Comments Add Comment

दशैंमा घुम्न निस्कने हो ? यस्ता छन् सम्भावित ८ गन्तव्य

३० असोज, काठमाडौं । पहिले-पहिले पर्यटक भन्नासाथ विदेशी भनेर बुझिन्थ्यो । तर, आजकाल नेपालका पर्यटकीय गन्तव्यहरुमा नेपालीहरुकै धेरै घुइँचो हुन्छ ।

दशैं विदाको सदुपयोग गर्दै परिवारसहित घुम्न निस्कने ट्रेन्ड नेपालीहरुमा बढिरहेको छ । सभ्रान्त वर्गकाहरु विदेश जान्छन् भने मध्यम वर्गकाहरु स्वदेशकै विभिन्न गन्तव्यमा रमाउँछन् । स्वदेशभित्र घुमघामका लागि यो उपयुक्त मौसम पनि हो । जाडो र गर्मी दुवै नहुने भएकाले यतिबेला घुम्दा न पसिनाले निथ्रुक्क भइन्छ, न त चिसोले नै सताउँछ ।

यदि तपाईंले पनि यो दशैंमा घुम्ने योजना बनाउनु भएको छ भने हामी देशभित्रका केही सम्भावित गन्तव्यहरुका बारेमा जानकारी दिँदैछौं ।

१. कालिन्चोक

राजधानीबाट धेरै टाढा जान नचाहनेहरुका लागि उपयुक्त हुनसक्छ कालिन्चोक । छोटो दुरी तथा सहजै पुग्न सकिने भएकाले यो आन्तरिक पर्यटकको रोजाईमा परिरहेको छ । शान्त तथा मनोरम वातावरणसहित आँखैअगाडि हिमाल देखिने भएकाले पनि दोलखाको कालिन्चोक लोकपि्रय गन्तव्य बनेको हो । धार्मिक हिसावले निकै प्रख्यात रहेको छ कालिन्चोक भगवती मन्दिर । यो मन्दिर समुन्द्री सतहबाट ३ हजार ८ सय ४२ मिटर उचाईमा अवस्थित छ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि दोलखाको सदरमुकाम चरिकोटसम्म पिच बाटो छ, जुन पार गर्न ५ घण्टा लाग्छ । चरीकोटदेखि कुरीसम्म १७ किलोमिटर कच्ची बाटोको यात्रा गर्नुपर्छ । कुरीसम्म जिपमा यात्रा गर्न सकिन्छ । कुरी पुग्नका लागी दुई घण्टाको ठाडो उकालो चढ्नुपर्छ ।

२. सौराहा

चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार हो सौराहा । जंगली जनावर र सफारीमा अभिरुची राख्नेहरुका लागि यो उपयुक्त स्थल हो । विगत केही बर्ष अघिसम्म यहाँ बाह्य पर्यटकहरुको मात्र चहलपहल हुन्थ्यो भने अहिले आन्तरीक पर्यटक पनि बाक्लै हुन्छन् । अझ दशै-तिहारको समयमा त विदेशी भन्दा नेपाली बढी देखिन्छन् ।

सौराहा आउने पर्यटकहरुको मुख्य ध्येय भनेको हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्दै दुर्लभ जंगली जनावर हेर्नु नै हुन्छ । साथै नारायणी नदीबाट देखिने सुर्य अस्ताएको दृश्यले पनि पर्यटकलाई लोभ्याउँछ । एउटा हात्तीमा चार जनासम्म बस्न सकिन्छ । हात्ति सवारी लगभग ३६ किलोमिटर गरिन्छ जसका लागी ४ घण्टा समय लाग्छ ।

निकुञ्जमा ५ सय ३ गैंडा र लगभग १ सय ५० बाघ छन । जंगल सफारीमा जरायो, बँदेल, चितुवा, बाँदर, मयुर पनि प्रशस्त देखिन्छन् ।

सौराहाको अर्को आकर्षण भने राप्ती नदीमा डुंगा यात्रा हो । ४५ मिनेट डुंगा चढ्दा नदी किनारमा गोही हेर्न पाइन्छ । जल यात्रा सकिनेवित्तिकै १० मिनेटको हिँडाईमा हात्ती प्रजनन केन्द्र पुगिन्छ । त्यहाँ विभिन्न उमेरका हात्तीको छावा रहेका छन् ।

कसरी पुग्ने ?

काठमाडौदेखि करिव ६ घण्टाको बस यात्रामा सहजै सौराहा पुग्न सकिन्छ । हवाईजहाजमा जाँदा पनि हुन्छ ।

३. पोखरा/धम्पुस

नेपालको सबैभन्दा प्रसिद्ध पर्यटकीय गन्तव्य पोखरामा के छैन ? हिमाल हेर्न होस् वा डुंगामा तालको सयर गर्न, गुफाभित्र पस्न होस् वा शक्ति पिठहरुको दर्शन गर्न होस् स छहरा-छाँगामा रमाउन होस् वा प्याराग्लाइडिङको मज्जा लिन होस्, वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्छन् ।

पोखराको सरडकोटबाट दर्जनौ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यस्तै पोखराबाट सहजै सवारीसाधनमा पुग्न सकिन्छ धम्पुस । धम्पुसबाट माछापुच्छे्र र अन्नपुर्ण हिमाल आँखै अगाडी देख्न सकिन्छ ।

पोखरा र सराङकोट क्षेत्रबाट माछापुच्छ्र्रे हिमालको एक मात्र चुच्चो देखिन्छ भने धम्पुसबाट ठयाक्कै माछाको पुच्छर जस्तै देखिन्छ । त्यसैले माछापुच्छ्रेको बास्तविक स्वरुप धम्पुसबाटै अवलोकन गर्न सकिन्छ ।

कसरी पुग्ने ?

पोखरादेखि २२ किलोमिटर दूरीमा रहेको छ धम्पुस । यो यात्रा तय गर्न एक घण्टा लाग्छ । धम्पुस पुग्न हेम्जादेखि पदयात्रा पनि गर्न सकिन्छ । अन्नपुर्ण पदमार्ग विभिन्न प्रवेशद्वारमध्ये एक हो, धम्पुस ।

यो स्थान फिल्म तथा गीतहरु सुटिङका लागि पनि प्रख्यात रहेको छ । ‘हाई वे टु धम्पुस’ फिल्म बनेपछि झनै यो ठाउँ चर्चित भएको थियो । धम्पुसमा धार्मिक पर्यटकीय स्थलहरु भुमे मन्दिर, नेवाता बराह, सिद्धवराह पनि छन् । पोखरा बसपार्कबाट पनि नियमित रुपमा धम्पुस जानका लागि बसहरु छुट्छन् ।

४. खप्तड

बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थलमा पर्छ खप्तड राष्ट्रिय निकुन्ज । खप्तड क्षेत्रको प्रमुख बिशेषता भनेका विशाल फाँटहरु हुन् । यहाँ ठुला-साना गरी २२ वटा फाँट छन् ।

फुल फुल्ने मौसममा रंगीचंगी फुलहरु यहाँ फुलेका हुन्छन् भने हिँउदमा सेताम्य हिउँले फाँटहरुलाई ढपक्क ढाकेको हुन्छ ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरु छन् । यस क्षेत्रमा ४ रैथानेसहित १ सय ३५ किसिमका फूल फुल्ने गर्दछन् । नेपालमा पाईने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छ । खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातीका रैथाने उभयचर बाघबुट्टे निगांलो पाईने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो ।

किसरी पुग्ने ?

काठमाडौंदेखि धनगढी पुग्न बसमा ६ सय ५० किलोमिटर यात्रा गर्नुपर्छ । धनगढीदेखि डोटीको सिलगढीसम्म पुग्न बसमा ८ घण्टा लाग्छ । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । बगलेगसम्म जिप रिजर्भ गरेर पनि लान सकिन्छ ।

डोटीको सिलगडीदेखि सुरु हुने पैदल यात्राको पहिलो दिनमा झिगराना र दोस्रो दिनमा खप्तड राष्ट्रिय निकुन्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।

५. रारा

आन्तरिक पर्यटकको प्रमुख रोजाईमा पर्ने गन्तव्यमध्ये एक हो रारा ताल । जंगलको विचमा समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाईमा अवस्थित छ यो ताल ।
रारा तालमा विश्वमा अन्यत्र नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ । तालको पुरा आकृति हेर्न समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाईमा अवस्थित मुर्मा टप उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो रंग बदल्ने गर्दछ ।

कसरी पुग्ने ?

रारा ताल पुग्न दुई विकल्प छन् । पहिलो, नेपालगञ्ज एयरपोर्टबाट ५० मिनेटको हवाईयात्रा पश्चात मुगुको ताल्चा विमानस्थल पुगिन्छ । विमानस्थलबाट ३ घण्टाको पैदल हिँडेर रारा ताल पुग्न सकिन्छ । दोस्रो, सुर्खेतबाट सवारी साधनमा दुई दिन लामो यात्रा पश्चात मुगुको गमगढी पुगिन्छ । त्यहाँबाट तीन घण्टाको पैदल यात्रापश्चात पुग्न सकिन्छ रारा ताल ।

६. मुस्ताङ (मार्फा, कागवेनी र मुक्तिनाथ)

आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षणको स्थान हो मुस्ताङ । आन्तरिक पर्यटकहरु मुस्ताङको मुक्तिनाथ मन्दिर बढी जाने गर्दछन् भने बाह्य पर्यटकहरु माथिल्लो मुस्ताङ अर्थात् लोमाङथाङ जाने गर्दछन् ।

मुस्ताङमा रहेको एउटा रमणीय स्थल हो मार्फा । वरिपरि पहाडले घेरिएर बिचमा गुजुमुजुक्क परेको यो गाउँ निकै सुन्दर छ । मार्फामा पर्यटकलाई चाहिने सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट छन् । मार्फा स्याउ उत्पदानका लागी निकै प्रख्यात छ ।

त्यसपछि आउँछ कागबेनी । दुई खोला बिचमा रहेको छ यो स्थान । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको यो पवित्र तीर्थस्थल पनि हो । प्राकृतिक सुन्दरताको हिसाबले पनि यो निकै प्रख्यात छ ।

नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाईमा पर्न अन्नपुर्ण पदमार्गमा समेत पर्दछ कागवेनी । कागवेनीमा ७०० बर्ष पुरानो काग छोंदे थुप्तेन साम्फेल लिड गुम्बा छ । केही बर्षअघिसम्म यो गुम्बामा मुस्ताङभरिकै घरका माइलो छोरा लामा बन्न पठाउने प्रचलन रहेको थियो ।

मुक्तिनाथ मन्दिर चाहीँ धार्मिक पर्यटनका लागि प्रख्यात छ । मन्दिर परिसरसम्म सवारी साधन लैजान मिल्दैन । मन्दिरभन्दा केही तलसम्म गाडी जान्छ । समुऽ सतहदेखि ३ हजार ७ १० मिटरको उचाईमा रहेको यो मन्दिरमा आउँदा लेक लाग्ने सम्भावना पनि हुन्छ ।

यस मन्दिरलाई हिन्दूहरूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्छन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरूमध्ये यो एक हो । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो ।

ल्याण्डस्केप, जनजीवन, गुफा तथा रहनसहनका लागि प्रख्यात रहेको मुस्ताङ तल्लो र माथिल्लो मुस्ताड गरेर दुई तहमा विभाजित छ । देशमा गणतन्त्र आईसक्दा पनि त्यहाँ राजा र राजपरिवारहरुको अवशेष बाँकी छ । माथिल्लो मुस्ताडमा सडक पुगेपछि अहिले आन्तरीक तथा बाह्य पर्यटकको ओइरो लागिरहेको छ ।

कसरी पुग्ने ?

मुस्ताङ पुग्नलाई पोखरादेखि जोमसोमसम्म हवाईजहाजको यात्रा गर्नुपर्छ । त्यसपछि पैदल पनि जान सकिन्छ भने जिप पनि चल्छ । जोमसोमदेखि ३० मिनेटमा मार्फा पुग्न सकिन्छ । मार्फादेखि कागवेनी डेढ घन्टा लाग्छ ।

कागवेनीदेखि मुक्तिनाथ मन्दिर पुग्न २ घण्टा लाग्छ ।

७. घोरेपानी – अन्नपूर्ण आधारशिविर

धौलागिरी हिमाल हेर्न सबैभन्दा उपयुक्त स्थान हो घोरेपानीको पुनहिल । यहाँ स्वदेशीभन्दा बिदेशी पर्यटकहरु बढी पुग्ने गर्दछन् ।तर, पछिल्लो समय नेपाली युवाहरुको पनि चहलपहल बढिरहेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि घोरेपानी पदयात्रा एउटा प्रमुख आकर्षण हो । यस पदयात्रामा खाने बस्ने राम्रो सुविधा छ ।

घोरपानीबाट आधा घण्टा उकालो हिँडेपछि पुग्न सकिन्छ पुनहिल । घोरपानी हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ । अन्नपूर्ण हिमाल लगायत दर्जनौं हिमाल आँखै अगाडि हेर्न सकिन्छ । यो विशेषगरी स्वदेशी युवाहरुको गन्तब्य स्थल हो ।

पुनहिलबाट टाढापान, छोमरोङ्ग, हिमालय होटल हुँदै अन्नपुर्ण आधारशिविर पुग्न सकिन्छ । यो क्षेत्रमा खान र बास बस्न सम्पुर्ण सुविधा रहेको छ । अत्यधिक मात्रामा पर्यटक जाने भएकाले होटलहरुमा अगि्रम बुकिङ्ग गर्नु पर्छ ।

कसरी पुग्ने ?

पोखराबाट पुनहिल हुँदै घोरेपानी घुम्न जानका लागि पाँच दिनको समय चाहिन्छ । पहिलो दिन पोखराबाट तिखेढुंगा र दोस्रो दिन घोरेपानी पुगिन्छ । तेस्रो दिन घोरपानीबाट सुर्य उदाएको दृश्यावलोकन गर्न पुनहिल टावर गएर पुन घोरेपानी आई टाडापानीमा बस्नुपर्छ । चौथो दिन घान्द्रुक र पाचौ दिन पोखरा पुगिन्छ । 

यो बाहेक पोखराबाट पुनहिल हँुदै अन्नपुर्ण आधारशिविर पुगेर पोखरा आउनलाई १० दिनको पदयात्रा राम्रो हुन्छ ।

८. पाथीभरा

विश्वको तेस्रो अग्लो हिमाल लगायत दर्जनौं अन्य हिमाल हेर्नका उपयुक्त स्थल हो पाथीभरा । समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटरमा उचाईमा रहेको ताप्लेजुङ्गमा अवस्थित पाथीभरादेवी स्वदेश र विदेशमा प्रख्यात रहेकी छिन् ।

भारतीयहरु ठूलो संख्यामा यहाँ आउँछन् । पूर्वको पर्यटक तथा धार्मिकस्थलमध्ये अग्रपङ्तीमा आउने पाथीभरा मन्दिर परिसरमा कुनै होटल नभए पनी भक्तजनहरुलाई बस्ने र खाने राम्रै व्यवस्था छ ।

कसरी पुग्ने ?

काठमाडौंदेखि दुई दिनको बस यात्रामा पाथिभारा पुग्न सकिन्छ । नभए काठमाडौबाट सुकेटार हवाइजहाजमा गएर चार घण्टाको पैदल यात्रा पश्चात पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment