Comments Add Comment

डकुमेन्ट्रीमा प्यारापाइलटको जीवन कथा

२९ असोज, पोखरा । सुवास थापाले बच्चैदेखि सराङकोटदेखि सेदीसम्म प्याराग्लाइडिङ उडेको देख्थे । उनलाई सानो हुँदा त्यो चंगा हो जस्तो लाग्थ्यो ।

पछि बुझ्ने भएपछि बल्ल त्यसमा मान्छे हुन्छन् र मान्छे पनि त्यसरी उड्न सक्छन् भन्ने थाहा पाएपछि उनी दंग परे । मनमनै कल्पिन्थे-‘कुनै दिन म पनि यसैगरि आकाशमा उड्छु ।’

पारिवारिक स्थिति निम्न वर्गीय थियो । खर्च गरेर प्यारापाइलट कोर्स सिक्न परिवारको गच्छेले भ्याउने थिएन । त्यसैले उनी त्यो क्षेत्रसँग नजिकिन शुरुवातमा ‘प्याराग्लाइडिङ प्याकिङ ब्वाइ’को रुपमा काम गरे । त्यसपछि उनी प्याराग्लाइडिङ कम्पनीको गाडी ड्राइभरको रुपमा पनि काम गरे । उनले यसो गरिरहँदा प्यारापाइलटहरुको संगत पाए र विस्तारै प्याराग्लाइडिङ उडाउन सिक्दै गए । पछि प्याराग्लाइडिङ पाइलटको कोर्ससम्म गर्न भ्याए ।

प्यारापाइलट बन्ने हुटहुटीले थापाले कसरी संघर्ष गरे यसकै वरिपरी डकुमेन्ट्री बनेको छ । एक्रो प्यारापाइलट सुवास थापाको बारेमा निर्माण गरिएको डकुमेन्ट्री ‘सुवास द एक्रो पाइलट’ पोखरामा प्रदर्शन भएको छ । अर्जुन बरालको निर्देशनमा बनेको डकुमेन्ट्री पोखरा मिडटाउन सिनेमाजमा प्रदर्शन भएको थियो । डकुमेन्ट्रीलाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए ।

अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका ‘एक्रो पाइलट’ थापाको प्याराग्लाइडिङ यात्रालाई डकुमेन्ट्रीले समेटेको छ । २० वर्षको उमेरबाट प्याराग्लाइडिङ उडाउन शुरु गरेका एक्रो पाइलट थापा कसरी अहिलेको स्थितिसम्म आइपुगे त ? भन्ने कुरा डकुमेन्ट्रीमा खुलाइएको छ ।

थापा अहिले पोखरामा एक्रो पाइलटको रुपमा स्थापित भइसकेका छन् । ‘एक्रो पाइलट’को रुपमा उनी विश्वमै चर्चा कमाइसकेका छन् । एक्रो पाइलट हुनका लागि थापाले गरेका संघर्ष र भोगेका दुख डकुमेन्ट्रीमा समेटिएको छ ।

‘हामीसँग विश्वमा निकै प्रभाव पार्न सक्ने यस्ता खाले एक्रो पाइलट पनि छन् । र, यस्तो प्रतिभाको बारेमा हामीले बोल्नुपर्छ भन्ने सोचेर नै डकुमेन्ट्री बनाएका हौँ ।’ निर्देशक बरालले भने ‘पहिलोपटक एउटा विश्वविख्यात प्याराग्लाइडिङ खेलाडीलाई डकुमेन्ट्रीमा समेट्न पाउँदा आफैलाई आत्मसन्तुष्टी भएको छ ।’ त्यसो त निर्देशक बराल आफै पनि प्याराग्लाइडिङ पाइलट हुन् ।

डकुमेन्ट्रीलाई मिलन श्रेष्ठ र साहिल खानले सम्पादन गरेका हुन् । सौगात पोखरेलको लेखन रहेको डकुमेन्ट्रीलाई विदेशी क्यामेराम्यान क्राइसिस ज्याकले खिचेका हुन् । १५ लाख रुपैयाँ लगानी रहेको डकुमेन्ट्रीलाई विभिन्न फेस्टिभलहरुमा प्रदर्शन गर्ने निर्देशकले बताए । यो डकुमेन्ट्री लक्जमवर्गको डियू फिल्म फेस्टिभलमा छनोट भएको र केही समयपछि प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment