१३ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।
वीरेन्द्रनगरको कालागाउँस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न मंगलबार आयोजित कार्यक्रममा उनले सेतो कोट लगाएर मात्र अस्पतालमा प्रवेश गर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गरे ।
मुख्यमन्त्री शाहीले उक्त अस्पतालमा जनशक्तिदेखि उपकरणसम्म व्यवस्थापन गर्न प्रदेश सरकार दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने धारणा व्यक्त गरे ।
सामाजिक विकास मन्त्री दल रावलले कर्णालीवासीको जनस्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा सरकार केन्द्रित हुनुपर्ने बताए ।
अस्पतालका प्रमुख प्रा डा डम्बर खड्काले प्रदेश अस्पतालको स्तरोन्नति कर्णाली सरकारको मुख्य प्राथमिकतामा पर्नुपर्ने विचार व्यक्त गरे ।
विसं २०६२ मा ५० श्ययाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालका रुपमा रुपान्तरण गरिएको थियो । अस्पतालले हाल ११५ श्ययाबाट सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4