Comments Add Comment

फ्याटी लिभर, जसले कलेजो सडाइदिन सक्छ

२४ असोज, काठमाडौं । वर्तमान समयमा मानिसको त्रुटीपूर्ण जीवनशैलीले अनेकन स्वास्थ्य समस्याहरु सिर्जित गरिरहेका छन् । जसमध्ये एक हो फ्याटी लिभर ।

फ्याटी लिभरको सोझो अर्थ कलेजोमा अत्यधिक बोसो थुप्रिनु हो । दुई दशकदेखि कलेजोको उपचारमा संलग्न डा. अनिलकुमार मिश्र (ए.के. मिश्र) का अनुसार कलेजोले शरीरभित्र पाँच सयभन्दा बढी काम गरिरहेको हुन्छ । तर, त्यहाँ बोसो जम्मा भएमा ती कामहरु अवरुद्ध हुन सक्छन् र अन्ततः कलेजो नै सड्ने खतरा हुन्छ ।

प्रस्तुत छ, वीर अस्पतालमा कार्यरत नेपालका पहिलो कलेजो रोग विशेषज्ञ डा. मिश्रसँग फ्याटी लिभरबारे गरिएको कुराकानीका आधारमा तयार पारिएको जानकारीमूलक सामाग्रीः

मानव शरीरभित्रको सबैभन्दा ठूलो अंग हो, लिभर (कलेजो) । आकारमा मात्र ठूलो नभएर यसको महत्व पनि उत्तिकै बढी छ ।

कलेजोले मात्र शरीरभित्र पाँच सयभन्दा बढी काम गर्ने चिकित्सकहरु बताउँछन् । शरीरमा रगत जम्ने तत्व उत्पादनदेखि प्रतिरोधी क्षमतासम्ममा यसको कलेजोको हात हुन्छ । खानालाई पचाउने जुस पनि यसैले बनाउँछ । कलेजोले काम गर्न छोडेमा प्रतिरोधी क्षमता कम भई अनेक रोगको संक्रमण हुन सक्छ । त्यसैले कलेजोलाई स्वस्थ राख्न जरुरी छ ।

के हो फ्याटी लिभर ?

विभिन्न कारणले कलेजोमा बोसो थुप्रिएर उत्पन्न हुने स्वास्थ्य समस्या हो ‘फ्याटी लिभर’ । यदि बोसोको मात्रा दशदेखि बीस प्रतिशतसम्म सामान्य कलेजो फ्याटी लिभर (बोसोयुक्त कलेजो) मा बदलिने गर्छ ।

फ्याटी लिभरको पहिलो र ठूलो कारण भनेको त्रुटीपूर्ण जीवनशैली नै हो । खानपिनमा असावधानी र न्यून शारीरिक सक्रियताले यो समस्या पैदा गर्छ । फास्टफुड र माछा-मासुको अधिक सेवनका कारण मानिसहरुमा फ्याटी लिभरको समस्या बढिरहेको छ । त्यसबाहेक, मधुमेह, उच्च रक्तचाप, बाथ रोग तथा विभिन्न औषधीको साइड इफेक्टका कारण पनि फ्याटी लिभरको समस्या हुने गर्दछ ।

नेपालका शहरी क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत मानिसलाई फ्याटी लिभरको समस्या हुने पाइन्छ । यसको मुख्य कारण भनेको खराब खानपिन र न्यून शारीरीक सक्रियता नै हो ।

पहिले-पहिले मानिसहरु धेरै हिँड्ने गर्थे । शारीरीक श्रम पनि धेरै हुन्थ्यो । त्यसैले खाएको खाना सजिलै पचाउन सक्थे ।

तर, अहिले मानिसको शारीरीक सक्रियता कम छ । भोजभतेरको संस्कृति झांगिएको छ । खाएको खाना शरीरमै थुप्रिन्छ । यसरी थुप्रिएको खानाले कलेजोमा बोसोको मात्रा बढाउँछ र अन्ततः कलेजोलाई नै विगार्छ । त्यसैले त, फ्याटी लिभरलाई कहिल्यै पनि हल्का लिनु हुँदैन ।

फ्याटी लिभरका प्रकार

फ्याटी लिभर दुई प्रकारका हुन्छन् । अल्कोहलिक र नन-अल्कोहलिक ।

फ्याटी लिभर हुने विभिन्न कारणतत्वमध्ये अल्कोहलको सेवन पनि एक हो । अल्कोहलका कारण फ्याटी लिभरको समस्या हुनुलाई अल्कोहलिक फ्याटी लिभर भनिन्छ । यो बढी घातक हुन्छ । अल्कोहलका कारण कलेजोमा बोसो जम्मा भएमा त्यसले कलेजोलाई छिट्टै बिगार्ने र लिभर सिरोसिसको समस्या उत्पन्न हुने गर्छ ।

जबकि अन्य कारणले फ्याटी लिभर भएमा त्यसलाई नन-अल्कोहलिक फ्याटी लिभर भनिन्छ । एक तथ्यांक अनुसार हाल अमेरिकामा कलेजो प्रत्यारोपण गर्नुको आम कारणमध्ये नन-अल्कोहोलिक फ्याटी लिभर चौथो स्थानमा पर्छ । यो जाँड-रक्सी नखाने मानिसलाई बढी हुन्छ ।

नेपालका शहरी क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत मानिसलाई फ्याटी लिभरको समस्या हुने गरेको पाइन्छ । यसको मुख्य कारण भनेको खराब खानपिन र न्यून शारीरीक सक्रियता नै हो ।

बोसोको मात्रा धेरै भएमा कलेजोले शतप्रतिशत काम गर्न सक्दैन । खानालाई पचाउने यसको क्षमता ह्रास हुन्छ । यसबाट पाचनसम्बन्धी विभिन्न समस्या उत्पन्न हुन्छन् । परिणामस्वरुप, मानिसहरु पेट पोल्ने, कोखा दुख्ने, कब्जियत हुने लगायतका शिकायत लिएर  चिकित्सककहाँ पुग्ने गर्दछन् ।

यस्तो छ जोखिम

समयमै फ्याटी लिभरको समाधान ननिकालेको खण्डमा लिभर फाइब्रोसिसको स्टेजमा पुग्न सक्छ । लिभर फाइब्रोसिस भएमा कलेजो कडा हुँदै जान्छ । अनि कलेजोले राम्ररी काम गर्न सक्दैन । तथापि, समयमै उपचार गरेर यसलाई पनि सामान्य अवस्थामा फर्काउन सकिन्छ ।

त्यति हुँदासम्म पनि मानिस सतर्क नभएको खण्डमा भने लिभर सिसोसिस हुने गर्दछ । लिभर सिरोसिस भएमा कलेजो पूरै कडा भएर त्यस वरिपरको भागमा गाँठो पर्नुका साथै कलेजोको सतह तल-माथि हुने गर्छ । जसले गर्दा कलेजोको काम गर्ने क्षमतामा ह्रास आउँछ ।

लिभर सिसोसिस भएमा फाइब्रो स्क्यान मेसिनद्वारा यसको मापन गर्न सकिन्छ । यो मेसिनले कलेजोको कति प्रतिशत भाग बिग्रेको छ सजिलै पत्ता लगाउँछ । कलेजो पूर्ण रुपमा बिगि्रएको खण्डमा कलेजो प्रत्यारोपण गर्नुपर्ने अनिवार्यता हुन्छ ।

यी हुन् लक्षण

फ्याटी लिभर भएमा अपच हुने, बारम्बार पेट दुख्ने, कब्जियत हुने, खाना खानासाथ बाथरुम कुद्नु पर्ने, विहानमै तीन पटकसम्म दिसा हुने, कलेजोको तौल बढ्ने, पेट भारी भएको महसुस हुन, दाहिने कोखा मन्द-मन्द दुख्ने, पेट पोल्ने लगायतका समस्या देखिने गर्दछन् ।

मुक्ति पाउने जुक्ति

सुरुकै अवस्थामा फ्याटी लिभरको पहिचान गर्न सकेको खण्डमा यो समस्यालाई पूर्ण रुपमा हल गर्न सकिन्छ । औषधि खाइहाल्नु पर्दैन ।

फ्याटी लिभरबाट जोगिने पहिलो उपाय नै जीवनशैलीमा सुधार हो । जीवनशैलीमा सामान्य परिवर्तन ल्याउन सके तीनदेखि ६ महिना भित्रमा फ्याटी लिभरलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ ।

त्यसका लागि यी उपाय अपनाउनु जरुरी छ :

-अल्कोहलिक फ्याटी लिभर भएमा तत्काल अल्कोहल सेवन गर्न छोड्ने

-गाई, भैसीको घ्यु नखाने

– चार खुट्टे जनावरको मासु त्याग्ने

– अण्डाको पहेँलो भाग नखाने

-छाली, कुराउनी तथा दूधको तर नखाने

-दैनिक कम्तीमा एक घण्टा शारीरिक परिश्रम गर्ने

-खाद्य पदार्थको मात्रा घटाउने

-तौल घटाउने

शरीरको तौल घट्नासाथ बोसो घट्छ । र, बोसो घट्नासाथ कलेजोको फ्याट हट्छ  । त्यसका लागि शारीरिक क्रियाकलाप र एक्सरसाइज अपरिहार्य छ ।

शारीरिक गतिविधि अन्तर्गत दैनिक क्रियाकलाप पर्दछन् । जबकी एक्सरसाइजमा निश्चित क्रियाकलाप समावेश हुन्छन् । उदाहरणको लागि म एउटा कोठामा छु र, केही काम विशेषले अन्य कोठामा गइरहन्छु भने त्यसलाई शारीरिक गतिविधि भनिन्छ । यो विना योजना गरिन्छ ।

तर यदि कुनै व्यक्तिले योजना बनाएर विहान छ बजे उठ्छ र आधा घण्टा बाहिर दौडेर आउँछ भने त्यसलाई एक्सरसाइज भन्ने गरिन्छ । कलेजोलाई स्वस्थ राख्नका लागि पनि कम्तीमा शारीरिक गतिविधि गर्न आवश्यक छ । तर, कुनै कारण शारीरिक गतिविधि गर्न असमर्थ भएमा एक्सरसाइज गर्नैपर्छ । यो समयमा पनि गर्न सकिन्छ ।

यहाँ बुझन् के जरुरी छ भने शरीरलाई स्वस्थ राख्न पनि दिनमा कम्तीमा तीन किलोमिटर हिँड्नुका साथै तीन सय क्यालोरी बर्न गरेको हुनु पर्दछ । त्यस्तै, अनावश्यक खानेकुरा नखानुका साथै स्वच्छ पानी पिउनु पर्छ । रगत तथा रगतजन्य खाद्य पदार्थबाट कलेजो सम्बन्धि रोग लाग्ग्ने भएकाले यसबारे जोगिनु निकै आवश्यक छ ।

त्यसबाहेक, हेपाटाइटिस विरुद्धको खोप लगाएको खण्डमा मात्र पनि कलेजो सम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment