+
+
Shares

हनुमानढोकाको दशैंघरमा राखियो जमरा (तस्वीरहरू)

आज छरिएको जौंको अंकुरणलाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ असोज ६ गते ९:१३

६ असोज, काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो ।

सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ । आज छरिएको जौंको अंकुरणलाई जमरा भन्ने गरिन्छ । दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिन्छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै पञ्चाङ्ग निर्णायक विकास समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।

घटस्थापना गरिएको स्थानमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।

परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा घटस्थापनापछि नवरात्रभर दैनिक बलि दिई शक्तिस्वरुपा दुर्गा देवीको विधिपूर्वक पूजा आराधना सुरु हुने र मंगल धुन पनि बजाइने हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीहरु बताउँछन् ।

बडादशैंको मुख्य दिन देवी दुर्गाको प्रसादको रुपमा दशमीको दिन त्यही जमरा र टीका लगाइन्छ । यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ । टीकाको शुभसाइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?