रीवास्तवको छ । ५० लाखको लगानीमा व्यवसाय सुरु गरेका श्रीवास्तवको ३० लाखको बैंकको ऋण छ ।

‘१५ लाख बजारमा उठाउन बाँकी छ । पेशा छाडेर जाँदा धितोमा राखेको सम्पत्ति पनि जान्छ,’ उनले भने, ‘त्यही जोगाउन दिनभर झिँगा धपाएर पसलमा ग्राहक कुर्नुपर्छ ।’

पसलमा दैनिक ५ हजार खर्च चाहिन्छ । ५ हजार जुटाउन दैनिक १ लाखको व्यापार गर्नुपर्छ । तर, हप्तादिनमा पनि १ लाखको ब्यापार नभएपछि श्रीवास्तव तनावमा देखिन्छन् ।

श्रीवास्तवको मात्र हैन, चाडपर्वको बेला सुरु भइसक्दा पनि आर्थिक नगरी वीरगञ्जको कारोबार सुस्त छ । प्रतिनिधिमूलक रुपमा वीरगञ्जका विभिन्न भागका ब्यापारीहरुसँग बुझ्दा नाकाबन्दी र आन्दोलनका कारण व्यवसाय क्रमशः घट्दै गहिरो अनुभूति उनीहरुलाई भएको छ ।

मूलरुपमा वीरगञ्जमा कपडा, भाँडा पसल र इलेक्ट्रोनिक्स व्यवसाय निकै फस्टाएको थियो, तर,मधेस आन्दोलनपछि ती सबै व्यवसाय धरासयी बनेको व्यवसायीहरु बताउँछन् ।

उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष ओमप्रकाश शर्मा आन्दोलनले वीरगञ्जको आर्थिक कारोवारलाई ठूलो क्षति गरेको बताउँछन् । पटक-पटक व्यवसायलाई प्रभावित गर्ने गरी भएका आन्दोलनले वीरगञ्जको व्यापारिक तथा औद्योगिक वातावरण विग्रिएको शर्माको विश्लेषण छ ।

संविधान जारी भएपछिको आन्दोलन रोक्नका लागि मधेसवादी दलहरुसँग प्रयास गर्दा पनि ‘पूर्वेली मधेसी’ नेताले अटेरी गरेको शर्माले स्मरण गरे । त्यसले गर्दा वीरगञ्जको नै बदनामी भएको उनको गुनासो छ । शर्माका अनुसार आन्दोलनका कारण ठूला मात्रै नभएर साना व्यवसायी पनि पीडित हुनुपरेको छ ।

शर्माले भनेजस्तै माईस्थान नजिककै विगत ४० बर्षदेखि कपडा पसल चलाउँदै आएका मदनप्रसाद अग्रवालको पनि व्यापार नाकावन्दी र मधेस आन्दोलनपछि खस्किएको छ । विगतमा भीड थेगिन नसक्नु हुने उनको पसलमा आजभोलि चहलपहल सुस्ताएको छ ।

दशैंजस्ता चाडपर्वहरु नजिकै आइसक्दा समेत ब्यापार गतिलो नभएपछि धेरै व्यवसायीहरु निराश छन् । सिजनमै व्यापार किन सुस्ताइरहेको छ भन्नेबारे धेरै ब्यापारी अन्योलमै छन् ।

पर्सा मात्रै नभएर चितवन, मकवानपुर, बारा, रौतहट लगायतका जिल्लाका स्थानीयहरुको किनमेल बजार मानिन्छ वीरगञ्ज । सीमानाका नजिकै भएकाले सस्तोमा समान पाइने भएकाले यहाँसम्म धाएर किनमेल गर्ने प्रचलन केही समय अघिसम्म व्यापक थियो । अब वीरगञ्जमा ती दिनहरु रहेनन् ।

२०७१ साउनको अन्तिम हप्ताबाट चलेको मधेस आन्दोलनले मधेसबाट धेरै नेताहरु जन्मिए । राजनीतिक दलहरु सत्तासम्म पनि पुगे । तर, पछिल्लो पटकको आन्दोलनले व्यापारिक नगरी वीरगञ्जलाई भने दीर्घकालीन नोक्सान गरेको व्यापारीहरुको गुनासो छ ।

साउन अन्तिम सातादेखि थालिएको मधेस आन्दोलन पुसको शीतलहर र हुस्सु सुरु भइसक्दा पनि चल्यो । स्थानीय मधेसी नेताहरुलाई थाहै नदिई अघोषित नाकाबन्दी जसरी लगाइएको थियो, त्यसको १३५ दिनपछि आन्दोलनकारीलाई थाहै नदिई अघोषितरूपमै नाकाबन्दी हटाइएको थियो ।

लगातारको नाकाबन्दीले आजित बनेका दुबै देशका नागरिकले भारतीय सादा पोशाकका प्रहरीको सहयोगमा वीरगन्ज-रक्सौलबीचको मितेरी पुलमा धर्नाकारी बस्ने टेन्ट जलाएपछि मुलुकको प्रमुख नाका सहज बनेको थियो ।

मधेस आन्दोलन र सीमानाकामा धर्ना त्यति लम्बिन्छ भनेर कसैले सोचेका पनि थिएनन् । त्यतिबेला मितेरी पुलको धर्नाको प्रतिवादमा सबैभन्दा पहिले वीरगञ्जका ब्यापारी नै उत्रिएका थिए । नाकाबन्दी र आन्दोलन सकिएपछि केही समयमै आर्थिक गतिविधि पुरानै गतिमा फर्किन्छ भन्ने अपेक्षा व्यवसायीहरुको थियो ।

तर, अपेक्षा विपरीत नतिजा आयो । पुरानो गतिमा फर्किन अझै पनि संघर्ष गर्दैछ, वीरगञ्ज । संविधान कार्यान्यवनका क्रममा प्रदेश सभा र स्थानीय तहका सरकार निर्वाचित भएर आइसकेको लामै समय भयो । तर, अझै पनि वीरगञ्जले आर्थिक गतिविधिलाई पुरानो रफ्तारमा लैजान सकेको छैन ।

किन घट्यो वीरगञ्जको रौनक ?

आखिर किन सुस्तायो त वीरगञ्जको व्यापार व्यवसाय ? आन्दोलन सकिए पनि वीरगञ्जले किन पुनर्जीवन पाउन सकेन ? यस प्रश्नमा वीरगञ्जवासीका आ-आफ्नै तर्कहरु छन् ।

पहिलो तर्क- मधेस आन्दोलन र नाकाबन्दी

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ०७१ साउनको अन्तिम साता आन्दोलन थालेको भए पनि सुरुमा वीरगञ्जमा आन्दोलन जम्न सकेन । वीरगञ्जको नाका नथुन्दासम्म केन्द्र सरकारलाई कुनै प्रभाव पार्न नसक्ने निश्कर्षका साथ ०७१ असोज ५ को राजविराजमा बसेको मोर्चाको बैठकले नाकामा धर्ना दिने निर्णय गर्‍यो ।

मोर्चाका नेता-कार्यकर्ताले मितेरी पुलमा असोज ७ गते बिहानै आएर नाका ठप्प पारे । त्यसको दुई दिनअघि नै भारतको भन्सारले नेपाल आउने मालवाहक सवारी साधनहरु रोकिसकेको थियो ।

वीरगञ्जका बासिन्दाले नचाहँदा नचाँहदै पनि यो धर्ना लम्बिएको व्यापारीहरु बताउँछन् । यतिसम्म कि भारतको रक्सौलमा आन्दोलनकारीका लागि दैनिक तीनपटक खानासहितको मेस चलाइयो । आन्दोलन र धर्ना लामो बन्दादेखि नै वीरगञ्जको व्यवसाय थला परिसकेको थियो ।

सरकारले वीरगञ्ज नाकाबाट कुनै पनि सामान आयात गर्न नसकेपछि भैरहवा भन्सारलाई विकल्पका रुपमा अघि सार्‍यो । व्यापारीहरुले निकै लामो रुट भए पनि भैरहवा नाकाबाट नै सामानहरु आपूर्ति गर्न थाले ।

उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष ओमप्रकाश शर्मा आन्दोलनपछि पनि केन्द्र सरकार वीरगञ्जप्रति थप ‘नकारात्मक’ रुपमा प्रस्तुत भएको गुनासो पोख्छन् ।

राज्यले वीरगञ्जभन्दा पहिला नेपालगञ्ज र भैरहवामा ६ लेनको सडक विस्तार गरेर थप सुविधा दिएको अध्यक्ष शर्माले दाबी गरे । राज्यले नै सहयोग गरेर वीरगञ्जको ब्यापार सिफ्ट गराइदिएको शर्माको आरोप छ ।

शर्माको जस्तै तर्क वीरगञ्जमा बसेर विगत १६ बर्षदेखि पत्रकारिता गर्दै आएका पत्रकार राम सरार्फको पनि छ । उनले पनि वीरगञ्जको ब्यापार नाकावन्दीपछि अन्यत्र सिफ्ट भएको बताए ।

दोस्रो तर्क- पहाडे समुदायको पलायन

मधेस आन्दोलनपछि अधिकांश पहाडे समुदायका मानिसहरु पर्सा र वीरगञ्जबाट पलायन भए । आन्दोलनको त्रासका कारण धेरैले पहाडी समुदायको बाहुल्य रहेको बाराको सिमरासहित मकवानपुर, चितवनलाई रोजे । कोही काठमाडौं पनि गए ।

मधेस आन्दोलनका समयमा पनि वीरगञ्ज नछाडेकाहरुले नाकाबन्दीपछि कठोररुपमै निर्णय लिएको पत्रकार सर्राफ बताउँछन् ।

त्यो समयमा पहाडेहरुले सस्तोमा बेचेको जग्गा भू-माफियाहरुले हात पारे । जसका कारण कतिपय घरजग्गा भारतीय नागरिकले समेत हत्याए । भारततर्फ घर भएकाले पनि घरजग्गा जोडेपछि त्यसको उपयोग खासै गरिएन । जसका कारण वीरगञ्जको आर्थिक गतिविधि सुस्त भइदिएको कतिपय व्यापाारीहरुको तर्क छ । वीरगगञ्जतर्फ ब्यापार घटिरहँदा रक्साैलमा भने ब्याापरमा कुनै असर परेको छैन । रक्साैलको भीडभाड झन बढ्दो छ ।

रैथाने पहाडी समुदायबाहेक पहाडी समुदायका ब्यक्तिहरु भूमाफियाले दिएको त्रासका कारण मधेसबाट विस्थापित बन्दा वीरगञ्जले त्यसको समेत मार झेलेको स्थानीय व्यापारी ताराप्रसाद गुप्ताले अनलाइनखबरलाई बताए ।

वीरगञ्ज अहिले नाम मात्रैको आर्थिक नगरी भएको गुप्ताको दुखेसो छ । भूमिगत समूहको दादागिरी र भारतीय संरक्षणका अपराधीहरुको विगविगीका कारण पनि कतिपय उद्योगीहरु यहाँबाट विस्थापित बनेको अधिकांश स्थानीयबासीको बुझाइ छ  ।

मधेस आन्दोलनपछि मारवाडी समुदायका कतिपय व्यापारीहरु समेत अन्यत्रै सरेको उद्योग वाणिज्य संघका अध्यक्ष शर्माले बताए । रमेश केडिया, मनिष अग्रवाल जस्ता ब्यापारीहरु वीरगञ्ज क्षेत्रबाट भारततिर सिफ्ट भइसकेका छन् ।

तेस्रो तर्क- सिमरा जितपुरको बढ्दो आर्थिक गतिविधि

पहाडी समुदायका मानिसहरु वीरगञ्जबाट उत्तरतर्फ सर्ने क्रम बढ्दा जितपुर र सिमरामा आर्थिक चहलपहल अहिले तीव्र रुपमा बढ्दैछ । बाराको जितपुर सिमरा क्षेत्रको ब्यापार विस्तार भएको छ ।

ती दुई स्थान नयाँ ‘इमर्जिङ मार्केट’का रुपमा विकास भएकाले त्यसको असर प्रत्यक्ष रुपमा वीरगञ्जमा परेको स्थानीय ब्यापारीको भनाइ छ । बाराको सिमरा र जीतपुरमा नै वीरगञ्जको मूल्यमा सामान खरिद गर्न पाउने भएपछि वीरगञ्ज आउनुपर्ने बाध्यता पनि हटेको बताउँछन् स्थानीय व्यापारी विनोद शर्मा ।

वीरगञ्जमा कारोबार कमजोर बन्दै जाँदा सिमराको ब्यापार निकै बढेको शर्मा सुनाउँछन् । शर्माको वीरगञ्ज र सिमरा दुवै ठाउँमा कपडाको पसल छ । मधेस आन्दोलनपछि नै सिमराले वीरगञ्जलाई उछिन्न थालेको उनको भनाइ छ ।

चौथो तर्क- सधैंको राजनीतिक अखडा

पछिल्लो मधेस आन्दोलनको साख जोगाएको वीरगञ्ज नाकाको धर्नामा मोर्चाका सबै शीर्षस्थ नेताहरू आलोपालो गरी सहभागी बन्थे । त्यसबेला नेताहरुले मधेस प्रदेशको राजधानी नै वीरगन्ज बनाउने लगायतका आश्वासन समेत दिएर वीरगञ्जवासीलाई आन्दोलनमा ताने ।

तर, प्रदेश नम्बर २ का मुख्यमन्त्री वीरगञ्जका लालबाबु राउतलाई दिएर राजधानी चाहिँ जनकपुर नै बनाएकोप्रति वीरगञ्जवासीहरु यतिबेला बेखुस छन् । राजनीतिक आन्दोलनमा दीर्घकालीन नोक्सान ब्यहोरेर पनि साथ दिएको वीरगञ्जलाई नेताहरुले प्रयोग मात्रै गरेको स्थानीयको गुनासो छ । प्रदेश २ को राजधानी जनकपुर बनेपछि ती नेताहरू मौन बस्दा वीरगञ्जवासीको चित्त दुखेको छ ।

स्थानीय विजय सर्राफ वीरगञ्ज राजनीतिको अखडा मात्रै बनेको बताउँछन् । ‘राजनीतिक पार्टीले वीरगञ्जलाई प्रयोग मात्रै गरे, वीरगञ्जविना मधेश आन्दोलनको परिकल्पना गर्न पनि सकिँदैनथ्यो, तर त्यसको लाभ कहीँबाट पनि वीरगञ्जले पाएन,’ उनी भन्छन् ।

राज्यसँग वीरगञ्जबासीको गुनासो

वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगी पनि राजनीतिक दलहरुको झैंझगडाका कारण वीरगञ्जले सोचेजस्तो प्रगति गर्न नसकेको बताउँछन् । तर, उनले नाकाबन्दीकै कारण वीरगञ्जको व्यपार सुस्ताएको भने मान्न नसकिने बताए ।

अपेक्षित विकास प्राप्त नहुँदा थोरै निराशा फैलिएकाले यस्ता विषय उठ्ने गरेको भन्दै वीरगञ्ज अहिले पुरानै गतिमा फर्किसकेको दाबी मेयर सरावगीको छ ।

यो पनि पढ्नुहोस वीरगञ्जका मेयरको चेतावनीः प्रेमपूर्वक भनिरहेका छौं, नमाने कानूनी डण्डा चल्छ

केन्द्र सरकारको नजर वीरगञ्जप्रति नराम्रो भएको वीरगञ्जवासीको गुनासो छ । वीरगञ्जले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरे पनि सो अनुरुपको विकास र आर्थिक सम्वृद्धिमा सहयोग नगरेको उनीहरु बताँछन् ।

आफैंसमेत कांग्रेसबाट प्रदेश नम्वर दुईको सांसद रहेका उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष शर्माले वीरगञ्जमा राष्ट्रिय नेतृत्व गर्ने वा कमाण्ड गर्ने नेता नै नहुँदा प्रयोग मात्रै गरिएको बताउँछन् ।

प्रदेश सांसद एवं उद्योगी व्यवसायी शर्माले अब यो वा त्यो राजनीतिक कारणले वीरगञ्जमा कुनै पनि आन्दोलन नगर्ने र हुन नसक्ने दाबी गरे । अब राजनीतिका नाममा हुने कुनै पनि आन्दोलनमा वीरगञ्जवासीको साथ नरहने उनले बताए ।

‘मैले त प्रचण्डजीलाई भनेको छु, तपाई चितवनबाट हैन, वीरगञ्जबाट निर्वाचन लड्नुस् । अध्यक्ष शर्माले भने, ‘वीरगञ्जले केन्द्रीयस्तरका नेता जन्माउन नसकेर पनि यस्तो भोगिरहेको हो किजस्तो हामीलाई लाग्छ ।’

तस्वीरहरु-विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment