१३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा अघि सारेको छ । महानगरका विभिन्न स्थानमा सार्वजनिक प्रयोजनका लागि ‘रोटोमोल्डिंङ’ प्रविधिबाट निर्मित स्मार्ट शौचालय राख्ने महानगरपालिकाको योजना छ ।
बद्लिँदो युगलाई आत्मसाथ गर्दै स्मार्ट शौचालयको अवधारणा अघि सारिएको हो । आउँदो कार्यपालिकाको बैठकमा स्मार्ट शौचालयको अवधारणा पेश गरिने महानगरपालिकाको सार्वजनिक नीजि साझेदारी महाशाखा प्रमुख महेश काफ्लेले अनलाइनखबरलाई जानकारी दिए ।
स्माट ट्वाईलेट निर्माण्का लागि तीन वटा अवधारणा अघि सारिएको छ । प्रत्येक बैंक वा कुनै व्यापारिक प्रतिष्ठानलाई महानगरपालिकाले अघि सारेको अवधारणा अनुसार एउटा स्मार्ट ट्वाईलेट बनाउन प्रस्ताव गर्ने तयारी छ ।
यसबाहेक महानगर स्वयंले निर्माण गरी सञ्चालन गर्ने वा टेण्डरमार्फत निश्चित समय अवधि राखेर सञ्चालन गर्ने योजना छ ।
यस्तो छ अवधारणा
प्रस्तावित शौचालय धेरै टिक्ने तथा मजबूत हुनुका साथै सुर्यबाट आउने हानिकारण युभी विकिरणहरुबाट समेत यो सुरक्षित हुने बताइएको छ ।
उचित मर्मत सम्भार भएमा धेरै वर्षसम्म पनि यसलाई प्रयोग गर्न सकिने प्रमुख काफ्ले बताउँछन् ।
हेर्दा पनि सुन्दर देखिने र प्रयोग गर्न पनि सजिलो हुने तथा जुनसुकै स्थानहरुमा राख्न सकिने रोटोमोल्डिंङ प्रविधिको यी स्मार्ट शौचालयहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनेको छ भने विभिन्न छिमेकी देशमा समेत प्रयोगमा रहेको उनले बताए ।
यसको साईज ११००x११००x२३०० मिमि रहेको छ भने तौल ११० किलो छ । त्यति वजनदार नभएकाले केही व्यक्ति मिलेरै यसलाई कुनै पनि स्थानमा जडान गर्न सकिने काफ्ले बताउँछन् ।
यसको सिटको उचाई ४५० मिमि छ । यस्तै यसमा १६० लिटर क्षमताको पानी ट्यांकी समेत जडान गरिएको छ भने २९० लिटर फोहोरको ट्यांकीको क्षमता छ ।
यसमा सौर्य उर्जाबाट चल्ने बत्ति तथा भेल्टिलेसन फ्यानहरु जडान गरिएको हुन्छ । पुरुषहरुका लागि युरिनल पनि जडान गरिएको हुनेछ भने हात धुने वेसिन, ट्वाईलेट पेपर, स्ट्याण्ड, ऐना आदि पनि जडान गरिएको हुन्छ ।
जेष्ठ नागरिक तथा बालबालिकाको लागि शौच गर्न यो प्रविधिको शौचालय उपयुक्त हुने महाशाखाको ठहर छ ।
यस्तै स्वच्छ तथा सफाईमा हरेक समय ध्यान दिई कुनै पनि समयमा प्रयोग गर्न सकिने भनिएको छ । यस्ता ट्वाइलेटमा अटो फ्लस देखि एसीसम्मको सुविधा राख्ने योजना छ ।
यी ठाउँमा बन्नेछ स्मार्ट शौचालय
महाशाखा प्रमुख काफ्लेका अनुसार स्मार्ट शौचालय निर्माणका लागि ठाउँ समेत पहिचान गरिसकिएको छ । ‘महानगरका विभिन्न ४० स्थानमा स्मार्ट शौचालय निर्माण गर्ने भनेर काम गरिरहेका छौं’, उनले भने ।
कार्यपालिकाबाट स्वीकृत भएपछि स्मार्ट शौचालय निर्माणका लागि खुला आह्वान गरिने उनले बताए । कार्यपालिकाको बैठक तिहारअघि वा तिहारपछि बस्न सक्ने उनको भनाइ छ ।
क्र.श. | वडा नं. | स्थान | संख्या |
---|---|---|---|
१ | १६ | लैनचौर (गल्कोपाखा मार्ग ) | १ |
२ | १२ | टेकु चोक नेशनल ट्रेडिङ चोक अगाडि | १ |
३ | १३ | कालिमाटी चोक | १ |
४ | १४ | बल्खु चोक | १ |
५ | १५ | सितापाइला चोक | १ |
६ | १५ | बनस्थली (ढुङ्गेधारा) | १ |
७ | १५ | बनस्थली चोक | १ |
८ | १६ | बालाजु चोक | १ |
९ | १६ | माछापोखरी चोक | १ |
१० | २९ | नयाँ बसपार्क बाहिर | १ |
११ | २९ | गोंगवु सडक शिव मन्दिर संगै | १ |
१२ | २९ | गोंगवु चोक | १ |
१३ | २९ | सामाखुशी चोक | १ |
१४ | ३ | प्रहरी चौकी (चक्रपथ) | १ |
१५ | ३ | वसुन्धारा चोक | १ |
१६ | ३ | चक्रपथ ( महाराजगाज) | १ |
१७ | ४ | शुकेधारा चोक | १ |
१८ | ४/७ | गोपी कृष्ण हल चावहिल | १ |
१९ | ६ | तिलगंगा | १ |
२० | ६ | बैद्घनाथ सडक चुच्चेपाटी | १ |
२१ | ९/८ | गौशाला चोक | १ |
२२ | ९ | एयरपोर्ट मुलगेट बाहिर चक्रपथ | १ |
२३ | ३५ | कोटेश्वर चोक ( तीनकुने कोटेश्वर ) | १ |
२४ | ३५ | कोटेश्वर चोक (रिङ्गरोडको बालकुमारी तर्फ ) | १ |
२५ | ३५ | पेप्सीकोला चोक | १ |
२६ | १०/३४ | बानेश्वर चोक (देबकोटा सडक) | १ |
२७ | ३४ | मिनभवन -मदन भण्डारी पथ) | १ |
ं२८ | ११ | बवरमहल (माइतिघर विजुलिबजार ) | १ |
२९ | ११ | माइतिघर थापथली | १ |
३० | ११ | सुन्धारा (पार्किङ्ग अगाडी ) | १ |
३१ | २२ | भुगोलपार्क अगाडी | १ |
३२ | २३ | बसन्तपुर – उपयुक्त स्थान ) | १ |
३३ | जमल सडक | १ | |
३४ | १६ | खानी तथा भूगर्भ विभाग अगाडि | १ |
३५ | ३१ | बागवजार (बागबजार सडक ) | १ |
३६ | १ | नारायण चौर ( नागपोखरी ) | १ |
३७ | १ | कमलपोखरी चोक | १ |
३८ | ४ | बालुवाटार थिरबम सडक | १ |
३९ | ३१ | अनामनगर एरिया | १ |
४० | १६ | बालाजु बाइसपासबाट त्रिसुली जाने | १ |
जति धेरै लगानी, त्यति नै सुविधासम्पन्न
सार्वजनिक नीजि साझेदारी महाशाखाले अघि सारेको अवधारणा अनुसार एउटा स्मार्ट शौचालय ९ लाख देखि ४२ लाखसम्मका हुनेछन् ।
ठाउँ हेरेर सोही अनुरुपको सुविधा हुनेगरी लगानीको टुंगो लाग्ने महाशाखाका प्रमुख काफ्लेले जानकारी दिए ।
‘हनुमानढोका लगायतका पर्यटकको चहलपहल ठाउँमा चैं हामीले एसीसहितको सुविधा हुने गरी ४२ लाखसम्मको स्मार्ट ट्वाइलेट बनाउने योजना बनाएका छौं’, उनले भने ।
अब बन्न ट्वाईलेटमा पानीको प्रशस्त सुविधा हुने र सरसफाईमा पनि उत्तिकै ध्यान दिइने उनले बताए ।
यस्ता ट्वाइलेटमा सर्वसाधारणलाई कम्तिमा पिसाब गर्न पैसा नलिने भन्नेबारे पनि छलफल भइरहेको उनी बताउँछन् ।
‘दिसा बस्न जाँदा सेवा शुल्क लिने तर, पिसाब गर्न चैं फ्रि मा दिने की भन्नेबारे पनि हामी छलफलमा छौं’, उनले भने ।
यस्तो अवस्थामा शौचालयको भवनमा विभिन्न व्यापारिक संस्थासँग पैसा लिएर विज्ञापन गर्न दिइ सेवा चैं निःशुल्क गर्न सकिने उनले बताए ।
दिगो व्यवस्थापनमा आशंका
काठमाडौंमा हाल सञ्चालनमा रहेका सार्वजनिक शौचालयको अवस्था निकै दयनीय छ ।
बढ्दै गएको जनघनत्व अनुसार पर्याप्त सार्वजनिक शौचालय नै छैनन्, भएकोमा छिर्दा रोग बोकेर फर्किनुपर्ने अवस्था छ । निजी क्षेत्रले चलाइरहेका यस्ता शौच्ाालयलाई बिशुद्ध पैसा कमाउने धन्दा बनाइएको छ ।
पैसा मात्रै लिने तर, त्यसअनुसार सेवा सुविधा नदिने र सरसफाई पनि नगर्ने नगर्दा हत्तपत्त जो कोही त्यस्ता शौचालयमा छिर्दैनन् ।
सहरका मानिस किनमेलका लागि बजारतिर जाँदा होस् वा अन्य कुनै प्रयोजनका लागि बाहिरिँदा शौच गर्नुपर्ने अवस्थामा कुनै पसल अथवा शपिङ मलको ट्वाइलेटमा छिर्ने वा घरमा नै फर्किने गर्छन् ।
तर, बाहिरबाट काठमाडौं आएका सर्वसाधारण भने बाध्यतावस् पैसा तिरेर दुर्गन्धित शौचालयमा शौच गर्न बाध्य छन् ।
काठमाडौंको रत्नपार्क, वीर अस्पताल अगाडि, नेपाल विद्युत प्राधिकरण अगाडि, कोटेश्वर, बालाजुमा सार्वजनिक शौचालय सञ्चालनमा छन् ।
रत्नपार्क लगायतका स्थानका यी सार्वजनिक शौचालय काठमाडौं महानगरपालिकाले निजी क्षेत्रलाई सञ्चालन गर्न दिएको हो ।
यी शौचालयमा सरसफाईमा ध्यान नदिँदा छिर्नै नसक्ने अवस्था आउने गरेको सेवाग्राहीको गुनासो छ ।
सार्वजनिक स्थानमा मानिसको चाप बढ्दै गएपनि सोही अनुपातमा सार्वजनिक शौचालय नहुँदा समस्या पनि बढ्दै गएको छ ।
यसअघि महानगरपालिकाले नै बनाएर दयनीय अवस्थामा पुगेका कतिपय स्थानका शौचालय सडक विस्तारका क्रममा भत्काइएको थियो ।
गाडीमा लिएर घुम्ने ट्वाइलेट समेत जिर्ण हुँदै गएपछि मेयरकै निर्देशनमा त्यो पूर्णरुपमा बन्द गरिएको छ ।
प्रतिक्रिया 4