Comments Add Comment

इन्जिनियरको कुलमानलाई प्रश्न-पब्लिसिटीमा बढी लागेको हो ?

९ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘पब्लिसिटी’मा आफ्नो कुनै दिलचस्पी नरहेको प्रष्ट पारेका छन् । शुक्रबार काठमाडौं आयोजित एक कार्यक्रममा घिसिङले आफूले जिन्दगीमा कहिल्यै पब्लिसिटीका लागि भनेर काम नगरेको बताए ।

उनले सही नियतका साथ काम गरेकाले नै नेपालमा विराल अवस्थामा पुगेको लोडसेडिङ हट्ने अवस्था आएको भन्दै यसलाई आफूले गरेको पब्लिसिटीका रुपमा नहेर्न अनुरोध गरे ।

कार्यक्रममा इन्जिनियरिङका एक विद्यार्थीले ‘कुलमान घिसिङ पर्फर्मेन्सभन्दा बढी पब्लिसिटीमा लागेको हो ?’ भनेर गरेको प्रश्नमा उनले सर्वसाधारण र मिडियाले धेरै पछ्याएको कारण कसै-कसैलाई त्यस्तो लागेको हुन सक्ने बताए ।

‘म पब्लिसिटीमा विश्वास गर्थेँ भने दिनदिनै मेरो कार्यक्रममा भाषण गरेर बित्थे होला, मैले आफूलाई निमन्त्रणा आउने ९० प्रतिशत कार्यक्रममा असमर्थता जाहेर गर्छु,’ उनले भने,’सबैले माया गरेरै बोलाउनु भएको हुन्छ । तर, पनि म मेरै काममै फोकस हुनुपर्छ । म पब्लिसिटीमा लाग्थेँ भने दिनमा एउटा टेलिभिजनमा म गफ दिइरहेको दखिन्थेँ ।’

उनले दैनिक सयौं भेटघाट र कार्यक्रमलाई पन्छाएर प्राधिकरणलाई सबल बनाउन र ग्राहकलाई विश्वसनीय सेवा दिनमा नै आफ्नो ध्यान केन्दि्रत रहेको प्रष्ट्याए ।

घिसिङले आफूले लोकपि्रयता खोजेको जस्तो देखिने सबै किसिमका कार्यक्रमबाट आफू बचेर हिँडेको भन्दै कतिपय कार्यक्रमहरुको निमन्त्रणा भने नर्कान नै नमिल्ने अवस्था हुँदा त्यस्तो देखिएको हुन सक्ने उनको स्पष्टीकरण छ ।

‘मैले इन्जिनियर्स एसोसियसनले गरेको कार्यक्रममा आउँदिन भन्न सकिनँ, यस्ता बाहेक अधिकांश निमन्त्रणालाई मैले स्वीकार गर्न सक्दिन’ उनले भने,’म आइदेओस् भन्ने चाहना धेरैको हुन्छ । तर, सबैलाई समय दिन सक्ने अवस्था छैन ।’

उनले मिडियाले आफ्नो बारेमा धेरै लेख्दा पनि त्यस्तो देखिएको हुन सक्ने बताए । मिडियालाई लेख्नबाट आफूले रोक्न नसक्ने भन्दै मिडियामा समाचार आएका भरमा ‘पब्लिसिटी’ भएको भन्ने रुपमाबाट नहेर्न उनले अनुरोध पनि गरे ।

‘लोडसेडिङ हटाएपछि एकपटक अभिनन्दनका लागि भनेर आयोजना गरिएको कायर्क्रममा जान मैले सयपटक असमर्थता जनाएँ । तर, कार्यक्रम सुरु हुने भनिएको समयभन्दा एक घण्टापछि चाबहिलबाट मन्त्रीज्युले नै आउनुस् भने पछि म जानै कर लाग्यो,’ उनले भने,’चाबहिलबाटै बाजागाँजा सहित र्‍याली रहेछ, मलाई कम्ति अप्ठेरो लागेन । मलाई यस्तो कुरामा ज्यादै ‘अड’ लाग्छ ।’

उनले पर्फमेन्स भएकै कारण पब्लिसिटी भएको जस्तो देखिएको हुन सक्ने भन्दै आफू यस्ता विषयमा सजग रहेको सुनाए । कार्यक्रममा उनले नेपालमा जलविद्युत्को सम्भावना, भइरहेका काम र भविष्यका योजनाहरु सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment