Comments Add Comment

बालुवा चाल्नेलाई के दशैं के तिहार ?

७ कात्तिक, सिन्धुपाल्चोक । चिसो सुरु भइसकेको छ । बिहानको छपक्कै शीतले केही काम गर्न सकिदैन अनि त्यसमा पनि नदीको छेउमा चिसोको सिरेटाले कान फुट्ला जस्तै हुन्छ ।

सुनकोशीको उजाड बगरमा बालुवा निकाल्नेहरुको भीड थामिनसक्नुको छ । के दशैं, के तिहार यस क्षेत्रका स्थानीय बालुवा निकालेर त्यसबाट बिक्री भएको पैसाले बिहान बेलुकीको गुजारा चलाइरहेका छन् । दशैंमा नवमी र टीकाको दिन घरमा परिवारसँगै बसेर दशैं मनाएका बालुवा मजदुरहरु टीकाको भोलिपल्टदेखि नै बालुवा निकाल्न बगरमा जम्मा भइसकेका छन् ।

साविक कालिका गाविस-३ का गोपी माझीका लागि यही बगर नै जीवन धान्ने आधार बनिरहेको छ । विहान सवेरै बगरमा र्झछन् अनि बेलुका अबेरसम्म बगरमै हुन्छन् उनी । पछिल्लो एक महिनायता बालुवाकै कमाइले उनले परिवारका पालेका छन् । खोला किनारमा बालुवाको थुप्रो लगाउँदै उनी भूकम्पमा भत्किएको घर ठड्याउने सपना बुनिरहेका छन् ।

‘दुई छाक खानुपर्‍यो, घर बनाउनु त छँदैछ’, सुनकोसी किनारमा बालुवा चाल्दै गरेका उनले सुस्केरा हाले । बगरको बालुवा उत्खनन् र बिक्री गरी एक महिनामा २० हजारसम्म कमाई हुने उनी सुनाउँछन् । ‘दुःख छ, कमाइ पनि छ’, उनी भन्छन्,’महिनाको बीस हजारसम्म कमाइन्छ ।’ उनको आफ्नै बगर छैन । तर बगरको मजदुरीबाट उनी पछिल्ला केही दिनयता राम्रो कमाइ गरिरहेका छन् । स्थानीय अर्जुन माझीसँग बगर किनेरै उनले बालुवाको काम सुरु गरेका थिए ।

कात्तिकको चिसोमा, कालिकास्थित सुनकोसीको बगरमा सयौं मानिसहरु छन् । कोही बालुवा झिकिरहेका छन्, कोही बालुवा चालिरहेका छन् । कोही टिपरमा लोड गरिरहेका छन् । टन्टलापुर घामको कुनै पर्वाह नगरी बगरको राप सहँदै मजदुरी गरिरहेका छन् मानिसहरु ।

त्यही भीडमा कालिका पुरानाकोटका अमृत भुजेल पसिना चुहाउँदै बगरमा पाखुरा बजारिरहेका छन् । बिहान सवेरै बगर झरेर बेलुका अवेर घर र्फकनु उनको दैनिकी बनिरहेको छ । सोमबार बगरमा पुग्दा उनी बालुवाको थुप्रो लगाउँदै थिए ।

दैनिक दुई घनमिटर भन्दा बढी बालुवा निकाल्दै आएका उनी पनि दैनिक पन्ध्र सय भन्दा बढी कमाइ हुने सुनाउँछन् । सडक र बगरधनीलाई गरी प्रतिटिप दुई हजार खर्चनुपर्ने र ९ हजारसम्म बँच्ने गरेको उनी सुनाउँछन् । ‘तीन दिनमा एक टिप बालुवा जम्मा हुन्छ, खर्च कटाएर ९ हजार त बँच्छ’, उनी भन्दै थिए ।

नदी आसपासका स्थानीय मात्र हैनन्, सुनकोसीको बगरले अन्य जिल्लाका मानिसहरुलाई पनि तानेको छ । सुदूरपश्चिमका मानिसहरु सुनकोसी किनारमा बालुवाको मजदुरी गरिरहेका छन् । बिहारदेखि मजदुरी गर्न भारतीयहरु आएका छन् । भनेजस्तो रोजगारी छैन, जीवन धान्ने उपाय भएन ।

कर्णाली प्रदेश सुर्खेतका दीपक थापाका लागि सुनकोसीको बगर नै कमाइ खाने थलो बनेको छ । एक महिनाअघि सुर्खेतदेखि सुनकोसीको बगरमा आइपुगेका उनी विहान सबेरैदेखि बालुवा निकाल्न थाल्छन्, बेलुका अबेरसम्म बालुवामै ब्यस्त हुन्छन् । दिनमा साढे दुई मिटरसम्म बालुवा निकाल्छन् उनी ।

‘अब माल नै सकिन लाग्यो, नत्र त दिनमा दुई हजारसम्म कमाइ हुन्थ्यो’, बगरमा बालुवा निखि्रँदै गएकोप्रति चिन्तित हुँदै उनी भन्छन् । पछिल्लो एक महिनामा बालुवाबाट २० हजार कमाई गरी घर पठाएको उनी सुनाउँछन् । स्थानीयहरु वास बस्न घर जान्छन्, तर उनी बगरमै रात कटाउँछन् । मजदुरका लागि बगरमै केही टहरा बनाइएका छन् । त्यही टहरामा उनी बास बस्ने गरेका छन् । ‘दुख नगरी खान नपाइने रेछ हजुर’, उनी भन्छन्, ‘दिनभर काम गर्छु, राति पनि यही बगरमै बस्छु ।’

कालिकाका सानुबाबु माझी भने आफ्नै माटोमा राम्रो आम्दानी गरिरहेका छन् । सुनकोसीको उजाड बगर नै यतिबेला उनका लागि आम्दानीको दरिलो आधार बनेको छ । दुख र परिश्रम गरे आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सकिने उनी सुनाउँछन् ।

‘उजाड देखिने यही बगरमै पैसा रहेछ, पैसा कमाउन किन बिदेश जानु ?’, उनी भन्छन् । बालुवाको काम गरी आफूले मासिक ३५ हजारसम्म कमाएको उनी सुनाउँछन् । तर बगरको बालुवामा पनि बिचौलियाहरु हुँदा मजदुर मारमा परेको उनी बताउँछन् । ‘बगर कसैको निजी हुँदैन, सबैले मजदुरी गर्न पाउनुपर्छ’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment