Comments Add Comment

जोमाथि ठूला क्लबको आँखा गडेको छ

७ कात्तिक, काठमाडौं । फ्रान्स पेरिसमा जन्मिएका एड्रिएन रेबियोटले युवा समय क्रेटेल, म्यानचेस्टर सिटी, पउ हुँदै पेरिस सेन्ट जर्मेनमा बिताएका थिए ।

२०१२ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) कै बी टिममा रहेका रेबियोटले २०१२ देखि नै १७ वर्षको उमेरमा पीएसजी सिनियर टिममा खेल्न सुरु गरेका थिए । फ्रान्सको १६ वर्षमुनिको टिमदेखि अहिले राष्ट्रिय टिमसम्म पुगेका रेबियोटमाथि धेरै क्लबले आँखा लगाइरहेका छन् ।

फ्रान्सको हरेक उमेर समूहमा खेलेका रेबियोट रसिया विश्वकपमा पनि पाएको अवसरमा भरपर्दा खेलाडी बनेका थिए । पीएसजीमा सेन्टर मिडफिल्डमा उत्कृष्ट देखिएका रेबियोटले आफ्नो क्षमता पनि देखाइरहेका छन् ।

मिडफिल्डमा रहेर पनि डिफेन्सिभ भूमिकामा देखिन सक्ने उनको क्षमताले नै अहिले क्लबहरुको आँखामा परिरहेका छन् । प्ले मेकरको रुपमा उनी डिफेन्सदेखि अट्याकसम्म अवसर मिलाउन सक्छन् ।

हुन त उनको खेल शैली गोलकर्ताका रुपमा र गोलका अवसर बनाउने रुपमा पनि देखिएको छैन । सिनियर स्तरमा ६ सिजनलाई हेर्दा उनले गरेका गोल र असिस्टको दोहोरो संख्या एक सिजन मात्रै पुगेको थियो । तर, खेल मिलाउन उनले जुन स्तरको मेहनत गरेका हुन्छन्, त्यो ठूलो छ ।

खेलमा पोसेसन बनाइराख्न र बलमा नियन्त्रण गर्न सक्ने कारणले नै २३ वर्षका रेबियोट चलेका छन् । बल नै नछोइ टर्न हुनसक्ने, तीब्रतामा आइरहेको बल नियन्त्रण गरेर पास मिलाउने उनको शैली राम्रो छ ।

रेबियोटमाथि अहिले लिभरपुल, टोटनह्याम, म्यानचेस्टर सिटी, चेल्सी र बार्सिलोनाले आँखा लगाइरहेका छन् । जसमा उनलाई ल्याउन लिभरपुलले धेरै नै कसरत गरिरहेको छ । लिभरपुलमा कप्तान जोर्डन हेन्डरसन र नेबी केटियासँग मिडफिल्डमा रेबियोटको तालमेल पनि उत्कृष्ट हुन सक्छ ।

टोटनह्याममा पनि रेबियोटको सम्भावना बनिरहेको छ । जहाँ ३–४–२–१ को फर्मेसनमा उनको उपस्थिति बलियो हुन सक्छ । जहाँ क्रिष्टियन इरिकसन र डेल अलिसँग उनको तालमेल मिल्न सक्छ ।

प्रिमियर लिग विजेता टिम म्यानचेस्टर सिटीले पनि रेबियोट ल्याउने चाहना देखाएको छ । युवा बेलाको केही समय सिटीमै बिताएकाले पनि रेबियोट सिटी जाने सम्भावना बलियो नै छ । सिटीमा उनी लिभरपुल र टोटनह्याममा भन्दा फरक रुपमा डिफेन्सिभ मिडफिल्डमा देखिन सक्छन् ।

प्रिमियर लिग क्लबहरु लिभरपुल, टोटनह्याम, म्यानचेस्टर सिटी, चेल्सीसँगै स्पेनिस क्लब बार्सिलोनाले पनि रेबियोट ल्याउने चाहना देखाएको छ । वर्तमानलाई हेरेर भन्दा पनि भविष्यसम्म हुनसक्ने खोलाडीका रुपमा बार्सिलोनाले रेबियोटलाई हेरेको छ ।

बार्सिलोनाले अहिले आफ्नै ४–३–३ को शैलीमा राम्रा खेलाडीहरु पाइरहेको भए पनि आन्द्रेस इनिस्टाले क्लब छाडेपछि मिडफिल्डमा धेरै नै ध्यान दिइरहेको देखिन्छ । आर्टुरो भिडाल, आर्थर जस्ता नयाँ खेलाडी ल्याएको बार्सिलोनाले अझै मिडफिल्ड खोज्नुले पनि त्यसलाई पुष्टि गर्छ ।

गएको सिजन आएका फिलिप कोटिन्होसँगै बार्सिलोनामा लामो यात्रा गरेका इभान र्‍याकिटिक र सर्जियो बुस्केट्स रहेकाले रेबियोटले खेल्ने समय नै पाउन मुस्किल हुन सक्छ । भिडाल नै बेञ्चमा परेर निराश भइरहेका बेला रेबियोटले त्यो गल्ती गर्ने देखिँदैन । यदि भविष्यलाई हेरेर ३० वर्षे बुस्केट्सको स्थान बनाउन चाहने हो भने रेबियोटको भविष्य भने राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment