Comments Add Comment

कांग्रेस विधान परिमार्जनः सभापति शक्तिशाली बनाउने प्रस्ताव पौडेल र सिटौलाले मानेनन्

७ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रदेश सरकारलाई नेकपाका अध्यक्ष प्रचण्डले सचेत गराएकोदेखि राजधानीमा विद्युतीय बस सञ्चालन भएकोसम्मका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

त्यसैगरी, कांग्रेसमा सभापति शक्तिशाली बनाउने प्रस्तावमा पौडेल–सिटौला पक्षले फरक मत राखेको, राष्ट्रसंघीय मिसनमा अब २० प्रतिशत महिला प्रहरीले अवसर पाउने भएको, बाझिएका कानून संशोधनले गति नलिएको, सेनालाई चीनले अढाइ अर्ब सहयोग गर्ने भएकोलगायत खबरलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलाे पृष्ठमै स्थान दिएका छन् ।

कांग्रेसमा सभापतिलाई शक्तिशाली बनाउने गरी  विधान परिमार्जन गर्न गरिएको प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएकोलाई आज नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ ।

सभापति शेरबहादुर देउवा खपक्षको बहुमत रहेको विधान मस्यौदा समितिले सभापतिलाई थप बलियो बनाउने गरी सभापतिबाहेकका सबै ९ पदाधिकारी मनोनीत गर्ने प्रस्ताव गरेको थियो । आफूबाहेकका सबै पदाधिकारी मनोनीत गर्ने गरी सभापतिलाई शक्तिशाली बनाइए नेतृत्व निरंकुश बन्ने जिरह गर्दै पौडेल–सिटौला पक्षले त्यसमा असहमति जनाएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकामै नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने महिला प्रहरीको संख्या बढाएर २० पुर्याएको अर्को खबर पनि छ । फम्र्ड पुलिस युनिट शान्ति मिसनअन्तर्गत कुल संख्यामध्ये २० प्रतिशत महिला प्रहरी पठाउने भएको हो ।

कान्तिपुरको मुख पृष्ठमा नेकपा अध्यक्ष प्रचण्डले प्रदेश सरकारलाई दिएको चेतावनीसँगै बाझिएका कानून संशोधनमा आलटाल भइरहेको खबर छ ।

संविधानसँग बाझिएका कानून अबको साढे चार महिनाभित्र संशोधन गरिसक्नुपर्ने भए पनि सरकारले अझै मस्यौदा तयार नपारेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

कान्तिपुर लेख्छ– संघीय संसद शुरु भएको एक वर्ष आगामी फागुन १९ भित्र कानून संशोधन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । कानून मन्त्रालयका अनुसार कानून संशोधनका लागि आवश्यक विधेयक मस्यौदा कुनै मन्त्रालयले पठाएका छैनन् ।’

अन्नपूर्णले खानेपानी मन्त्रालयमा ब्रह्मलुट भएको लेखेको छ । समाचार अनुसार असार १५ देखि ३२ सम्म मात्रै अढाइ अर्ब रुपैयाँ रकमान्तर भएको छ । यसरी गरिएको रकमान्तरमा सबैभन्दा बढी प्रधानमन्त्रीको गृह जिल्लामा रकम निकासा गरिएको छ ।

जेठदेखि प्रतिबन्ध लगाइएको मलेसियामा रोजगारी खुलाउन दुई देशबीच कात्तिक १२ गते समझदारी पत्रमा हस्ताक्षर हुने भएकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा कभरेज गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

नागरिकको पहिलो पृष्ठमा विद्युत्तीय बस सञ्चालनदेखि ओभरटेक नगर्न प्रदेश २ का मुख्यमन्त्रीलाई प्रचण्डले चेतावनी दिएकोसम्मका खबर छन् ।

राजधानीले नेकपाभित्र बढेको विवादले नयाँ गुटको जन्म भएको दाबी गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरेको समाचारमा उल्लेख छ ।

गोरखापत्रमा पाँच महिना बित्दा पनि नेकपाको एकता प्रक्रिया नटुंगिएको, कांग्रेस महासमिति बैठकको तयारीमा जुटेकोलगायत खबर छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment