Comments Add Comment

व्यवस्थित वीरगञ्ज अभियान फेरि सुरु

९ कात्तिक, वीरगञ्ज । चाडवाडको समयमा केही दिन रोकिएको ‘व्यवस्थित वीरगञ्ज’ अभियान पुनः सुरु भएको छ ।

बिहीबार विगतको कामको समीक्षा र आगामी कार्यायोजनाको बारेमा छलफल गरेका अभियन्ताहरुले शुक्रबारदेखि अभियानको गतिविधि शुरु गरेका हुन् । शुक्रबार बिहान वीरगञ्जको पानी ट्याङ्की टोलमा घरदैलो गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार भुसाल, प्रहरी नायब उपरीक्षक मानबहादुर राई, वडा नं ८ का वडा अध्यक्ष राजकिशोर गुप्ता, पानी ट्याङ्की टोल सुधार समितिका पदाधिकारी समेतको सहभागितामा वडा नं ८ मा घरदैलो गरिएको हो ।

घरदैलोका क्रममा सडक तथा पेटी अतिक्रमण नगर्न, सडकमा निर्माण सामग्री नराख्न, फोहोर जथाभावी नफ्याँक्न, जथाभावी सवारी पार्किङ नगर्न आग्रह गरिएको अभियानका संयोजक दिलिपराज कार्कीले जानकारी दिए ।

त्यसैगरी टोलमा अव्यवस्थित रुपमा गाई पालेर टोल, नाला दुर्घन्धित बनाइरहेको पाइएकोले उनीहरुलाई सम्झाइएको अभियन्ताहरुले बताएका छन् ।

पानी ट्याङ्कीमा रहेको सेकुवा गल्लीका कारण टोलको नै बदनाम हुुनुको साथै साँझमा सेकुवा खान आउनेहरुले जथाभावी सडक ढाक्नेगरी मोटरसाइकल पार्किङ गरेर राख्ने गरेको गुनासो स्थानीयले गरेका छन् । उनीहरुले अभियानको नाममा एकदुई दिन आउने र जाने क्रम मात्रै देखिएको भन्दै काम हुनुपर्नेमा जोड दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं वडा अध्यक्ष राजकिशोर गुप्ताले अब एक्सनमा जाने बताएका छन् । उनीहरुले महानगरपालिकाको जेसिबी मर्मत भइरहेको बताउँदै केही दिनमै सडक पेटी अतिक्रमण भत्काइने प्रतिबद्धता जनाएका छन् । जथाभावी गाई लगायत पशु चौपाया पालेर टोल नै दुर्गन्धित गर्नेलाई समेत कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।

छाडा चौपाया र कुकुर नियन्त्रण गरिने

अभियान अन्र्तगत वीरगञ्ज महानगर क्षेत्रमा छाडा छोडिएका पशु चौपाया नियन्त्रण अभियानलाई निरन्तरता दिइने भएको छ । नगर प्रहरीले प्रयोग गर्ने गाडी मर्मत भइरहेको र मर्मत सम्पन्न हुने वित्तिकै छाडा पशु चौपाया नियन्त्रण गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । बिहीबार पनि एक दर्जन सुंगुर नियन्त्रणमा लिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका क्षेत्रमा छाडा कुकुरको विगविगीले सर्वसाधरण हैरान भइरहेका छन् । हुलका हुल कुकुर रातदिन सडकमा दौडने गरेका छन् । जसले गर्दा नगरबासी हैरान छन् । रातभर समूहमा जम्मा भएर हो-हल्ला गर्नुको साथै मानिसलाई साँझ बिहान हिँडडुल गर्नसमेत समस्यामा पारिरहेको आदर्शनगरका पियुष कादमिया बताउँछन् ।

वीरगञ्ज महानगरपालिकाले भने कुकुर नियन्त्रणको काम खर्चिलो भएकोले सम्बन्धित निकायसँग छलफल भइरहेको बताएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले छाडा कुकुर नियन्त्रणका लागि कुकुरको बध्याकरण गर्ने संस्थासँग कुरा भइरहेको बताए ।

‘कुकुरलाई मार्न पनि मिल्दैन, बाहिर जंगलमा लगेर छोड्दा पनि फर्केर आउँछ, एउटै उपाय बन्ध्याकरण देखिएको छ । त्यसले वंश वृद्धि रोक्छ’ उनले भने ‘त्यसका लागि प्रति कुकुर ५ हजार ५ सय जति खर्च लाग्ने देखिएको छ । हामीले त्यस्तै काम गर्ने संस्थासँग सहकार्यका लागि छलफल चलाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment