Comments Add Comment

नेपाल एयरलाइन्सको काठमाडौं-तुलसीपुर उडान सफल

१७ असोज, दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमले सफल परीक्षण उडान गरेको छ । अब एकसाताभित्र काठमाडौं-तुलसीपुर हवाई सेवा नियमित गर्ने निगमको तयारी छ ।

क्याप्टेन आङनुरी शेर्पाको समूहले मंगलबार विहान ११:२० मा पहिलो पटक र ११:३० मा दोस्रो पटक उडान परीक्षण गरेको थियो । दुवै पटकका परीक्षण सफल भएका छन् ।

उडान परीक्षण पश्चात क्याप्टेन शेर्पाले विमान सेवा सञ्चालनका लागि टरिगाउँ विमानस्थलमा कुनै समस्या नभएको बताउँदै दशै अगाडिबाटै नियमित उडान सुरु हुने बताए । ‘एक-दुई दिनमै प्राविधिक अध्ययन प्रतिवेदन नागरिक उड्डयन प्राधिकरणमा पेश हुन्छ र प्राधिकरणले एयरलाइन्सलाई जानकारी गराउने वित्तिकै उडान तालिका तयार हुन्छ,’ उनले भने ।

सम्पूर्ण प्रक्रिया पूरा हुनका लागि बढीमा एकसाता लाग्ने उनले जानकारी दिए । क्याप्टेन शेर्पाले टरिगाउँ विमानस्थलमा आफूले धावनमार्ग कच्ची हुँदा पनि विमान उडाएको बताउँदै अहिले धावन मार्गमा कुनै पनि समस्या नभएको बताए ।

पाइलट उद्धव घिमिरेले विमान नियमितका लागि इन्धनको समस्या रहेको बताउँदै इन्धनको व्यवस्था गर्न सके क्षमता अनुसार यात्रु ओसार्न सकिने बताए । ‘इन्धनका लागि केही सिटको व्यवस्था गर्नुपर्ने भएकाले क्षमता जति यात्रु बोक्न कठिनाई हुन्छ,’ उनले भने । १६ सिट क्षमताको विमान भएपनि १३ जना मात्र यात्रु ओसार्न सकिने उनले जानकारी दिए ।

निगमका इन्जिनियर विशाल पौडेलले रनवे राम्रो भएको बताउँदै विमान सञ्चालनका लागि कुनै पनि कठिनाई नभएको बताए । एक-दुई दिनमै प्राविधिक प्रतिवेदन प्राधिकरणमा बुझाउने बताउँदै इन्जिनियर पौडेलले दैनिक उडान आरम्भ भए इन्धन ट्याङ्करको व्यवस्था हुने बताए ।

तुलसीपुर विमानस्थललाई हेर्ने जिम्मा लिएको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले तत्कालका लागि साना जहाज चलाउन कुनै पनि प्राविधिक समस्या नरहेको बताए ।

विमानस्थललाई १२ सय ५० मिटरसम्म विस्तार गर्न सकिने प्राविधिक आधार रहेको बताए । उनले विमानस्थलका केही उपकरणहरु निर्माण गर्न आवश्यक रहेको बताउँदै तत्काल सबै सुधार गर्ने समेत बताए । नेपालगन्ज विमानस्थलवाट हुने उडानमा २० प्रतिशत जति दाङकै यात्रु हुने बताउँदै उनले टरिगाउँ विमानस्थलबाट ठूलै जहाज पनि दैनिक उडान गर्न सकिने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले टरिगाउँ विमानस्थलमा दैनिक उडानका लागि मन्त्रालयमा कुराकानी भएको वताए । ‘मन्त्रीसँग कुरा भएको छ उहाँले दैनिक उडानका लागि पहल गर्ने बताउनु भएको छ,’ पाण्डेले भने । इन्धन डिपोका लागि समेत कुरा भएकाले विमानसेवा अब नियमित हुने उनले विश्वास व्यक्त गरे ।

यो पनि पढ्नुहोस्

दशैंमा काठमाडौं-तुलसीपुर हवाई सेवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment