Comments Add Comment

चितवनको सूर्यकिरण फाइबर उद्योगमा एसएमसी म्यानहोल कभर उत्पादन

२२ असोज, चितवन । चितवनको सूर्यकिरण फाइबर उद्योगले नेपालमा नै पहिलोपटक कम्पोजिट म्यानहोल कभरको उत्पादन सुरु गरेर बजारमा ल्याएको छ । घरदेखि राजमार्गसम्म आवश्यक पर्ने म्यानहोल कभरहरु च्याम्बरको ढकनीका रुपमा प्रयोगमा आउँछन् ।

फलामबाट बनेका ढकनीहरु प्रयोग हुँदै आएकोमा त्यसलाई विस्थापन गर्ने गरी कम्पनीले फाइबरबाट बनेको अत्याधिक भारबहन क्षमता भएका म्यानहोल कभर बजारमा ल्याएको दावी गरेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक सूर्यप्रसाद न्यौपानेका अनुसार कम्पनीको उत्पादनको परीक्षण नेपाल र भारतमा गरिसकिएको छ । ६० टनसम्म भार बोक्ने सवारी साधनलाई यसले सजिलैसँग धान्न सक्ने कम्पनीको भनाइ छ । फलाममा जस्तो खिया लाग्ने, खिया लागेर हिल्ने, चोरी हुने, आगो वा अन्य बाह्य वातावरणले यसमा असर नगर्ने प्रवन्ध निर्देशक न्यौपानेले बताए । ‘भारतमा पनि यसको उत्पादन म्यानुअल रुपमा हुन्छ तर नेपालमा हामीले स्वचालित र आधुनिक मेशिनबाट उत्पादन गरेका छौं,’ सञ्चालक न्यौपानेले भने, ‘हामीले भुटान, बंगलादेश लगाएका देशमा समान पठाउने तयारी गरेका छौं । यसको उत्पादनले ७० प्रतिशत आयातलाई रोक्ने विश्वास छ ।’

१४ थरी विभिन्न रसायनहरुको प्रयोग गरी कम्पोजिट म्यानहोल बनाउने गरिन्छ । तीन हजारदेखि २५ हजारसम्म मूल्य पर्ने यी उत्पादनहरु सडकका लागि १४ देखि १८ एमएमका प्रयोग गरिनेछ ।

फलामका ७० एमएम मोटाइका प्रयोग गरिँदै आएको छ । घरासयी प्रयोजनका लागि फलामको १० देखि १५ एमएमसम्म मोटाइ भएका प्रयोग गरिएको कम्पोजिट म्यानहोल ३ देखि ४ एमएमसम्मको मोटाइबाट नै काम लिन सकिने छ ।

यी उत्पादन उचाल्दा समेत फलामभन्दा तीन गुणा हलुका हुनेछन् । जडानका क्रममा दुर्घटना हुने खतरासमेत नभएको कम्पनीको दावी छ । खैरो र पाकेको कागतीको जस्तो पहेंलो गरी दुई रंगमा म्यानहोल कभरहरु बजारमा उपलब्ध छन् ।

कसैले आफ्नो लोगो राखेर उत्पादन गर्न चाहेमा त्यसको पनि व्यवस्था मिलाउन सकिने न्यौपानेले बताए । १० वर्षअघि स्थापना भएको सूर्यकिरण फाइबरले फाइबरका झ्याल ढोका, चौकस, जस्तापाता, बाथटब उत्पादन गर्दै आएको छ । उद्योगमा १७ करोडको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment