Comments Add Comment

चाडपर्वमा हुनसक्छ पेटको गडबडी, यी खानेकुरा नखाऔं

चाडपर्वमा हामी मनलाग्दो खान्छौं । त्यसमाथि दशैं जस्तो पर्व । अर्थात मासु खाने पर्व । थरीथरीका मासु खाइने नै भयो । त्यसमाथि आफन्त, इष्टमित्रकहाँ आयोजना गरिने जमघट र भोजभत्तेरले पनि हाम्रो पेट खाली राख्न दिदैन । बरु, आवश्यक्ताभन्दा बढी खाइदिन्छौं ।

अहिले धेरैजसो यात्राका क्रममा होलान् । कसैलाई पूख्र्यौंली थातथलो र्फकने हतारो, कसैलाई ससुराली जाने । भनौं, सडकको चहलपहल पनि थामिनसक्नु छ ।

यात्राको क्रममा, अझ लामो यात्रामा पेट दुखे के गर्ने ? यात्रा नै खल्लो हुन्छ । दशैंको उल्लास नै हराउँछ । त्यसैले यतिबेला खानपानमा ध्यान दिन आवश्यक छ ।

पेट दुख्ने समस्याले यदाकदा तपाईं हामीलाई सताउन सक्छ । खासगरी अस्वस्थ खानेकुराको सेवनले पेट दुख्ट सक्छ । कुनै स्वास्थ्य समस्याको कारणले पनि पेट दुख्ने गर्छ । यस्तो अवस्थामा पेटको दुखाईलाई ठिक गर्न के गर्ने ?
खानपानमा ध्यान दिने । पर्याप्त पानी पिउने । अस्वस्थ्यकर, बासी, चिल्लोचाप्लो, मसलेदार खानेकुराबाट बच्ने, जो हाम्रो शरीरमा पच्दैन ।

यात्राका क्रममा जथाभावी खानेकुरा सेवन नगर्ने । संभव भएसम्म घरमै बनाएर लगेको खानेकुरा सेवन गर्ने ।

खानपानमा सर्तकता

पेट दुखेको बेलामा खानेकुरामा पनि ध्यान दिनुपर्छ । विशेषगरी कस्ता खानेकुरा खाने र कस्ता खानेकुरा नखाने भन्ने जानकारी हुन जरुरी छ । किनभने केही खाद्यपदार्थहरुको सेवन यो अवस्थामा हानीकारक हुन सक्छ ।

पेट दुखेको बेलामा हामीले घरमै सादा, चिल्लो पिरो र मसाला कम भएकको ताजा खानेकुरा बनाएर खानुपर्छ । होटल र बाहिरको खाना सेवन गर्दा पेट दुख्ने समस्या झनै बढ्न सक्छ ।

१. मसालेदार खाना

मसालेदार खाना खानाले पेटमा दुखाई र पेट पोल्ने समस्यालाई अझै गम्भिर बनाउँछ । चिल्लो र धेरै पिरोयुक्त खानेकुरा खानाले पेट दुखेको बेलामा झनै गाह्रो बनाउँछ । यसैले मसालेदार खानाको सेवन पेट दुखेको बेलामा नगर्नुहोस् । भुटेको तारेको मासु, चाउमिन जस्ता खानेकुरा नखानुहोस् ।

२. प्रशोधित खाना

प्रशोधित खानामा धेरै केमिकलहरु हुन्छन् साथै यो छिट्टै पच्दैन पनि । पेट दुखेको समयमा तपाईंले प्रसोधित खानेकुरा खानु हुँदैन ।

३. एसिडयुक्त खाद्यपदार्थ

एसिडयुक्त खाद्यपदार्थ जस्तै भुँइकटहर, सुन्तला र टमाटर आदीको सेवन नगर्नुहोस् । यसले तपाईंको पेट दुख्ने समस्यालाई अझै बढाउन सक्छ । त्यसैले यसको सेवन गर्नबाट बच्नुहोस् ।

४. क्याफिनको सेवन

पेट दुखेको बेलामा क्याफिनको सेवन गर्नु हानीकारक हुन्छ । यसैले पेट दुखेको बेला कफी लगायत अन्य क्याफिनयुक्त पेय पदार्थ सेवन नगर्नुहोस् ।

५. उच्च फाइबरयुक्त खाद्यपदार्थ

धेरै फाइबर युक्त खानाको कारण तपाईंलाई धेरै दिशा लाग्ने समस्या निम्तन सक्छ सक्छ । यसैले पेट दुखेको बेलामा उच्च फाइबरयुक्त खानेकुराको सेवनबाट बच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment