Comments Add Comment

कर्णालीमा डुंगा दुर्घटनाः रात परेको भन्दै फर्कियो प्रहरी

२९ असोज, कैलाली । कैलालीको चिसापानीमा सोमबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।

तर, खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राति उद्दार गर्नका लागि आवश्यक उपकरण अभाव हुँदा प्रहरी टोली फर्किएको हो ।

इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले घटना स्थलमा ‘नर्मल ड्यूटी’ टोली रहेको बताउँछन् ।

‘अहिले पनि एउटा टोली त त्यहाँ छ । तर, राति उद्दार सम्भव भएन’ उनले अनलाइनखबरसँग भने, ‘उनीहरुलाई स्थानीयले लाइफ ज्याकेट दिएका छन् । केही परे उनीहरु खटिन्छन् ।’

स्थानीय प्रहरीले सशस्त्र प्रहरी र सेनाको टोलीलाई खबर गरे पनि अझैसम्म घटनास्थलमा पुगेका छैनन् ।

स्रोतका अनुसार सशस्त्रको टोलीले सोमबार बिहान मात्रै घटनास्थलमा उपस्थित हुन सक्ने जनाएको छ ।

सोमबार साँझ चिसापानीमा पाँच जना सवार डुंगा दुर्घटना भएको थियो । तीन जना भने पौडिएर बाँचेका छन् ।

नदीमा पौडिँदै गरेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसी नेतृत्वको टोलीले उद्दार गरेको थियो । उद्दारपछि उनीहरुको स्थानीय कीर्ति मेडिकल हलमा उपचार गरिएको छ ।

घटनामा कैलालीको जोशीपुर–५ का पुरुषोत्तम चौधरी र जोशीपुर–२ का समिर बडेला बेपत्ता भएका छन् ।

साँझ ६ बजे भएको दुर्घटना दुर्घटनाबारे खबर पाएलगत्तै प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो । तर, राति अवेरसम्म पनि उनीहरुको अत्तोपत्तो लागेन ।

स्थानीयबासीका अनुसार दुर्घटना भएको ठाउँ त्यहाँको स्थानीय पर्यटकीय क्षेत्र पनि हो । त्यहाँ पर्यटकको लागि स्थानीयले डुंगा सञ्चालन गरेका थिए ।

चौधरी, बडेलासहित ५ जनाको समूह आइतबार दशैंको उत्सव मनाउन भन्दै त्यहाँ गएको थियो । उनीहरुले नदीको एक किनारमा गएर मदिरा सवेन गरेका थिए ।

साँझ फर्किने क्रममा डुंगा दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment