Comments Add Comment

माटोको कपमा स्पेशल चिया, खानेहरु भन्छन्-वाह !

१५ असोज, वीरगञ्ज । नेपाली युवाहरु स्वदेशमा रोजगारीको वातावरणै भएन भन्दै विदेशतिर हानिन्छन् । तर, छिमेकी भारतबाट खालीहात नेपालमा आएका मेहनती युवाले कसरी श्रम गरेर नेपालमा आर्जन गरिरहेका छन् भन्ने बुझ्न वीरगञ्जको चियापसलमा पुग्दा हुन्छ ।

‘राजुजीको चियाले एकैपटकमा ‘एडिक्ट’ बनाउँछ । एकपटक आएपछि आइरहन मन लाग्छ,’ सप्तरी हनुमाननगर घर भएर वीरगञ्ज बस्ने दीपक शर्माले चियाको चुस्की लगाउँदै अनलाइनखबरसँग भने, ‘चियाजस्तै उहाँको व्यवहार पनि नसा नै लगाउने खालको छ ।’

तपाईलाई लाग्न सक्छ, राजुको चियामा त्यस्तो विशेष जादु के छ ? छ पनि विशेष नै, उनी चिया गिलासमा बेच्दैनन्, कपमा बेच्छन्, त्यो पनि माटाको ।

वीरगञ्जको आदर्शनगरमा चियाको बिजनेश चलाउँदैछन् राजु शर्मा । ‘राजु टि स्टल’ नाम दिएर चोकमै पसल खोलेका छन् । यहाँ चिया खान दीपक शर्मा दैनिक निकै टाढाबाट धाउँछन् ।

माटोको भाँडो चिया खान पाइने भएकाले नै धेरैले यसलाई स्पेशल मान्छन् । उनले बनाउने चियाको तारिफ नगर्ने कमै छन् ।

यहाँ नियमित ग्राहक त आउँछन् नै, वीरगञ्जको यो चिया पसलबारे सुन्न बित्तिकै नवआवन्तुक पनि यहाँ आइपुग्छन् ।

राजुको घर भारतको राजस्थान हो । २२ वर्षदेखि उनी यहाँ चियाको पसल चलाउँदैछन् ।

राजुको चिया पसलमा सिसा र प्लाष्टिकका गिलासको प्रयोग गर्दैनन् । कुनै समयमा उनी प्लाष्टिकको गिलासमा चिया बेच्थे । तर, उनलाई थाहा भयो कि त्यसले ग्राहकको स्वास्थ्यमा हानी गर्छ । त्यसपछि उनले आइडिया फुराए, माटाको भाँडामा चिया बेच्ने ।

त्यसपछि उनले माटोको कपमा चिया बेच्ने निर्णय लिए । त्यसपछि उनले भारतबाट कप किन्न थाले । यसमा चिया पिउनु स्वास्थप्रद हुने उनको दाबी छ ।

राजुको भनाइमा सिसाको गिलास फुटिरहन्छ । प्लाष्टिकको गिलासमा चिया पिउन स्वास्थ्यमा गम्भीर असर पर्छ । स्वाद पनि बिग्रन्छ र गन्ध पनि आउँछ ।

राजुले चियामा मरिच, दालचिनी, सुकमेल लगायतका मिक्स स्पेशल मसलाको प्रयोग गर्छन् । स्वादमा पनि उनको चिया अब्बल भएकाले दनिमा एकपटक नखाई चित्तै नबुझ्ने बताउँछन्, आदर्शनगरका स्थानीय श्रवण साह ।

यहाँ साथीभाइसँगै मर्निङ वाक गर्दै चिया पसलमा पुग्नेहरुको विहान भीड नै लाग्छ । कलेजहरुबाट पनि विद्यार्थी हुल नै बाँधेर आइपुग्छन् ।

‘माटोको कपको विशेषता भनेको यसले चियामा हुने पानीको मात्रालाई सोसिदिन्छ र चियाको स्वाद अझै मीठो हुन्छ,’ राजुले भने ‘यसमा चिया पिएपछि ग्राहकले नमिठो भयो भन्ने कुरै आउँदैन ।’

दैनिक २५० देखि ३०० कपसम्म चिया बेच्छन् राजु । उनले चिया पसलकै कमाइमा खर्च कटाएर मासिक ३० हजार बचत गर्छन् । राजुले महिनामा १ लाख ५० हजारसम्मको चिया बेच्छन् ।

उनले एक सयवटा माटोको कप किन्न २५० रुपैयाँ खर्चन्छन् । यस्तो कप भारत रक्सौल भर्तामाईका हरि पण्डितले बनाएर वीरगजसम्मै ल्याइदिन्छन् ।

त्यसो त वीरगञ्जजस्तै काठमाडौंमा पनि केही चिया पसलहरुमा माटाको कपमा चिया बेच्ने गरिएको पाइन्छ । काठमाडौंका पसलले भक्तपुरबाट माटाका कपहरु किन्ने गरेका छन् ।

राजुले मासिक १५ सय मात्रै भाडा तिर्छन् । लामो समयदेखि नै उनले यो ठाउँ छाडेका छैनन् । राजुको मिजासिलो व्यवहारका कारण उनी बसेको घरका घरबेटीले जति रकमवाला ब्यापारी आए पनि उनको सटर खोसेका छैनन् ।

‘यो सटरमा एटीएम राख्न २० हजार दिन बैंक आइसक्यो, तर, साहुनीले ममाथि दया राख्नुभएको छ,’ उनले भने, ‘१५ सय भाडा तिरेर बस्न पाएको छ । मलाई यसले पनि सहयोग भएको छ ।’

राजुको पसलदेखि ५० मिटर दक्षिणमा राजस्थानकै बब्लु शर्माको चिया पसल पनि छ । उनले पनि राजुको जस्तै माटाको कपमा चिया पसल चलाएका छन् ।

मासिक ८ हजार भाडा तिर्दै आएका उनी पनि माटोकै कपमा चिया बेच्छन् । राजुको पसलमा जस्तै भीड उनको पसलमा देखिन्छ ।

एकपटक प्रयोग भएको कप सिधै डस्टबिनमा जान्छ । राजुले दिनमा ४० देखि ५० प्याकेट दूधको चिया बेच्छन् । २० रुपैयाँ कपमा चिया बिक्री गर्ने राजुलाई भान्जा महेश शर्माले सघाउँछन् ।

‘ग्राहक कसरी खुशी हुन्छन् हामी त्यसमा ध्यान दिन्छौं ।’ उनले भने, ‘कसैलाई नाराज गरेर बिजनेश चल्दैन । सबैलाई खुसी बनाउनुपर्छ ।’

‘पहिला मारवाडीको पसलमा काम गरिरहेको थिएँ, महिनाको १ हजार कमाइ हुन्थ्यो, त्यसले खर्च नपुग्ने । त्यही छेउमा एकजनाले चिया पसल थापेर राम्रो आम्दानी गरिरहेको देखेपछि म पनि यता आएँ,’ उनी भन्छन्, ‘श्रम गर्न लाज मान्नुहुन्न, इमान्दारिताका साथ मेहनत गर्नुपर्छ, पैसा कमाउन भनेर यताउति भौंतारिन पर्दैन ।’

नेपालमा काम पाइएन भनेर विदेशिनेहरुले राजु र बब्लुको यो कामबाट केही सिक्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment