Comments Add Comment

हिरासतबाटै भागे दुई थुनुवा, छानबिन गर्न समिति गठन

९ कातिक, विराटनगर । विराटनगरका मोहम्मद अस्फाकको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका मुख्य अभियुक्त हिरासत तोडेर भागेका छन् ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतकक्षबाट मोहम्मद सद्दाम हुसेन र महम्मद अरिफ आलम भेन्टिलेसनको रड काटेर भागेका हुन् । हिरासत कक्षमा आलम र हुसेनलाई छुट्टै कोठामा राखिएको थियो । उनीहरुले कोठाको भेन्टिलेसनमा रहेको ८ वटा रडमध्ये ६ वटा रड काटेर फरार भएका हुन् ।

शुक्रबार विहान १ बजेदेखि ३ बजेको बीचमा भेन्टिलेसनको ६ वटा रड काटेर फरार भएका हुन् । बिहीबार इलाका प्रहरी कार्यालय रानीमा १९ जना थुनुवा राखिएको थियो । अस्फाक हत्या आरोपमा पक्राउ परेका ५ मध्ये मुख्य अभियुक्त हुसेन र आलमलाई छुट्टै कोठामा राखिएको थियो । अन्य ३ आरोपी सहित १७ जनालाई छुट्टै कक्षमा राखिएको थियो ।

‘एउटै मुद्दाको अनुसन्धानको क्रममा प्रभाव पार्न सक्ने भएकाले मुख्य अभियुक्तलाई छुट्टै स्थानमा राखिएको थियो ।’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान थापाले भने ‘ भेन्टिलेसनको रड काटेर राति भागेका हुन् ।’ उनले थुनुवाहरु फरार हुने समयमा ड्युटीमा रहेका सात जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रहरीको मिलमतोमा भागेको हुन सक्ने भएकाले छानबिनका लागि समिति पनि गठन भएको छ । मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीका अनुसार डिएसपी निशान थापाको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन गरिएको छ । समितिले छानबिन सुरु गरिसकेको छ ।

गौतमबुद्ध स्कुल विराटनगरको कक्षा १० मा अध्ययनरत अस्फाक गत असोज १ गतेदेखि बेपत्ता थिए । उनको शव असोज ७ गते विराटनगर १९ मा भित्री सडक खण्डमा रहेको हृयुमपाइप भित्र भेटिएको थियो । शव भेटेको सात दिन पछि असोज १४ गते प्रहरीले अस्फाकको हत्यामा संलग्न हुसेन र आलमलाई सार्बजनिक गरेको थियो । आफूहरुले छोरोका अपहरण गरेको भन्दै उनीहरुले अस्फाकको परिवारसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए ।

इलाका प्रहरी कार्यालय रानीको कमाण्ड प्रहरी निरीक्षक सन्तोष निरौलाले सम्हालिरहेका छन् । बिहीवार उनी बिदामा बसेका थिए । उनी विदा बसेकै दिन राति हत्या आरोपी फरार भएका हुन् । निरौला बिदामा बसेका कारण इलाकाको कमाण्ड सई डम्बर थापाले सम्हालेका थिए । फरार थुनुवाहरु गत असोज १४ गतेदेखि प्रहरी हिरासतमा थिए ।

कसरी भागे आरोपी ?

इलाका प्रहरी कार्यालय रानीमा बिहीवार राती आलोपालो सिस्टममा ७ जना प्रहरी ड्युउटीमा खटिएका थिए । प्रहरी चौकी सधै सुरक्षा पहरा भित्र हुन्छ । अझ थुनुवा कक्षमा बिषेश निगरानी हुन्छ । तर प्रहरी निगरानी भित्र रहेकै कक्षबाट फरार हुनलाई प्रहरीको मिलेमतो भएको हुनसक्ने स्रोतको दाबी छ । थुनुवा कक्षको भेन्टिलेसनको ६ वटा रड काट्दा पनि प्रहरीले चाल नपाउनु शंकास्पद रहेको प्रहरी स्रोत बताउँछ ।

थुनुवा भागेपछि प्रहरीले रड काट्न प्रयोग भएको हृयाक्सो ब्लेट पनि भेटेन । भेन्टिलेसनको रड हेर्दा हृयाक्सो ब्लेट प्रयोग भएको डिएसपी थापाले बताए । रड काटन प्रयोग भएको ब्लेट पनि उनीहरुले साथमै लगेका छन् । थुनुवासम्म रड काट्ने उपकरण कसरी पुग्यो र कसरी हत्या आरोपी भागे भन्ने बिषयमा अनुसन्धान तिब्र पारिएको डिएसपी थापाले जानकारी दिए ।

आरोपी खोज्न भारतमा

हिरासत कक्षबाट फरार भएकाहरुको खोजीकालागि ब्यापक मात्रमा प्रहरी परिचालन गरिएको छ । हिरासतबाट फरार भएकाहरु भारततर्फ भागेको हुन सक्ने भएकाले प्रहरीले भारततर्फ खोजी तिब्र बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment