३ कात्तिक, काठमाडौं । असोज २७ गते बस्ने भनिएको नेकपा सचिवालयको बैठक दशैं अगाडि बस्न सकेन । कात्तिक ४ गते आइतबार बस्ने भनिए पनि शनिबार साँझसम्म बैठकको समय तोकिएको छैन ।
अब बस्ने भनिएको नेकपाको सचिवालय बैठकमा मन्त्री हेरफेरसम्बन्धी एजेण्डाले प्रवेश पाउने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीले दशैंलगत्तै केही मन्त्री फेरबदल गर्ने संकेत गरेका छन् ।
‘सचिवालय बैठक भोलि (आइतबार) बस्ने भनिएको छ’, नेकपामा एक सचिवालय सदस्यले अनलाइनखबरसँग भने, ‘अब बस्ने बैठकमा सरकारको मूल्यांकनसम्बन्धी एजेण्डाले प्रवेश पाउने छ । त्यसपछि केही मन्त्रीहरु फेरबदल हुन सक्छन् ।’
गृहमन्त्री फेर्ने प्रधानमन्त्रीको ईच्छा, प्रचण्ड अनुत्तरित
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको तीन महिने अवधि पूरा भएका बेला सबै मन्त्री र सचिवलाई बोलाएर कार्ययोजना पेश गर्न र प्रभावकारी काम गर्न निर्देशन दिएका थिए ।
कार्यकालको ६ महिनासम्म आइपुग्दा प्रधानमन्त्री ओलीले प्रभावकारी काम गर्न नसक्ने मन्त्रीहरु फेर्ने संकेत गरेका थिए । नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि भारत भ्रमणको पूर्वसन्ध्यामा टीम परिवर्तन गरेैर भए पनि सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।
तर, पार्टी अध्यक्षद्वयले मन्त्री हेरफेर गर्न तयार रहेको संकेत गर्दै आए पनि अहिलेसम्म कानूनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएको बाहेक कोही पनि मन्त्रीहरु परिवर्तन भएका छैनन् ।
मन्त्री फेरिने चर्चासँगै कोको मन्त्री बाहिरिएलान् भन्ने त्रासचाहिँ धेरैजना मन्त्रीहरुमा बढेको छ । विशेष गरी पर्यटनमन्त्री रविन्द्र अधिकारी फेरिन सक्ने चर्चा छ । प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापालाई नै फेर्न चाहेको नेकपा स्रोत बताउँछ ।
तर, बादललाई गृहमन्त्रीबाट हटाउने मामिलामा प्रचण्डले ओलीलाई जवाफ दिन नसकेको स्रोत बताउँछ ।
बादललाई हटाउँदा नेकपाभित्रको शक्ति सन्तुलन खल्बलिन सक्ने डर प्रचण्डलाई छ । उता पूर्वमाओवादीका नेताहरु चाहिँ अर्थमन्त्री युवारज खतिवडालाई पनि हटाउनुपर्ने लाइनमा रहेको स्रोतको भनाइ छ ।
कामको भूमिकाका हिसाबले हेर्ने हो भने ओली सरकारका कोही पनि मन्त्रीहरुको काम गराइ प्रभावकारी देखिएको छैन । युवा पुस्ताले आश गरेका रविन्द्र अधिकारीदेखि लिएर उद्योगमन्त्री मात्रिका यादव, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसम्मको कार्यसम्पादन कमजोर देखिएको छ ।
गृहमन्त्री रामबहादुर थापा वादलजस्तै अर्थमन्त्री डा. युवराज खतिवडाको भूमिका पनि प्रभावकारी हुन नसकेको जनगुनासो छ । त्यस्तै उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्तिबहादुर बस्नेतको पनि काम गराई प्रभावकारी देखिएको छैन ।
सञ्चारमन्त्री गोकुल बास्कोटा बेलाबखतमा विवादमा आइरहेका छन् । यसरी सबै मन्त्रीहरुको काम गराईलाई हेर्दाखेरि फेरिनुपर्नेमा प्रायः सबै मन्त्रीहरुको नाम लिनुपर्ने अवस्था छ ।
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले मन्त्रीहरु फेर्छौं भने पनि फेर्ने त्यति सजिलोचाहिँ देखिँदैन । तर, यही टीम लिएर अघि बढ्ने ओ भने ओली सरकारले गति लिन सक्ने पनि देखिँदैन ।
प्रतिक्रिया 4