Comments Add Comment

लोकसेवा पास गर्नेमा प्रदेश २ अगाडि, ११४ विज्ञापनको नतिजा शून्य

२६ असोज, काठमाडौं । लोकसेवा आयोगले बिभिन्न पदका लागि प्रकाशित गरेको विज्ञापनमा आवेदन दिनेहरुको संख्या १० वर्षको अवधिमा ६ गुणाले बढेको छ । सबैभन्दा बढी आवेदन प्रदेश २ बाट परेको छ भने नियुक्तिका लागि सिफारिस पनि प्रदेश २ कै सर्लाही जिल्लामा गरिएको छ ।

लोकसेवा आयोगले बिहीबार राष्ट्रपति समक्ष बुझाएको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०६५/६६ मा कुल दरखास्त संख्या ८६ हजार १६८ मात्र थियो ।

तर, आर्थिक वर्ष २०७४/७५ मा आयोगमा कुल ५ लाख ६७ हजार ८ सय ५३ दरखास्त परेको आयोगका प्रवक्ता किरणकुमार शर्माले जानकारी दिए ।

परीक्षा सञ्चालन, विज्ञापन प्रकाशनलगायतका कार्यसम्पादनका लागि आयोगले आर्थिक वर्ष २०७४/७५ मा ७५ करोड ८२ लाख बजेट खर्च गरेको छ । राजस्व संकलन भने १४ करोड मात्रै भएको छ ।

सबैभन्दा बढी दरखास्त र नियुक्ति प्रदेश २ मा

उनका अनुसार यस अवधिमा प्रदेश २ बाट मात्रै २५ प्रतिशत आवेदन परेको छ र स्थायी ठेगानाको आधारमा नियुक्तिका लागि गरिएको सिफारिसमा पनि प्रदेश २ कै जिल्ला अगाडि छ ।
प्रदेश २ अन्तर्गत पनि सप्तरी जिल्लाबाट सबैभन्दा बढी दरखास्त परेको छ । बढी दरखास्त पर्ने पाँच जिल्लाहरूमा क्रमशः सप्तरी, धनुषा, सिरहा, सर्लाही, महोत्तरी र रौतहट रहेका छन् । आयोगका अनुसार सबैभन्दा कम दरखास्त परेका जिल्लाहरूमा मनाङ, मुस्ताङ, रसुवा, डोल्पा र मुगु जिल्ला रहेका छन् ।

प्रतिवेदन अवधिमा कुल ७ हजार ७ सय १८ जना उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको छ । त्यसमध्ये स्थायी ठेगानाका आधारमा प्रदेश नम्बर २ बाट नै सबैभन्दा धेरै १ हजार ५ सय ६९ जना उम्मेदवार सिफारिस भएका छन् ।

सबैभन्दा बढी उम्मेदवार सिफारिस हुने पाँच जिल्लामा क्रमशः सर्लाही, जुम्ला, गुल्मी, धनुषा, सप्तरी र रूकुम छन् ।

सबैभन्दा कम उम्मेदवार सिफारिस हुने जिल्लामा क्रमशः मुस्ताङ, रसुवा, डोल्पा, सोलुखुम्बु र तेह्रथुम रहेका छन् । मनाङ जिल्लाबाट भने कुनैपनि उम्मेदवार सिफारिस भएनन् ।

नियुक्तिका लागि सिफारिस भएका पुरुषहरु ५ हजार २ सय ५३ जना र महिला २ हजार ४ सय ६५ जना रहेका छन् । यस वर्ष सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २७ वर्ष रहेको प्रवक्ता शर्माले जानकारी दिए ।

खरिदार पदमा सबैभन्दा बढी आवेदन

गत वर्ष जस्तै यस वर्ष पनि खरिदार पदमा सबैभन्दा बढी १ लाख ४६ हजार ४ सय ७६ दरखास्त परेका छन् । यसैगरी बढी दरखास्त परेका अन्य पदहरूमा क्रमशः नायब सुब्बा, अ.हे.व., अ.न.मी., शाखा अधिकृत लगायत रहेका आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

धेरै दरखास्त पर्ने पदहरूमध्ये प्रतिपद औसत दरखास्त धेरै रहेका पदहरूमा विद्यालय निरीक्षक ३९९, नायब प्राविधिक सहायक ३५४, नायब सुब्बा ३०८ र खरिदार २११ रहेका छन् । गत वर्ष जस्तै यस अवधिमा पनि सबैभन्दा बढी संख्यामा २१ देखि २५ वर्ष उमेर समूहका उम्मेदवारले दरखास्त दिएका छन् । दरखास्त दिने उम्मेदवारको औषत उमेर २६ वर्ष छ ।

१०१ विज्ञापनमा दरखास्त परेन, ११४ विज्ञापनमा सबै फेल

यस अवधिमा भएका विज्ञापन मध्ये १ सय १ वटा विज्ञापनहरूमा कुनै पनि दरखास्त परेनन् । ६५ वटा आन्तरिक प्रतियोगिता, १ वटा खुला प्रतियोगिता र ३५ वटा समावेशी प्रतियोगिता तर्फका विज्ञापनमा दरखास्त नै नपरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित विज्ञापनमध्ये १ सय ९३ पदका लागि गरिएका विभिन्न १ सय १४ वटा विज्ञापनबाट कुनै पनि उम्मेदवार उत्तीर्ण हुन नसकेको आयोगले जनाएको छ ।

त्यस्तै २ सय ७२ पदका लागि भएका विभिन्न विज्ञापनहरूमा माग भएभन्दा न्यून संख्यामा अर्थात १ सय ३८ जना मात्र उम्मेदवार उत्तीर्ण भएका छन् ।

समावेशी समूहबाट १६ हजार ९३९ जना सिफारिस

आर्थिक वर्ष २०७३/७४ का विज्ञापनबाट प्रतिवेदन अवधि आ.व. २०७४/७५ मा समावेशी प्रतियोगिता तर्फ कुल ३ हजार २ सय ४४ जना सिफारिस भएका छन् ।

गत ८ वर्षको अवधिमा कुल ४१ हजार ६८ जना उम्मेदवारले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । त्यसमध्ये ८ वर्षको अवधिमा विभिन्न ६ समावेशी समूहका विज्ञापनमा जम्मा १६ हजार ९ सय ३९ जना उम्मेदवारहरू सिफारिस भएका छन् ।

समावेशी समूहका उम्मेदवारहरू खुलातर्फका विज्ञापनहरूबाट समेत उल्लेख्य संख्यामा सिफारिस भएका छन् ।

आयोगबाट सञ्चालित परीक्षाहरूमा अनियमितता गर्ने १ सय ३८ उम्मेदवारहरूलाई विभिन्न किसिमका कारवाही गरिएको छ, जसमा २७ जना महिला र १ सय ११ जना पुरूष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment