Comments Add Comment

महोत्तरीमा भूत भगाउन ‘भूत मेला’ सुरु

३० असोज, महोत्तरी । महोत्तरीको औरही नगरपालिका स्थित सोनामाई शक्तिपीठमा मंगलबारदेखि भूत मेला सुरु भएको छ ।

औरही नगरपालिका ७ मा अवस्थित सोनामाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ । हरेक वर्ष वडादशैको सप्तमीदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष पनि मंगलबारदेखि सुरु भएको हो ।

वडा दशैंको सप्तमीदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौ पीडित र दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।

भूत प्रेत, कथित बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने बताइन्छ भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास छ ।

वर्षौदेखि भूत, पिसाच, कालो जादुटुना र कथित बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै को कसबाट सताइको भन्ने आफै भन्ने गरेको पुजारी नवल झाले बताए ।

उनका अनुसार देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै-पर्दै, रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछिन् । दरबारमा पुगेका पीडितहरु माताको दृष्टिपरेपछि निको भई आ-आफ्ना घर र्फकने गरेको पुजारी झाको भनाइ छ ।

सप्तमीदेखि बिजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटौडा देखि भारतका पटना शहरसम्मका हजारौ पीडित महिला र पुरुष पुग्ने गरेको अर्को पुजारी झगरु झाको भनाइ छ ।

स्थानीय वीरेन्द्र यादवले घर घरमा भूतप्रेतबाट पीडित भएकाहरु मेलामा आएर खुसी भएर जाने गरेको बताए ।

सोनामाई शक्तिपीठमा दर्जनौ धामी झाँक्रीहरु रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पुजारी बताउँछन् ।

म्ााताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेतको शक्ति नलाग्ने विश्वास जनमानसमा छ।

यता महिला अधिकारकर्मीहरुले भने २१ औं शताव्दीमा समेत भूत, बोक्सी लाग्ने विश्वास गर्दा मधेशमा महिलाहरु बढी पिडित हुने गरेको बताउने गरेका छन् ।

वि.स.०५८ साल साउन ३० गते महोत्तरीको सिमरदहीमा बोक्सीको आरोपमा मरनीदेवीमाथि भएको अमानवीय घटनाले महोत्तरीलगायत देश विदेशमा समेत चर्चा पाएको थियो ।

यस्ता भूतप्रेत जस्तो अन्धबिश्वासमा लाग्दा समाजमा भूत मेला र यस्तो घटना हुने गरेको महिला अधिकारकर्मीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment