Comments Add Comment

नागढुंगाको जामः यो सडक त हिँड्नै नपरे हुन्थ्यो !

१८ असोज, काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य नाका थानकोट आजभोलि जामले अस्तव्यस्त छ । जब दशैं नजिकिन्छ, थानकोटमा यस्तै जाम हुन्छ ।

हरेक वर्ष जाम हुँदै आएको छ । तर, कलंकी नागढुंगा सडक विस्तारका कारण झन सकस बढ्दो छ । बिहीबार मध्यान्ह थानकोट थाकामा पुग्दा यस्तै थियो ।

धुवा, धुलो छिचोल्दै कलंकीबाट थानकोट पुग्नका लागि करिब २ घण्टा लाग्यो । बुङबुङ उडेको धुलाले आँखा धमिल्याएको थियो भने तीव्र गतिमा गुडेका ट्रक तथा टिपरबाट बचेर हिड्नु कम चुनौती थिएन । थानकोटमा प्रहरी चेकजाँच चलिरहेको छ । तर, त्यहाँबाट अगाडि झन अत्यास लाग्दो जाम रहेछ ।

‘घरसम्म पुग्दा आधा तौल घट्ने भयो’

प्रहरी चेकजाँच चलिरहेका बेला हामी काठमाडौंबाट धनगढीका लागि छुटेकाे एउटा सवारीसाधानमा प्रवेश गर्याैं। सवारीसाधनमा प्रवेश गर्दा चुपचाप बसेका यात्रुहरु ‘बाटो खराब छ, कत्तिको सास्ती महशुस गर्नुभयो ?’ भन्ने प्रश्न भुईमा खस्न नपाउँदै काखमा बच्चा बोकेका एक युवाले भने, ‘सास्ती भाकै छैन दाइ, महासास्ती भन्नोस् ।’

उनी धनगढी घर भएका दीपक मल्ल रहेछन् । कलंकीबाट थानकोटसम्म आइपुग्दा जिउँ दुखेर गाह्रो भएको भन्दै मल्लले आक्रोश पोखे ।

‘रातभरको यात्रा गर्नुछ, अहिले ५ प्रतिशत यात्रा नहुँदै हिड्न नसकिएला जस्तो भइसक्यो’, उनले भने, ‘यहाँ जहिले पनि यस्तै बाटो बनाउन पर्छ भन्ने चाहिँ सरकारलाई थाहा छैन क्या हो ।’

मल्ल बोल्दै गर्दा नजिकैको सिटमा रहेका वृद्ध झोकिए । मर्मतका लागि सडक नै बन्द गर्ने गरिएको थाहा पाएको भन्दै उनले आक्रोस पोखे, ‘सडक बनाउने मान्छे वर्षभरी सुत्छन् कि के गर्छन् ? दशैं आउने बेलामै बाटो बनाउनुपर्ने ।’

हो पनि, जब दशैंका लागि यात्रुहरुको आवत जावत बढ्छ, तब नागढुंगा अगाडिको सडक मर्मत सुरु हुन्छ । यो वर्ष पनि रातको समयमा सडक बन्द गरेर नै मर्मत भइरहेको छ । यसले राजधानी प्रवेश गर्ने यात्रुहरु घन्टौं जाममा बस्नुपर्छ ।

‘सडक हो विग्रिन्छ, मर्मत गर्नुपर्छ । मर्मत गर्ने समय दशैंको मुखमा त होइन नि’, उनले थपे, ‘चैत वैशाखमा के हेर्छ सडक विभाग, के हेर्छ सरकार ?’

उनीहरु मात्र होइन, काठमाडौं प्रवेश गर्ने र छाड्ने हरेक यात्रुको एउटै गुनासो छ– सडकका खाल्डाखुल्डी र जामले दिएको सस्ती खपिनसक्नुको भयो ।

नारायणघाटबाट काठमाडौं आएको रञ्जित चौधरीले भन्छन्, ‘यो बाटो हिँड्नै नपरे हुन्थ्यो ।’

चालकलाई पनि उस्तै सास्ती !

काठमाडौंबाट दाङका लागि छुटेको नाइट बसमा थानकोट चोक नजिकै जाममा फसिरहेको थियो ।

बसका चालक मिनरल वाटरले मुख धोए । ‘धेरै सास्ती पाइएको कि क्यो हो’ भन्ने प्रश्नमा उनले मलिन स्वरमा भने, ‘सास्ती पनि के भनौं एकदिनको भए पो ।’

यो पनि पढ्नुहोस आईजीपीको निर्देशनपछि नागढुंगा पुगे ट्राफिक र काठमाडौं प्रहरी प्रमुख

यात्रुलाई भन्दा बढी चालकलाई पीडा हुने गरेको उनले सुनाए । ‘म १६ वर्ष भयो नाइट बस चलाउन थालेको । चालकलाई कति सास्ती हुन्छ, हामी आफैंलाई थाहा छ’, उनले भने ।

कलंकी–थानकोटमा सडकको खाल्डा खुल्डी र धुलोकै कारण सवारी चलाउन गाह्रो हुने गरेको उनले सुनाए ।

गाडीको लर्को

नागढुंगाबाट ओरालो लागेपछि गाडीको लर्को आँखाले हेरिनभ्याउनेसम्म हुन्छ । थानकोट ट्राफिक प्रहरीकाअनुसार बिहानको तुलनामा साँझ कम जाम हुन्छ । जबकी साँझपख थानकोटको डाँडाबाट हेर्दा आँखाले भ्याउनेजति पुरै सडकमा सवारीसाधनको लहर देख्न सकिन्थ्यो । एउटा सवारीसाधन कतै बिग्रिए मात्रै पनि अत्यधिक जाम हुने ट्राफिक प्रहरीको भनाइ छ ।

पछिल्लो समय रातको समयमा सडक बन्द गरेर निर्माण कार्य हुँदा थप जाम हुने गरेको थानकोट ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक हरि भट्टराई बताउँछन् ।

दशैँ नजिकिएसँगै सवारीसाधनको चाप बढेको महानगरीय प्रहरी प्रभाग, थानकोटका इञ्चार्ज प्रहरी निरीक्षक केशराज भट्टको भनाइ छ ।

उनका अनुसार दैनिक करिब २५ हजार यात्रुहरु काठमाडौंबाट बाहिरिने गरेका छन् । बुधबार साँझसम्म पछिल्लो २४ घण्टामा २६ हजार ९ सय बढी यात्रुले काठमाडौं छाडेका छन् ।

यात्रुहरुको सुरक्षा र यात्रालाई सहज बनाउन प्रहरी अहोरात्र खटिएको उनको भनाइ छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment