Comments Add Comment

भैरहवा नाकासँग त्रस्त वीरगञ्जका व्यापारी !

१५ असोज, वीरगञ्ज । पछिल्लो समयमा भैरहवा भन्सारमा आर्थिक कारोबार बढ्दै जाँदा वीरगञ्जका व्यापारीले निधार खुम्च्याउन थालेका छन् । भैरहवाको कारोबार वृद्धिले उनीहरुमा मनोवैज्ञानिक त्रास उब्जेको छ ।

आर्थिक नगरीका रुपमा चिनिएको वीरगञ्जलाई मधेस आन्दोलन र भारतीय नाकाबन्दीले थिलथिलो बनायो । त्यसले गर्दा यहाँबाट हुने कारोबार भैरहवा भन्सारतर्फ सिफ्ट भइरहेको व्यवसायी बताउँछन् । यति मात्र होइन, उनीहरुले त राज्यले नै विशेष आरक्षण र सहुलियत दिएर भैरहवालाई माथि उठाएको आरोपसमेत लगाएका छन् ।

नाकाबन्दीमा वीरगञ्ज नाका खुल्नुअघि नै भैरहवा भन्सारको नाकामा धर्ना खुलेको थियो । त्यसैले काठमाडौं, पोखरा, चितवन, हेटौंडालगायत स्थानका ब्यापारीहरु त्यसैतर्फ मोडिए । वीरगञ्जमा नै बसेर लामो समयदेखि ब्यापारमा जमेका कतिपय ब्यवसायी र आपूर्तिकर्ताले पनि भैरहवालाई विकल्पमा राखे ।

वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा राज्यले नै वीरगञ्जलाई पछाडि धकेल्न खोजेको बताउँछन् । ‘सरकारले नाकाबन्दीताका वीरगञ्जमा पाँच हजार भन्सार राजश्व लिने सामग्रीलाई भैरहवामा ४ हजार देखि ४ हजार पाँचसय मात्रै लिएर छुटायो’ उनले भने, ‘यसले व्यवसायीहरुलाई लोभ्यायो । धेरैले त्यहाँ आफ्नो कार्यालय खोलेर उतैबाट सामान मगाउन थाले । जुन अहिलेसम्म पनि चल्दैछ ।’

वीरगञ्ज नाकामा सडक भैंसी नै आहाल बस्ने खाल्डा र धूलोले कुहिरीमण्डल हुँदा भैरहवा भन्सारमा भने ६ लेनको चिल्लो सडक छ । भैरहवाको जति पूर्वाधार सरकारले वीरगञ्जमा नबनाइदिएको व्यवसायीको गुनासो छ ।

व्यवसायी जहाँ नाफा हुन्छ, त्यहीँ नै जाने भएकाले धेरैले वीरगञ्जलाई माया मारेको चर्चा वीरगञ्जमा सुनिन्छ । पछिल्लो समयमा दिल्लीबाट गोरखपुरको बोर्डर भएर सामान ल्याउने ब्यापारीहरु बढ्दै गएका छन् । पहाडी समुदाय मात्रै होइन, मारवाडी र मधेसी समुदायले पनि भैरहवामा आफ्नो र्फमको शाखा खोलिसकेका छन् ।

भारतको कलकत्ता बन्दरगाहदेखि वीरगञ्ज करिब ६ सय ५० किलोमिटर दूरीमा छ भने भैरहवा लगभग त्यसको दोब्बर दूरीमा । दूरीका कारण बढ्ने लागतमा कहीँ न कहीँ सरकारबाट व्यवसायीले क्षतिपूर्ति पाउने गरेको संघका अध्यक्ष शर्माले बताए ।

वीरगञ्ज नाकामा सडक भैंसी नै आहाल बस्ने खाल्डा र धूलोले कुहिरीमण्डल हुँदा भैरहवा भन्सारमा भने ६ लेनको चिल्लो सडक छ । भैरहवाको जति पूर्वाधार सरकारले वीरगञ्जमा नबनाइदिएको व्यवसायीको गुनासो छ । ‘भैरहवा भन्सारमा ३० किलोमिटर लामो सवारीको लाइन छ भन्ने सुन्छु । यताको व्यापार त्यता सरेको पुष्टी त्यसैले हुन्छ,’ शर्मा भन्छन् ।

स्थानीय व्यवसायी ताराप्रसाद गुप्ताले पनि वीरगञ्जलाई कमजोर बनाउन सरकार नै लागि परेको दावी गरे । सम्भाव्यताअनुसार वीरगञ्जको ब्यापारिक वृद्धि नहुनुमा राजनीतिक दलका नेताको अदूरदर्शिताले पनि काम गरेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का उपाध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैद्य नाकाबन्दी र आन्दोलनका कारण क्षति भोगेका उद्योगहरु लयमा फर्किने क्रममा रहेको बताउँछन् ।

पटक-पटक दोहोरिने मधेस आन्दोलनले सबैभन्दा बढी वीरगञ्जलाई प्रभाव पार्छ । त्यसैले पनि ब्यापारीले भारतबाट हुने आयात निर्यातका लागि भैरहवालाई मुख्य विकल्प बनाएका छन् ।

नाकाबन्दीपछि भैरहवातर्फ व्यवसायीको झुकाव पहिलेभन्दा बढेको एक भन्सार अधिकृतले स्वीकार गरे । ‘वीरगञ्जमा कहिले के हुन्छ ठेगान नभएका कारण व्यापारी अन्यत्र मोडिएका हुन सक्छन्,’ एक भन्सार अधिकारी भन्छन्, ‘भैरहवाबाट सामान मगाउनु कसैको रहर नभएर बाध्यता हुन सक्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठ भने पहिलाको जस्तो आत्तिनुपर्ने अवस्था रहेको बताउँछन् । जहाँबाट सजिलो हुन्छ, त्यहीँबाट समान मगाउन व्यापारी स्वतन्त्र रहेको उनको भनाइ छ । तेस्रो देशबाट आउने कार्गो अझै पनि वीरगञ्जमार्फत नै ठूलो मात्रामा आउने उनले बताए ।

विद्युत आपूर्ति सहज, पूर्वाधारमा लगानी, व्यवस्थित औद्योगिक क्षेत्र सरकारले निर्माण गरे वीरगञ्ज पूरानो लयमा फर्किन समय नलाग्ने व्यवसायीहरु बताउँछन् । पर्याप्त र सस्तो जनशक्ति, छोटो नाका र मन फुकाउने लगानीकर्ताहरु वीरगञ्जलाई पुरानो अवस्थामा फर्काउने साधन रहेको उनीहरुको भनाइ छ ।

अहिले वीरगञ्जका उद्योगमा टे्रड युनियनको समस्या छैन । भूमिगत गिरोहहरु पनि सेलाएका छन् । लगानीको वातावरण बन्दै छ । प्रदेश २ मात्रै नभई समग्र देशकै आर्थिक राजधानी बन्ने आशा वीरगञ्जले बोकिरहेकै छ ।

आँकडामा भैरहवा र वीरगञ्ज

व्यवसायीहरु भैरहवासँग त्रस्त भए पनि वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाह कार्यालयका अधिकारी भने ढुक्क नै देखिन्छन् । भैरहवा भन्सारले वीरगञ्जलाई चुनौति नथप्ने विश्लेषण उनीहरुको छ । नाकाबन्दीपछि पनि वीरगञ्जको भन्सार खासै नघटेको उनीहरु तर्क गर्छन् ।

नाकाबन्दीभन्दा अघिल्लो वर्ष भैरहवा भन्सारले मुश्किलले २२ अर्ब राजश्व उठाउँथ्यो । नाकाबन्दी लागेको वर्ष भैरहवाले भन्सार राजस्व संकलन गर्दै वीरगञ्जलाई नै जितिदियो ।

नाकाबन्दीभन्दा अघिल्लो वर्ष भैरहवा भन्सारले मुश्किलले २२ अर्ब राजश्व उठाउँथ्यो । नाकाबन्दी लागेको वर्ष २५ अर्ब राजश्व संकलनको लक्ष्य राखिएको थियो । तर, त्यो वर्ष भैरहवाले ठूलो भन्सार राजश्व संकलन गर्दै वीरगञ्जलाई नै जितिदियो ।

नाकाबन्दी हटेपछि पनि भैरहवा खस्किएन । गत आर्थिक वर्षमा मात्रै ७० अर्ब रुपैयाँ राजश्व यसले उठाएको छ । गत आर्थिक वर्षमा पनि अघिल्लो वर्षभन्दा १३ प्रतिशत बढी राजश्व उठेको थियो ।

अहिले देशको आयातको १८ प्रतिशत हिस्सा भैरहवा भन्सारले ओगटेको छ । नाकाबन्दीअघि यो हिस्सा निकै सानो थियो ।

वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले पनि आफ्नो राजश्व बढिरहेको बताएका छन् । वीरगञ्ज भन्सार कार्यालयले गत वर्ष १ खर्ब ३१ अर्ब राजश्व उठाएको थियो ।

सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सियाले गत वर्ष २७ अर्ब ३३ करोड राजश्व संकलन गरेको थियो । अहिले नेपालको आयातको ४० प्रतिशत हिस्सा वीरगञ्जले ओगटेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख श्यामप्रसाद भण्डारी भन्सार क्लीयरेन्सलाई सहज गर्दै लगिएको बताउँछन् । साथै यस क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण भइरहेकाले वीरगञ्जबाट हुने आयात अझै बढ्दै जाने उनको दावी छ ।

वीरगञ्जस्थित सुख्खा बन्दरगाह कार्यालयका प्रमुख सूर्य सेढाईं पनि वीरगञ्ज कार्गोको हब बन्ने अवस्थामा रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment