Comments Add Comment

मन्त्रीलाई दशैंमा ससुराली जान दिन्छौं- राजकिशोर यादव

२३ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेताहरुलाई सोमबार साँझ बालुवाटारमा बोलाएका छन् ।

प्रधानमन्त्रीबाट सोमबार साँझ ६ बजेका लागि बोलावट भएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले अनलाइनखबरलाई बताए ।
‘हामीले समर्थन फिर्ता लिने तयारीका लागि बैठकको गृहकार्य गरिरहेका थियौं, प्रधानमन्त्रीबाट आजै बोलावट भयो ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई बोलाए पनि सरकारलाई दिइएको समर्थन फिर्ता लिने अडान यथावतै रहेको यादवले बताए । मन्त्रीहरुलाई दशैं मान्न दिएपछि समर्थन फिर्ता लिइने नेता यादवको भनाइ छ ।

अब वार्तामा बोलाएर सरकारले माग पूरा गर्ने वचन दियो भने ओली सरकारलाई दिइएको समर्थन जारी राख्नुहुन्छ कि ? अनलाइनखबरको प्रश्नमा यादवले यस्तो प्रतिक्रिया दिए :

राजपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भैरहेको छ । प्रदेशको सरकारचाहिँ रहन्छ । सबै जिल्लामा सिडियोमार्फत ज्ञापनपत्र बुझाउने र दशैंपछि ओली सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारी भइरहेको छ । मन्त्री भएका छन्, दशैंमा कम्तीमा ससुराली त जाउन् ।

यो सरकार सबै मोर्चामा असफल भयो । हामीले मात्रै होइन, माधव नेपालले नै भनिसके देशै डुब्न लाग्यो । देश त बचाउनुपर्‍यो नि । भ्रष्टाचार बढ्यो । प्रहरी प्रशासनले काम गर्न सकेन । महंगी दशैंको मुखमा छोइनसक्नु छ । अति आवश्यक चिनी तेलको भाऊ आकासिएको छ ।

निर्मला पन्तका बलात्कारी को हो भन्ने दुनियाँलाई थाहा छ । पूरै राज्य उसलाई संरक्षण गर्न लागेको छ । ३३ किलो सुन कुन दुलोमा पस्यो ? ठूलो माछा समातिन्छ भन्थे । ओलीले भ्रष्टाचार निर्मूल पार्छु, सुशासन ल्याउँछु भन्थे । झन् मन्त्रीहरु एकपछि अर्को काण्डमा मुछिँदैछन् । चिनी उद्योगीबाट के कसो खेलामेला भयो ? उल्टै जसले बोल्यो, त्यसैलाई कारवाही गर्छु भन्छन् ।

ओली सरकारले अहिलेसम्म राजपासँग कुनै सम्वाद गरेन । प्रधानमन्त्रीले आफ्नै नेताहरुसित त सम्वाद नगरेको गुनासो आइरहेको छ, हामीसँग झन किन गर्थे ? अहिलेसम्म सरकारले राजपासित कुनै सम्वाद गरेको छैन ।

सरकारले हामीलाई वार्तामा बोलाउने हो भने माथि भनिएका कुराहरु सुधार गर्नुपर्‍यो । जनतालाई सुविधा दिनुपर्‍यो । भ्रष्टाचारीमाथि कारवाही गर्नुपर्‍यो । बलात्कारीहरुलाई समात्नुपर्‍यो । संविधान संशोधन कहिलेसम्म गर्ने ? रेशम चौधरीलाई कहिले सपथ खुवाउने ? लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक गर्ने ?

यी तमाम विषयहरुका बारेमा सरकारले स्पष्ट कुरा ल्याएमा हामीले त हदैसम्मको लचकता अपनाएर यो सरकारलाई साथ दिएकै हो नि । हामीले आफ्नै कार्यकर्ताहरुबाट गाली खाएर भए पनि देश र जनतालाई केन्द्रविन्दुमा राखेर नयाँ डिस्कोर्समा जान्छ भने लौ न त साथ दिऔं भनेर न साथ दिएका हौं ।

तर, यो सरकारले संविधान संशोधनको कुरा त धेरै परको भयो, दैनिक जीवनमा सरकार छ भन्ने अनुभूति नै दिन सकेन । उल्टै सरकार जनतालाई तिमीहरु नबोल भनेर तर्साउने काम गरिराखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment