Comments Add Comment

आज घटस्थापनाः दशैंमा टिकासँगै जमरा किन लगाइन्छ ?

हिन्दू धर्मावलम्बीहरुले हर्षोल्लासको साथमा मनाउने दशैं पर्व हाम्रो घरआँगनमा आइसकेको छ ।

पारिवारिक मिलनको चाडको रुपमा लिइने दशैंको सबैभन्दा आकर्षक र महत्वपूर्ण पक्षको रुपमा आफ्नो मान्यजनको हातबाट टिका जमराको साथमा आर्शिवाद ग्रहण गर्नुलाई मानिन्छ ।

रोजगारीको कारण वर्षदिनसम्म घरबाहिर रहेका व्यक्तिहरु सकेसम्म मान्यजनको हातबाट टिका ग्रहण गर्न आफ्नो घर पुग्ने गर्छन् । आफ्नो घरमा मात्रै होइन मान्यजनको हातबाट हातबाट टिका र आर्शिवाद ग्रहण गर्न आफन्तकोमा जाने चलन रहिआएको छ ।

दशैंको संकेतः निधारमा रातो टिका र कानमा जमरा

दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरी रातो अक्षता सँगै कानमा जौं, मकै, धान र गँहूका लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैं मनाएको संकेतको रुपमा लिइन्छ ।

अझै चाखलाग्दो कुरा त दशैंमा टिकासँगै जमरा लगाइदिने चलन हिन्दू धर्मावलम्बी नेपालीहरुमा मात्रै रहेको छ । भारत लगायत अन्य देशका हिन्दूहरुले टिका जमरा लगाउँदैनन् ।

निधारमा रातो टिकासँगै पुरुषले ढाकाटोपीमा जमरा सिउरिएको र महिलाले चुल्ठोमा जमरा राखेर पिङ मच्चाउँदै गरेका तस्वीरहरुलाई दशैंको ‘आइकन’को रुपमा पनि लिइन्छ ।

त्यसैले आजभोली धेरैले दशैंको सझनास्वरुप टिका जमरा लगाइसकेपछि पारिवारिक तस्वीर खिच्ने र सामाजीक सञ्जालमा राख्ने गर्छन् ।

जमराले नेपालीको धार्मीक आस्था र साँस्कृतिक महत्वलाई झल्काउँछ । अरुबेलामा टिका लगाइदिँदा विभिन्न किसिमका मौसमी फूलहरुको प्रयोग गरिएपनि दशैंमा जमरा नै किन लगाइन्छ त ?

यस्तो छ जमराको महत्व

धार्मिक, सामाजिक, साँस्कृतिक एवम् स्वास्थ्यको दृष्टिले पनि जमराको धेरै ठूलो महत्व रहेको छ । दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरि जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ ।

जौंमा विभिन्न प्रकारका फाइदाकारी गुणहरु हुने भएको र दुर्गा भगवती लाई मनपर्ने भएकाले पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रुपमा प्रयोगमा ल्याइएको हुनसक्ने ज्योतिषहरुले बताउँछन् ।

जौंलाई स्वास्थ्यको दृष्टिले धेरै पौष्टिक पदार्थ मानिन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजामा मानिएको छ । आयुर्वेदिक उपचारमा जौंको अंकुरबाट गर्न सकिने उपचारको बारेमा उल्लेख गरिएको छ ।

त्यसैले जमरामा जौंको प्रयोग अनिवार्य मानिन्छ जौंको साथै मकै, गहुँ  र धानलाई पनि जमराको रुपमा राख्ने चलन छ ।

चिकित्सकहरुका अनुसार उच्च रक्तचाप, क्यान्सर एवम् डायविटिज जस्ता रोगहरुका बिरामीले सात वा नौदिनको जमरा पिसेर झोल बनाई नित्य सेवन गरेमा धेरै फाइदा पुर्याउँछ ।

जमराको जुसको सेवनले सौन्दर्यमा समेत निखार ल्याँउछ । जमराको प्रयोगबाट पेट, आन्द्रा, हाडजोर्नी एवम् अन्य रोगहरुलाई समेत फाइदा पुग्छ । नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरु धेरै छन् ।

जमरा कहिले र कसरी राखिन्छ ?

विजयादशमीको दिनमा मान्यजनले टिकासँगै लगाइदिने जमरा घटस्थापनाको दिन राख्ने चलन रहेको छ ।

आश्विन शुक्ल प्रतिपदाको दिनमा पर्ने नवरात्रको पहिलो दिन घटस्थापना गरि दशैंघर लगाएर हरेक घरमा जमरा राख्ने गरिन्छ । सुरुमा वैदिक विधिपूर्वक दियो कलश र गणेश स्थापना गरिन्छ ।

बिहानै नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याइ गोबरले लिपपोत गरेको पूजाकोठा वा दशैंघरमा माटो राखेर विधिपूर्वक घटस्थापना राखिन्छ । पूजास्थानको बीचमा एक विशेष घट अर्थात कलशको स्थापना गरिन्छ ।

कलशमा वरुणादी सम्पूर्ण देवी देवताको आहृवान गरिन्छ । साथै उक्त कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षेडशोपचारले आवाहन पूजन गरिन्छ ।

पूजन पछि उक्त घट वरिपरि राखिएको माटो वा वालुवामा जमराको लागि जौ छरिन्छ । जमरामा धान, गहँु मकै जस्ता अन्न पनि मिसाएर छर्ने चलन पनि रहेको छ ।

यसरी राखिएको जौ लगाएत अन्य अन्नहरु अंकुराएर बढ्दै जमराको रुपमा परिणत हुन्छन् । जमरा पँहेलो होस भन्नको लागि जमरा राखिएको छरेको कोठामा घामको प्रकाश पर्न दिँइदैन ।

जमरामा राम्रो होस भनेर दैनिक पानी राखिन्छ । जमरा जति लामो र पँहेलो हुन्छ दुर्गा भगवती त्यति नै प्रसन्न भएको मानिन्छ ।

नवरात्रभर दैनिक भगवती दुर्गाको नौ स्वरुपको पूजा यस घडामा गरिन्छ । दुर्गा भवानीको नौ स्वरुपमा नवदुर्गा भन्नाले शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्रीलाई बुझिन्छ ।

यसै गरि नवरात्रका विशेष दिन महासप्तमी महाअष्टमी र महानवमीको दिन क्रमश महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।

मातृशक्तिको आराधना गर्दै अंकुराएको जमरा विजया दशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पण गरेपछि मात्रै टिकामा प्रसाद स्वरुप लगाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment