Comments Add Comment

उचित आहार, विहार र विचारः रोग एवं शोकबाट उन्मुत्ति पाउने तीन सूत्र

अस्पताल जाने कुराले तपाईं/हाम्रो मन थर्कमान हुन्छ । जब औषधीका गन्धहरु नाखमा ठोक्किन आइपुग्छ, अज्ञात त्रासले हामी भित्रभित्रै खुम्चन्छौं । हाम्रा शरीरबाट रगत निकाल्दा, दिसा-पिसाब-खकार जाँच गरिरहँदा, अन्य चेकअप गरिरहँदा अनेक शंका/उपशंका मनभित्र मडारिन थाल्छ ।

हामी सोचमग्न हुन्छौं, ‘कतै मलाई डरलाग्दो रोग त लागेको छैन ?’

अक्सर यस्तो आशंकाले मनको कुनामा सधै डेरा जमाएर बसेको हुन्छ । सामान्य दिनमा पनि हामीलाई बेलाबखत यही आशंकाले चिमोट्छ, ‘मलाई डरलाग्दो रोग त लागेको छैन ?’

जब रोग लाग्छ, हाम्रो शरीर गल्न थाल्छ । हामी थलिन्छौं । रोगको निदान होला नहोला ? त्यो प्रश्न एकातिर ज्यूँको त्यूँ हुन्छ । अर्कोतिर रोगले दिने पीडा । हाम्रा पूर्खाहरुले त्यसै भनेका होइनन्, ‘सबैभन्दा ठूलो सत्रू भनेकै रोग हो ।’

रोग लागेपछि न रिसाएर हुन्छ, न बदला लिएरै । चुपचाप उपचार गराउनुको विकल्प हुँदैन । यस्तो अवस्थामा कति पैसा खर्च हुन्छ, परिवारले कति मानसिक तनाव झेल्छ त्यसको कुनै लेखाजोखा हुन्न । त्यसै रोगी जीवन विताउनु जति ठूलो सजाय अरु केही हुँदैन ।

रोगी भएर बाँच्नुलाई जीवन नभई पीडाको एक अवस्थाको रुपमा लिने गरिन्छ ।

हामी किन रोगी छौं ? के हिजो हाम्रो पिता-पूर्खाहरु पनि यस्तै रोगको चंगुलमा फसेर बाँचेका थिए ?

हिजो र आजको परिस्थिती फरक छ । हिजोको हावापानी र आजको हावापानी नै फरक छ । हिजो वायुमण्डलमा शुद्ध हावा चल्थ्यो, आज वायुमण्डलमा धुलो-धूँवा मिसिएको छ । हिजो प्रांगरिक खानेकुरा उब्जाउ हुन्थ्यो, आज खानेकुरामा रासयनिक मलखाद-विषादी मिसिएको छ । हिजो शारीरिक श्रम अनिवार्य थियो, आज सुविधाभोगी जीवन बाँचिरहेका छौं ।

हामीले सास फेर्ने हावा, हामीले खाने खानेकुरा नै आज हाम्रो शरीरको लागि रोगको स्रोत बनिरहेको छ । यो जटिलताबाट कसरी उम्कने त ? रोगै-रोगको स्थितीबाट कसरी उन्मुक्ती लिने ? कसरी स्वस्थ्य जीवन विताउने ? कसरी निरोगी रहने ? कसरी तन्दुरुस्त रहने ?

स्वस्थ्य रहनका लागि संयमित र सन्तुलित दिनचर्याको खाँचो हुन्छ । आर्युवेदले निरोगी जीवनको तीन सूत्र बताएका छन् । एक, उचित आहार । दुई, उचित विहार । तीन, उचित विचार ।

उचित आहार

आहार अर्थात खानपान । हामी खान नजानेर रोगी हुन्छौं । बाँच्नका लागि खाना अनिवार्य छ । तर, कस्तो खाना ?

जिब्रोलाई लोभ्याउने खानाले स्वास्थ्यलाई राम्रो गर्छ भन्ने छैन । र, स्वास्थ्यका लागि जुन खानेकुरा हितकर हुन्छ, त्यसले जिब्रोको तलतल मेट्छ भन्ने पनि छैन । त्यसैले जिब्रोको मर्जी अनुसार होइन, शरीरको आवश्यक्ता अनुसारको खानपान गर्नुपर्छ ।

–     खाना खाने तालिका नियमित हुनुपर्छ । विहानको नास्ता अर्थात ब्रेकफास्ट, मध्यन्ह, अपरान्ह र साँझ । संभव भएसम्म दिनमा पाँच पटक खाना खानु उत्तम हुन्छ । तर, बिहान धेरै र त्यसपछि क्रमस कम गर्दै जानुपर्छ ।

–     जापानी भनाई छ, बिहानको खाना आफु खानु । दिउसोको खाना साथीसँग बाढेर खानु । रातीको खाना सत्रुलाई दिनु । यसको अर्थ के भने, बिहानको खाना शरीरका लागि जति आवश्यक हुन्छ, साँझ वा रातीको खाना उत्तिकै अनावश्यक ।

–     सूर्योअस्तपछि खाना खानु राम्रो मानिदैन । त्यसपछि खाएको खानालाई विष समान मानिन्छ ।

–     खाना सुपाच्य र सात्विक हुनुपर्छ । संभव भएसम्म मासुजन्य खानेकुरा सेवन गर्नु हुँदैन । सजिलै पच्ने खानाले पाचन यन्त्रलाई बलियो बनाउँछ । कलेजो, मिर्गौला जस्ता अंगको कार्य-संचालन सहज हुन्छ ।

–     खानामा सन्तुलन आवश्यक हुन्छ । अर्थात सन्तुलित भोजन गर्नुपर्छ । आर्युवेदले खानाको स्वादलाई ६ प्रकारमा विभाजन गरेको छ । गुलियो, अमिलो, नुनिलो, पिरो, तितो, टर्रो । यी सबै स्वाद शरीरका लागि आवश्यक हुन्छ, तर सन्तुलन मिलाएर ।

–     खाना खाने भनेको जिब्रोको तलतल मेट्न, पेट भर्न वा रमाइलो गर्न होइन । बरु शरीरलाई जागा, तन्दुरुस्त, जवान, उर्जावान्, निरोगी राख्न हो । यसका लागि त्यही खाना खानुपर्छ, जसमा शरीरलाई आवश्यक पोषक तत्व पाइन्छ ।

–     कतिपय खानेकुरा आपसमा मिसाएर सेवन गर्दा थप गुणस्तरिय हुन्छ । जस्तो ग्रीन टिमा मह, दुधमा सख्खर । तर, कतिपय खाना आपसमा मिल्दैन । आपसमा नमिल्ने बिजातिय खानेकुरा सेवन गर्दा त्यो विषालु बन्छ ।

–     बासी, तारेको-भुटेको, पटक पटक पकाएको खानेकुरा सेवन गर्नु स्वास्थ्यलाई दुख दिनु हो ।

–     खानेकुरा सेवन गर्दा पलेंटी कसेर, हातले खानु राम्रो मानिन्छ । यो हाम्रो परम्परागत शैली हो । यसरी खानेकुरा सेवन गर्दा पेटलाई आवश्यक खानेकुरा खाइन्छ ।

–     खानेकुरा खाइरहँदा शान्त, कृतज्ञ र खुसी भएर खानुपर्छ । विस्तारै चपाएर खानेकुरा सेवन गर्नु राम्रो मानिन्छ ।

–     संभव भएसम्म आफैले उत्पादन गरेको खानेकुरा, आफैले पकाएर सेवन गर्नु राम्रो मानिन्छ ।

–     मौसम अनुकुल खानेकुरा खानुपर्छ, मौसमी तरकारी, फलफूल सेवन गर्नुपर्छ । बेमौसमी वा अप्राकृतिक ढंगले उत्पादन गरिएको खानेकुरा त्यती लाभदायक हुँदैन ।

उचित विहार

विहार जसले यात्रा भन्ने अर्थ लगाउँछ । यहाँ यसलाई दिनचर्या भनेर संकेत गरिएको छ । विहान उठेदेखि राती सुत्नेबेलासम्मको अवस्था र गतिविधि कस्तो हुनुपर्छ भन्ने कुरा यस अन्र्तगत पर्छ ।

स्वास्थ्य जीवनयापनका लागि आफुले कस्तो दिनचर्या अपनाइन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कुन बेला उठ्ने, कुन बेला खाने, कुन बेला सुत्ने मात्र होइन, कसरी खाने, कसरी सुत्ने भन्ने कुरा पनि हाम्रो दिनचर्यामा समेटिएको हुन्छ । अतः संयमित र सन्तुलित दिनचर्याले हामीलाई निरोगी र उत्साहित जीवन बाँच्न सघाउँछ ।

-बिहान सूर्योदयअघि उठ्नु राम्रो मानिन्छ । सूर्योदयअघि उठ्दा वायुमण्डलमा सफा एवं स्वच्छ हावा चलिरहेको हुन्छ । रातभर विश्राम गरेको हामी जब यस्तो सास फेर्न पुग्छौं, त्यसले शरीरमा बेग्लै ताजगी दिन्छ ।

–     हाम्रो दिनको सुरुवात तब राम्रो हुन्छ, जब हामी सूर्योदय हेरेर आनन्दित हुन्छौं । सूर्योदयअघि वहने वायुको स्पर्श अनुभूत गर्छौ ।

–     विहान उठेपछि मनलाई एकाग्र, शान्त र सकारात्मक तुल्याउनुपर्छ । यसैका लागि मन्त्रोच्चारण गर्ने गरिन्छ ।

–     उठ्नसाथ मनतातो पानी पिउनुपर्छ, यसले शरीरभित्रको अंगलाई सक्रिय बनाउँछ । पाचन यन्त्रलाई बलियो बनाउँछ ।

–     बिहानको सूर्य स्नान अर्थात सनबाथ लिनु राम्रो मानिन्छ, यसबाट शरीरमा भिटामिन डि प्राप्त हुन्छ ।

–     पानी पिइसकेपछि अनिवार्य रुपाम शौच क्रिया गर्नुपर्छ । मनका विकार हटाए झै शरीरका विकार पनि त्याग्नुपर्छ । दिसा-पिसाब गरेर शरीर हल्का भएपछि व्यायाम गर्ने, टहल्ने, योगा गर्ने, प्राणायाम गर्ने अभ्यास गर्नुपर्छ ।

–     व्यायाम गरिसकेपछि नुहाउनुपर्छ । तर, व्यायाम गरे लगत्तै नुहाउनु राम्रो मानिदैन । केही क्षण शरीर शान्त भएपछि नुहाउनुपर्छ ।

–     नुहाउँदा टाउकोबाट सुरु गर्नु राम्रो मानिन्छ, यसले रक्त प्रवाहमा राम्रो प्रभाव पार्छ ।

–     नुहाइसकेपछि अनिवार्य नास्ता लिनुपर्छ । विहानको नास्ता पोषिलो, ताजा, सुपाच्य हुनुपर्छ । फलफूल, दुध, सलाद, ग्रीन टि, जुस आदि नास्ताको रुपमा लिन सकिन्छ ।

–     विहानको समय आफ्नो लागि खर्चिएपछि दिनभर आफ्नो पेशा, उद्यम, व्यवसाय जे छ, त्यसमा खट्नुपर्छ । भनिन्छ, उद्यम विना जसले समय विताउँछ, उसको जीवन मरेतुल्य हो । त्यसैले दिनभर केही न केही सार्थक काम गर्नुपर्छ । श्रम गर्नुपर्छ ।

–     आफ्नो कार्यथलोमा काम गरिरहँदा पानी पिउने, निश्चित समयमा केही खाने गर्नुपर्छ ।

–     लामो समयसम्म एकै स्थानमा बसेर काम गर्नु हुँदैन । पन्ध्र-बिस मिनेटको अन्तरमा उठ्ने, जिउ तन्काउने, हिँड्ने गर्नुपर्छ ।

–     काम गरिरहेकै अवस्थामा लामो एवं गहिरो सास लिने अभ्यास गरिरहनुपर्छ ।

–     काम यस्तो गरौं, जसले आफुलाई सन्तुष्ट बनाउँछ । कुकर्मले कहिले पनि सन्तोष दिदैन ।

–     अरुलाई झुक्याएर, छलेर, ढाँटेर कमाएको धनले खुसी लुट्छ । त्यसैले सकारात्मक, सार्थक काम गरौं ।

–     कुनैपनि काम थाँती नराखौं । समय र सामथ्र्यले भ्याएसम्म आफ्नो काम सम्पन्न गर्नुपर्छ ।

–     साँझ सूर्योअस्तअघि खानपान गरिसक्नुपर्छ । खाना खाएको तीन घण्टापछि सुत्नुपर्छ । सुत्नुअघि सकारात्मक भाव जगाउनुपर्छ ।

–     सुत्दा खुला वा सजिलो ढंगले सुत्नुपर्छ । कुप्रो परेर, खुम्चिएर, घोप्टिएर सुत्नु राम्रो होइन ।

उचित विचार

निरोगी, तन्दुरुस्त र खुसी हुनका लागि खानपान, दिनचर्यामा मात्र ध्यान दिएर पनि पुग्दैन । हाम्रो सोंच-चिन्तनले पनि यसमा प्रभाव पार्छ । हामी कस्तो सोच्छौं, कसरी सोच्छौं भन्ने कुराले हाम्रो शरीरलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

–     सकारात्मक सोंच, चिन्तनले हामीलाई सधै जोशिलो र उर्जावान राख्न मद्दत गर्छ ।

–     मनमा अनेक विकार हुन्छन्, जसरी शरीरमा हुन्छ । मनको विकारलाई नपखालेसम्म शरीर चंगा हुँदैन ।

–     दम्भ, लोभ, रिस, इष्र्या, ग्लानी, वासना जस्ता विकार त्याग्नुपर्छ ।

–     अपेक्षाले मनलाई दुखी बनाउँछ । कुनैपनि कुराको अपेक्षा गर्ने होइन, बरु आफुले अरुको खातिर के गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।

–     अरुको कारण अफु दुखी भइएला कि भनेर होइन, आफ्नो कारले अरुलाई दुख होला कि भनेर सोच्नुपर्छ, मनमा खुसी मिल्छ ।

–     प्रकृति, वातावरण, साथीभाई, आफन्त सबै छन् र हामी बाँचेका छौं भनेर कृतज्ञ हुनुपर्छ ।

–     सकारात्मक सोंच, विनयी एवं विनम्र भावले हामीलाई कहिल्यै दुखी बन्न दिदैन ।

–     पछिल्लो समय रोगको जड बनेको छ, तनाव । तनाव त्यही कुराले पैदा हुन्छ, जो हामीभित्र विकारको रुपमा रहेको छ । दम्भ, प्रतिसोध, इष्र्या आदिले तनाव पैदा गर्छ ।

–     संसारमा जे, जति मान्छे छन्, सबैलाई तनाव हुन्छ । तर, त्यसलाई कसरी लिने भन्ने कुरा आफुमा निर्भर हुन्छ । तनावलाई व्यवस्थापन गर्न सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment