कात्तिक १४, कैलाली । सरकारले धानको मूल्य निर्धारण गरे पनि कैलालीका किसानहरू भने सस्तोमा धान बेच्न बाध्य भएका छन् । सरकारले तोकेको मूल्यमा व्यापारीहरूले धान खरिद नगरेपछि किसानहरूले निकै सस्तो मूल्यमा धान बेच्न बाध्य भएका हुन् ।
सरकारले धानको मुल्य प्रतिकिलो २३ रुपैयाँ तोके पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । किसानहरु अहिले प्रतिकिलो १७ देखि १९ रुपैयाँसम्ममा धान बेच्न बाध्य छन् । अघिल्लो वर्षको तुलनामा सरकारले यसवर्ष समयमै मूल्य तोके पनि त्यसको कार्यान्वयन हुन नसक्दा किसानहरूलाई समस्या परेको हो ।
सरकारले यस वर्षका लागि मोटा चामलको धानको समर्थन मूल्य प्रतिकिलो २३ रुपैयाँ ३१ पैसा र मसिनो चामलको धानको मूल्य प्रतिकिलो २४ रुपैयाँ ६० पैसा तोकेको थियो । तर, कैलालीका किसानहरूले भने प्रतिकिलो ४ रुपैयाँ कमसम्ममा धान बेच्न बाध्य भएका छन् ।
हाल कैलालीमा प्रतिकिलो १७ रुपैयाँदेखि १९ रुपैयाँ ५० पैसा सम्ममा धानको बिक्री वितरण भइरहेको छ । यहाँको मुख्य बाली धान बेच्ने समयमा उचित मूल्य नपाउदा किसानहरूलाई मर्का परेको छ । कम मूल्यमा धान बेच्नुपर्दा धेरै ठगिने गरेको बताउँदै कैलालीका किसानहरूले उचित मूल्यमा धान बिक्री नभएको गुनासो गरेका छन् ।
करिब डेढ बिघा क्षेत्रफलमा धान खेती गरेका धनगढी उपमहानगरपालिका १० का घुम्मन रानाले धानको मूल्य कम हुँदा लागत खर्च पनि उठाउन नसकेको बताए । उनले महंगो मूल्यमा मलखाद खरिद गर्नुपरेको बाध्यता बताउदै बेच्ने बेलामा मूल्य नपाउँदा दुखी भएको बताए ।
धान काटेर बेच्ने बेलामा मूल्य नपाएपछि अर्को खेती लगाउन भए पनि सस्तोमै धान बेच्न बाध्य भएको कृषक सम्मन रानाले बताए । उनले उत्पादनको मूल्य व्यापारीहरूले तोक्ने गरेकाले पनि किसानहरुलाई मार परेको बताउँदै सरकारले तोकेको मूल्यमा खरिद नगर्ने र व्यापारीहरुलाई कारवाही गर्नुपर्ने बताए ।
सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गत वर्ष ५ लाख ९३ हजार मेटि्रक टन धान उत्पादन भएको यस प्रदेशमा यसवर्ष त्योभन्दा बढी धान उत्पादन हुने अपेक्षा गरिएको छ ।
गत वर्षभन्दा प्रतिकिलो २ रुपैयाँ बढी समर्थन मूल्य तोकेको सरकारले त्यसको कार्यान्वयनमा जोड दिन नसक्दा पश्चिम नेपालका किसानहरू मारमा परेका छन् ।
गहुँ छर्ने बेलामा मल अभाव
हरेक खेती लगाउने समयमा रसायनिक मल अभावको समस्या भोगिरहेका कैलाली लगायत सुदूरपश्चिमका किसानहरु तोरी तथा गहुँ लगाउने समयमा मल अभावकै मारमा पर्ने भएका छन् ।
सरकारकै कमजोरीका कारण समयमा मल नपाएर किसानहरु मल अभावको संकटमा पर्ने निश्चित छ । सुदूरपश्चिम प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने ३० प्रतिशत रासायनिक मल वितरण गरिसकेको जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडमा दैनिक आउने मलको तेब्बर बढी माग भइरहेको छ ।
गहुँ खेतीका लागि सुदूरपश्चिम प्रदेशमा झण्डै ३ हजार ५ सय मेट्रीक टन डिएपि र ७ हजार मेट्रीक टन यूरिया आवश्यक पर्छ । केही मात्रामा दैनिक रसायनिक मल आइरहेकाले अभाबै भन्न नमिल्ने र पुर्ती भएकोपनि भन्न नमिल्ने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीका क्षेत्रीय प्रवन्धक दुर्गाप्रसाद पाण्डेय बताउँछन् । उनले सुदूरपश्चिम प्रदेशमा मात्रै वाषिर्क ३० हजार मेटि्रक टन मलको आवश्यकता पर्ने भए पनि करिब २० हजार मेटि्रक टन मात्रै मल पुग्ने गरेको बताए ।
३० प्रतिशत मलको आपुर्ति गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीमा भने अहिले डिएपी मलको मौज्दात शून्य छ । मौज्दात मल सकिएकाले थप मल आउन समय लाग्ने कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताए ।
प्रतिक्रिया 4