Comments Add Comment

आयल निगमको दावीः दशैंमा तेल नपाएर लाइन लाग्नुपर्ने अवस्था आउँदैन

२२ असोज, काठमाडौं । प्रायः दशैंअघि र पछि देशभरका पम्पहरुमा उपभोक्ताको लामो लाइन लाग्छ । नेपाल आयल निगमले दशैंमा आफ्ना तेल डिपोहरु बन्द गर्दा यस्तो समस्या वर्षैपिच्छे दोहोरिने गर्छ । आयल निगमले यो वर्ष तेलको लाइन नलाग्ने गरी डिपोहरुको व्यवस्थापन गर्ने दावी गरेको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले यो वर्ष काठमाडौंमा पम्पहरुमा तेलको लाइन देख्नुनपर्ने बताए ।

‘हामी थानकोट डिपोलाई दशैंमा एक दिन बन्द गरे अर्को दिन खोल्छौं । बजारमा तेलको माग हुनासाथ आकस्मिक रुपमा डिपो खोल्ने प्रवन्ध मिलाउँछौं,’ उनले भने,’यो वर्ष तेलको अभाव हुने अवस्था आउन दिँदैनौं ।’

भट्टराईले दशैं नजिकिएसँगै तेलको माग ह्वात्तै बढेको बताए । उनका अनुसार अहिले काठमाडौंमा पेट्रोल मात्रै दिनको ७ लाख लिटरसम्म खपत भइरहेको छ । डिजेल पनि ९ लाख लिटरसम्म बिक्री वितरण गर्नुपरेको उनले बताए ।

‘दशैंमा तेलको माग बढ्छ । त्यसैले माग व्यवस्थापनका लागि आवश्यक सबै प्रवन्धहरु मिलाइसक्छौं,’ उनले दावी गरे,’तेलको आपूर्तिमा पनि दशैंमा समस्या आउँदैन ।’
भट्टराईका अनुसार तेलको आपूर्तिका लागि भारतीय आयल कर्पोरेशन(आईओसी)सँग पनि समन्वय गरिने छ ।

‘भारतमा पनि दशैंको समयमा डिपोमा समस्या हुन्छ,’ भट्टराईले भने,’हाम्रो आपूर्ति प्रभावित नहुने गरी व्यवस्थापन गर्न आईओसीलाई भनेका छौं ।’

दशैंको समयमा लामो दूरीमा जाने सवारीहरु बाक्लो मात्रामा चल्छन् । त्यसका कारण देशभर नै तेलको माग ह्वात्तै बढ्छ ।

निमगले सप्तमीदेखि नै डिपो बन्द गरिदिएर बजारमा तेल नपठाउने गर्दा दशैंपछि पम्पहरुमा लामो लाइन देखिने समस्या वर्षैसाल देखिन्छ ।

भट्टराईले भने यो वर्ष उपभोक्तालाईसहज रुपमा तेल उपलब्ध गराउने गरी नै योजना बनेको र त्यसैअनरुप कर्मचारीहरुको परिचालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment