+
+
Shares

पत्रकार तेजुको खोजी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १६:३४

२८ असोज, डोटी । भदौ ९ गते बाजुराको बुढीनन्दा क्षेत्रबाट हराएका पत्रकार तेजबहादुर खड्का ‘तेजु’को खोजी गर्न माग गर्दै नेपाल प्रेस युनियन डोटी शाखाले प्रधानमन्त्रीलाई केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

हराएको ५१ दिन भइसक्दा पनि पत्रकार खड्काको कुनै पत्तो नलागेको भन्दै युनियनले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

भदौ ९ गते लाग्ने बाजुराको बुढीनन्दा मेलाबाट फर्किने क्रम सातपाखे भन्ने ठाउँबाट सम्पर्कबिहीन भएका पत्रकार खड्काको अहिलेसम्म पत्ता लागेको छैन ।

स्थलमार्गबाट खोजीका लागि धेरै प्रयासहरु भएका तर उपलव्धी नभएकोले हवाई मार्गबाट खोजी कार्य गरिदिन ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ ।

पत्रकार खड्काको खोजीका लागि स्थानीयस्तरबाट भएका प्रयासप्रति कृतज्ञता व्यक्त गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उहाँको अवस्था पत्ता लगाउन उच्चस्तरको प्रयत्न रहनु पर्ने आवश्यकता महसुस भइरहेको छ ।’

खड्का हराउदाको समयमा मौसमी अवस्था खराव रहेकाले प्रभावकारी खोजी कार्य हुन नसकेको भन्दै अव मौसम सुधार भएकाले खोजी कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ ।

‘सम्माननीय प्रधानमन्त्री ज्यूमा यस घटनाप्रति गम्भीर चाँसो गई तदारुकता देखाइयोस भन्ने अपेक्षा लिदै जिल्ला प्रशासन कार्यालयमार्फत यो ध्यानाकर्षण पत्र पेश गरेका छौं,’ ध्यानाकर्षण पत्रमा थप भनिएको छ, ‘पत्रकार खड्काको अवस्था पत्ता लगाउन तालिम प्राप्त दक्ष टोली खटाई एक पटक स्थलगत र हवाई दुवैतिरबाट खोजी कार्यका लागि आग्रह गर्दछौं ।’

सुदूरपश्चिम प्रदेश सरकार, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, महासंघ सुदूरपश्चिम प्रदेश समिति र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई समेत बोद्धार्थ दिइएको उक्त ध्यानाकर्षण पत्र युनियनका जिल्ला अध्यक्ष प्रकाश बमले निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहरालाई बुझाएका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै बोहराले आफूले तत्काल यो ध्यानाकर्षण पत्र फ्याक्समार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रेस युनियन डोटी शाखा संस्थापक अध्यक्षसमेत रहेका पत्रकार खड्का मेलाको रिपोटिङ्ग गर्ने क्रममा भाद्र ६ गते बुढीनन्दातर्फ लागेका थिए । उनी मेलाबाट र्फकने क्रममा सम्पर्कबिहीन भएका हुन ।

०५४ सालमा रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट पत्रकारिता आरम्भ गरेका खड्का हाल बाजुरा कोल्टीमा रहेको बुढीनन्दा एफएममा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?