Comments Add Comment

चीनमा गैंडाको खाग र बाघको हड्डीको प्रयोगमा लगाइएको प्रतिबन्ध फुकुवा

१४ कात्तिक, काठमाडौं । चीनले गैंडाको खाग र बाघको अंगहरुको कारोबारमा २५ वर्षअघि लगाएको प्रतिबन्ध आंशिक रुपले फुकुवा गरेपछि वातावरणविदहरु चिन्तित भएका छन् ।

वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गरिरहेका संरक्षणकर्मीहरुले चीनको यस्तो निर्णयलाई ‘खतराको घन्टी’को रुपमा लिएका छन् ।

गैंडा र बाघ दुवै संकटउन्मुख जनावरको सूचीमा रहेका वन्यजन्तु हुन् । चीनले सन् १९९३ देखि बाघ र गैंडाको अंगहरुको व्यापारमा प्रतिबन्ध लगाएको थियो ।

बाघको छाला, हड्डी लगायतका अंगहरु र गैंडाको खागको लागि तस्करहरुले अवैध रुपमा शिकार गरी चोरी निकासी गर्ने कारणले विश्वभरमा बाघ र गैंडाको संख्या कम हुँदै गइरहेको छ ।

तर, सोमबार चीनले एक विज्ञप्ती जारी गर्दै दुबै जनावरका अंगहरु वैज्ञानिक, चिकित्सकीय र साँस्कृतिक प्रयोगका लागि फुकुवा गरेको जानकारी दियो ।
विज्ञहरु यस्तो निर्णयले गैंडा र बाघको माग बढ्ने र संरक्षणमा गरिएको प्रयासहरु खतरामा पर्ने बताउँछन् ।

चिनिँया परम्परागत औषधिमा गैंडा र बाघको अंगहरुलाई धेरै महत्व दिइन्छ । त्यसले विभिन्न घातक रोगहरुको उपचार हुने विश्वास गरिन्छ तर, अहिलेसम्म वैज्ञानिक रुपले भने यसको पुष्टि भएको छैन ।

२५ वर्ष पुरानो प्रतिबन्धलाई विस्थापन गर्ने घोषणा सहितको विज्ञप्तीमा चीनको स्टेट काउन्सिलले भनेको छ, ‘गैंडाको खागको धुलो र मृत बाघको हड्डीको धुलोलाई योग्य अस्पतालमा योग्य चिकित्सकहरुले प्रयोग गर्न सक्छन् ‘

तर, यी जनावरका उत्पादनहरु फार्मबाटमात्रै किन्न पाइने विज्ञप्तिमा बताइएको छ । एन्टिकको सूचीमा राखिएका यी जनावरका अंगहरुलाई साँस्कृतिक अधिकारीहरुको अनुमतिमा साँस्कृतिक आदानप्रदानमा पनि प्रयोग गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

विश्व वन्यजन्तु कोषले भने यो निर्णयको आलोचना गर्दै भनेको छ, ‘यस्तो कदमले विनाशकारी परिणामहरु निम्त्याउने र वन्यजन्तुको संरक्षणमा गरिएको कार्यहरुलाई असफल बनाउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment