+
+
Shares

दशैँमा जमरा राखे अशुभ हुन्छ ठान्ने सीमान्तकृत समुदाय

रासस रासस
२०८२ असोज ९ गते ६:४१

९ असोज, गलकोट (बागलुङ) । बडादशैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दशैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ ।

जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दशैँको चहलपहल छैन । घटस्थापनाको दिन राखेको जमरा विजयादशीको दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन भए पनि जमारा नराखी माझी समुदायले दशैँ मनाउने गरेका छन् । जमराबिना दशैँ मनाउने अनौठो परम्परालाई यहाँका माझी समुदायले वषौँदेखि निरन्तरता दिँदै आएका छन् ।

जमरा राखे नराम्रो घटना घट्ने भन्दै दुई पुस्ताभन्दा पहिलेदेखि जमरा नराखी नै दशैँ मनाउँदै आएको माझी समुदायका अगुवाहरूले बताउने गरेका छन् । घरमा जमरा राखे दशैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दशैँ मनाउने गरेको स्थानीय देउकुमारी माझीले बताइन् ।

पिता पुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दशैँमा जमरा नराख्ने गरिएको उनको भनाइ छ । करिब डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको भन्ने गरिएको माझीले बताइन् ।

यो समुदायमा जमरा राखेपछि घरकी कन्याको मृत्यु भएको किंवदन्तीअनुसार जमरा राख्न छोडिएको बताइन्छ ।  यहाँको खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दशैँ भने मनाउँदै आएका छन् । ‘जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको किंवदन्तीअनुसार जमरा राख्ने चलन छोडिएको बताइन्छ, तर दशैँ भने मनाउँदै आएका छौँ’, माझीले भनिन् ।

स्थानीय कृष्ण माझीले जमरा नराख्ने चलनमा यहाँका समुदायको साझा सहमति रहेको बताए । जमरा राखेपछि लगातार छोरीचेलीको मृत्यु भएर दशैँ रोकिएकाले जमरा राख्न छोडिएको हो भनेर पुर्खाहरूले भन्दै आएकाले पछिल्लो पुस्ताले पनि त्यसलाई निरन्तरता दिएको उनले सुनाए ।

खनियाबास र मालढुङ्गामा माझी समुदायका २० परिवारको बसोबास छ । पुर्खौंदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा खियाउने र बालुवा निकालेर गर्जो टार्दै आएका यहाँका माझीहरूले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?