Comments Add Comment

गृह मन्त्रालयको निचोड : रक्सीकै कारण बलात्कार बढ्यो

२६ असोज, काठमाडौं । गृह मन्त्रालयले महिला तथा बालबालिकामाथिको हिंसाको मुख्य कारण मदिरा सेवनलाई औंल्याएको छ ।

शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रममा सहसचिव नारायणप्रसाद दुवाडीले मदिराका कारण जबर्जस्ती करणीका घटना बढेको बताए ।

दुवाडीका अनुसार जबरजस्ती करणी अपराधमा संलग्नहरुमध्ये ७३.६५ प्रतिशतले मदिरा सेवन गरेका थिए । मदिराकै नशामा जबरजस्ती करणी भएको पाइएको तथ्याङ्कमा उल्लेख छ । जबरजस्ती करणी अपराधमा संलग्नहरु मध्य २६.३५ प्रतिशतले मात्रै मदिरा सेवन नगरेको पाइएको जनाइएको छ ।

गृहमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा मदिरा सेवनको नशामा १७३ जबरजस्ती करणी महल अन्तर्गतका अपराध भएका छन् भने, ४९ वटा जबरजस्ती करणी अन्य कारणले भएका छन् ।

जोरजुलुममा करणी बढ्यो

अघिल्लो वर्षको तुलनामा जोरजुलुममा हुने जबरजस्ती करणी हृवात्तै बढेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७३/०७४ मा ललाइ फकाइ करणी गर्नेको संख्या बढी थियो । सो वर्ष जोरजुलुममा हुने १२० मा ४० देखाइएको थियो ।

तर, आर्थिक वर्ष २०७४/०७५ मा जोरजुलुममा भएको करणीलाई १२० मा करिब ९८ देखाइएको छ । अर्थात दोब्बर भन्दा बढीले जोरजुलुममका करणी भएको तथ्याङ्क छ ।

०७३/०७४ मा १२० मा ६३ ललाइफकाई करणी भएको देखाइएको थियो भने, ०७४/०७५ मा करिब ४२ देखाइएको छ । डरत्रास देखाएर करणी गर्ने घटना पनि केही बढेको तथ्याङ्कमा उल्लेख छ ।

०७३/०७४ मा १२० मा २४ डरत्रास देखाएर करणी भएको उल्लेख गरिएको छ भने, ०७४/०७५ मा झण्डै ४० देखाइएको छ । आर्थिक प्रलोभन देखाएर पनि केही करणी भएको मन्त्रालयले जनाएको छ ।

पीडक र पीडित एकै उमेरका

गृहमन्त्रालयको तथ्याङ्क अनुसार जबरजस्ती करणी अपराधमा संलग्न पीडक र पीडित एकै एकै उमेरका छन् । १६ वर्ष मुनिका पनि करणीमा संलग्न रहेका छन् तर थोरै छन् ।

सबैभन्दा धेरै १६ देखि २५ वर्ष उमेरका व्यक्तिहरु करणीमा संलग्न रहेको मन्त्रालयको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment